शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिने सरकारको दावी

सोमबार, १८ साउन २०७८, १८ : ०४
सोमबार, १८ साउन २०७८


स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालले ५ करोड २२ लाख खोप चाँडै प्राप्त गर्ने दाबी गरेका छन् । जसमध्ये आगामी माघसम्ममा सरकारले ३ करोड २३ लाख मात्रा खोप ल्याइसक्ने सोमबारको पत्रकार सम्मेलनमा बताए । 
यस्तै कोभिड—१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो लगाउन छुटेकाले दुई सातापछि खोप पाउने पनि उनले बताए ।  ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको १७ दिनपछि  दोस्रो मात्रा लगाउन पाउने उनको भनाइ छ । 

एक तिहाई नागरिकलाई असोज मसान्त खोप दिने र चैत मसान्तसम्म  सम्पूर्ण नेपाली नागरिकलाई खोप लगाइसक्ने सरकारको लक्ष्य छ । राज्यमन्त्री श्रेष्ठले मन्त्रालय सम्हालिसकेपछि वयस्क तथा किशोर किशोरी समेतलाई लक्षित गरी खोप खरिद गर्न लागिएको बताए । मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोन्सन खोप ५० लाख, फाइजर ४० लाख अस्ट्राजेनिकाको २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया शुरु भइसकेको उनले बताए । 

को–भ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख नेपालले प्राप्त गर्ने पनि उनले बताए । कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १० लाख खोप भुक्तानी प्रक्रियामा रहेको उनको भनाइ छ । बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको उनको भनाइ छ । खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलरको ऋण सहायताको स्वीकृतिको चरणमा रहेको उनले बताए । 

राज्यमन्त्री श्रेष्ठको १०० दिने स्वास्थ्य बीमा दुरुपयोग गर्ने कार्यलाई कडाइका साथ अनुगमन गर्ने समेत पत्रकार सम्मेलनका क्रममा बताएका छन् । 

यस्तै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्ने गरी रोग नियन्त्रण केन्द्र, प्रजनन स्वास्थ्य सेवा, खाद्य तथा औषधि प्राधिकरणहरूको विकास तथा विस्तारमा प्राथमिकता लाग्ने समेत उनले बताए । पत्रकार सम्मेलनमा १२ को परीक्षामा सहभागी हुने करिब ५ लाख ५० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने नदिनेबारे शिक्षा मन्त्रालयसँग छलफल गरेर अगाडि बढ्ने बताए । 

श्रेष्ठले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सरकारी सुविधा नलिने जानकारी समेत दिएका छन् । सुरक्षा सेवा बाहेक अन्य आवास, गाडी र तलबभत्ता नलिने उनको घोषणा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप