बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : मुख्यमन्त्री पोखरेल

सोमबार, १८ साउन २०७८, २० : ०२
सोमबार, १८ साउन २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सोमबार पोखरा उद्योग वाणिज्य संघले गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने बताए । ‘लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार गर्दै  सहकार्य गर्न तयार छौं,’ उनले भने ।

मुख्यमन्त्री पोखरेलले युवाहरुलाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा राखेको बताए । उनले व्यवसाय र उद्योगसँग अहिले प्रविधि जोडिएको बताउदै प्रविधिकै कारण लागत मूल्य कम पर्ने भएकाले उपभोक्ता अनुकुल मूल्यमा सामान प्राप्त गर्न सक्ने भनाइ राखे । 

राजनीतिक घटनाक्रमका बीच गण्डकीमा नयाँ सरकार बने पनि अघिल्लो सरकारले गरेका कामको स्वामित्व लिएर आफूहरु अगाडि बढ्ने प्रतिबद्धता उनले जनाए ।  कोरोनाबाट थलिएका साना व्यवसायीका लागि ल्याइएको जीवन रक्षा कोषलाई थप प्रभावकारी बनाएर लगिने उनले बताए । ‘यसमा देखिएका कमीकमजोरीलाई सुधारेर यसलाई तत्काल कार्यान्वयनमा हामी ल्याउँछौँ’ उनले भने । 

प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तर्गतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न सरकारले काम थालिसकेको उनले जानकारी गराए । 
कोरोना महामारिले हाम्रो समग्र जीवनलाई थला पारेको भन्दै उनले भने, ‘यो विषम परिस्थितिबाट उन्मुक्ति पाउने १ मात्र उपाय कोरोना विरुद्धको खोप नै हो । यो सरकार गठन भएदेखि नै सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउने कुरामा दृढ संकल्पित रहँदै आएको छ ।’ 

मुख्यमन्त्री पोखरेलले सरकारले आवश्यक बजेटको समेत प्रबन्ध गरेर आवश्यक मात्रामा खोप खरिद गर्ने प्रयत्न गर्दै आएको बताउँदै प्राथमिकता र माग अनुसार खोपको व्यवस्थापन गर्दै जाने बताए । उनले लगानीबाट मात्र उत्पादन, रोजगारी र आम्दानीको ढोका खुल्ने बताउँदै व्यवसाय गर्ने अनुकूल वातावरण निर्माण गरी निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढन सरकार आतुर रहेको बताए । ‘तुलनात्मक रुपमा लाभ र प्रतिस्पर्धात्मक क्षमताका क्षेत्रहरुको पहिचान गरी पर्यटन विकास, पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र औद्योगिकिकरण टेवा पुग्ने गरी लगानी आकर्षित गर्न सके मात्र जनताको विकासको चाहना पूरा गर्न सकिन्छ’ उनले भने । 

उत्तरको कोरोला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नुपर्ने भन्दै उनले यसका लागि संघ सरकारसँग सहयोग मागिरहेको बताए । पोखरामै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको बताउँदै उनले यसबाट अधिकतम लाभ लिन आजैबाट तयारी थाल्नुपर्ने बताए । 

उनले पर्यटन मात्र नभएर अन्य सबै खालका व्यवसाय प्रबर्द्धनमा यस विमानस्थलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।  पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि संघ सरकारले काम थालिसकेको बताउँदै उनले यसपछि गण्डकी प्रदेश र राजधानी पोखराको आर्थिक गतिविधि थप मजबुत हुने बताए । 

उनले भने, ‘यहाँको विमानस्थल अनि राजमार्ग प्रयोग गरेर आयात प्रतिस्थापन गरी निर्यात बढ्दा प्रदेश आफैं समृद्ध हुन्छ ।’  भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रतिकूल समयबीच व्यवसायीहरु रहेको भन्दै उनीहरुको वाध्यता आफूले बुझेको बताए । उनले स्रोत र आवश्यकताबीच धेरै खाडल रहेको बताउँदै यिनै चुनौती खेपेर सरकारले काम थालेको बताए । 

२१ अर्ब केन्द्रको अनुदान हुँदा ३० अर्बको बजेट ल्याउनुपर्ने वाध्यता औंल्याउँदै आन्तरिक राजश्व वृद्धि नगर्दासम्म प्रदेशमा ठूला परियोजना परिकल्पना गर्न नसकिने उनको भनाइ थियो ।  अर्थमन्त्री रामजी बराल जीवनले सानो बजेट लिए सरकार अगाडि बढेको भन्दै निजी क्षेत्रलाई साथमै लिएर आफूहरुले काम गर्ने बताए । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणि भद्र शर्मा कँडेलले व्यवसायीहरुलाई खोप प्रदान गर्न लागि परेको भनाइ राखे । 

कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले सरकार आफैले व्यापार व्यवसाय गर्न नसक्ने भएकाले त्यस्तै खालको वातावरण बनाउनुपर्ने बताए । व्यवसायीहरु अहिले चौतर्फी मारमा परेको भन्दै उनले ब्यवसायीको पहिलो माग खोप नै रहेको भन्दै यसका लागि प्रदेश सरकारले सहजीकरण गरिरहेको बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले समावेशीताका आधारमा विकास गर्नुपर्नेमा जोड दिइन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रदेशको राजधानी पोखराको समग्र विकासका लागि सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताए । पोखरा लगायत आसपासमा तीब्र शहरीकरण भइरहेको भन्दै उनले यसतर्फ पनि बेलैमा सोच्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप