बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी जाने चर्चाबीच टोटनह्यामको प्रशिक्षणमा पुगेनन् केन

मङ्गलबार, १९ साउन २०७८, ०७ : ०७
मङ्गलबार, १९ साउन २०७८

टोटनह्याम हटस्पर्सको प्रशिक्षणमा नपुगेपछि ह्यारी केन पुनः म्यानचेस्टर सिटी जाने चर्चा व्यापक बनेको छ । टोलीमा समावेश हुनअघि केन सोमबार कोभिड–१९ लगायत विभिन्न परीक्षणका लागि हटस्पर वे पुग्नुपर्ने थियो । तर, २८ वर्षीय खेलाडी पूर्वनिर्धारित समयमा त्यहाँ पुगेनन् । 

सिटीले केनलाई क्लबमा भित्र्याउन ठुलो रकम अफर गर्न लागेको चर्चा यतिबेला चलिरहेको छ । केन र स्पर्सबीचको करार सन् २०२४ मात्र सकिन्छ । तर, केन र क्लबका अध्यक्ष डेनियल लेभीबीच गत वर्ष अर्को सिजन उनलाई क्लब छाडेर जान दिन ‘जेन्टरम्यान एग्रिमेन्ट’ भएको बताइन्छ । 

यतिबेला सिटी पनि केनलाई क्लबमा भित्र्याउन इच्छुक देखिएको छ । उनका लागि सिटी १० करोड पाउन्डसम्म खर्चन तयार रहेको छ । तर, यसबारे दुई क्लबबीच कुनै औपचारिक छलफल भने हालसम्म भएको छैन ।

केनले गत मार्चमा आफ्नो व्यावसायिक करियरमा उपाधिहरू जित्ने महत्त्वाकाङ्क्षा रहेको स्पष्ट पारेका थिए । तर, टोटनह्याम पछिल्ला १३ वर्ष उपाधिविहीन रहेको छ । सन् २०२०–२१ सिजन पनि क्लबले कुनै उपाधि जित्न सकेन । त्यही भएर केन नयाँ क्लब जान चाहन्छन् । 

सन् २०११ मा स्पर्सका लागि डेब्यू गरेका केनले स्पर्सका लागि ३३६ खेल खेलेका छन् । यस क्रममा उनले २२१ गोल गरेका छन् । यसमध्ये १६६ गोल प्रिमियर लिगमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप