मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भक्तजनद्वारा पशुपतिनाथको गजुर बाहिरैबाट दर्शन

सोमबार, १८ साउन २०७८, २१ : २९
सोमबार, १८ साउन २०७८

साउनको सोमबार पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला नगरिए पनि पशुपति क्षेत्रमा गत हप्ताभन्दा पनि बढी भक्तजनको भीड लागेको छ ।  निषेधाज्ञाका कारण लामो समय घरमा बसेका भक्तजन शान्तिका लागि पनि पशुपति क्षेत्रमा आएको देखिन्छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले मूल मन्दिरको गजुरको दर्शन गर्नु पनि पशुपतिनाथको दर्शन गरे बराबरको फल मिल्ने मान्यताले पनि भीड बढेको बताए । 

नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले मन्दिर बन्द गरिएको छ । वैशाख पहिलो हप्तादेखि बन्द गरिएको मन्दिर खोल्न निश्चित नभए पनि भक्तजन पशुपति क्षेत्रमा जम्मा भएका छन् । बाहिरबाटै दर्शन गर्न भए पनि पशुपति क्षेत्र आएको दोलखाबाट आएका श्याम उप्रेतीले सुनाए ।  साउनको सोमबार पशुपतिनाथ नखुले पनि बाहिरी क्षेत्रबाटै दर्शन गर्ने उद्देश्यले आएको उनले बताए ।

शास्त्रीय मान्यताअनुसार मानसिक रुपमा पनि भगवान्को दर्शन गर्न सकिन्छ । यसै विश्वासका आधारमा पनि पशुपति क्षेत्रमा साउनको सोमबार भक्तजनको भीड बढ्ने गरेको छ । पशुपति क्षेत्रमा पाइला टेक्दैमा आनन्दानुभूति हुने अनुभवले आएको बताउने भक्तजनको भीड पनि पशुपति क्षेत्रमा भेटिन्छ । 

पशुपति क्षेत्रमा आएका कतिपय मानिसले भने मास्क लगाएको देखिँदैन । समूह समूहमा मानिस आएका देखिन्छ । यसले गर्दा फेरि मन्दिर क्षेत्रमा जम्मा भएका मानिसकै कारण कोरोना बढ्ने जोखिम त बढ्ने होइन भन्ने त्रास फैलिएको छ । कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले मास्क नलगाएकालाई लगाउन भन्ने र भौतिक दूरी कायम गरेर व्यवस्थित गरिएको बताए ।

पशुपतिनाथ मन्दिरसँगै उत्तरपूर्वी भेगको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ । यी मन्दिरमा पनि भक्तजनले बाहिरबाटै दर्शन गरेका छन् । यस बाहेकका शहरका भित्री भागमा रहेका मन्दिरमा भने भक्तजनले दूरी कायम गरी पूजा आराधना गरेका छन् ।

मन्दिरमा विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजनको भीड लागेको थियो । साउनको सोमबार व्रत गरेमा अटल सौभाग्य एवं पारिवारिक सुख प्राप्त हुने, मनोकामना पूर्ण हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप