शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘फोर्स’ गठन : काँग्रेस र कम्युनिस्टको मण्डलेकरण !

विचार सकिएपछि ‘फोर्स’ गठनको होडबाजी
सोमबार, १८ साउन २०७८, १६ : १४
सोमबार, १८ साउन २०७८

संसद्मा सबैभन्दा ठूलो राजनीतिक दल हो–नेकपा एमाले । प्रतिनिधि सभामा २७५ मध्ये १२१ सिट सांसद सङ्ख्या जितेको यो पार्टीमा आन्तरिक कलह मौलाउँदो छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल दुई समूहमा विभाजित भएसँगै एमालेभित्रको कलह व्यवस्थापन गर्न चुनौती बढ्दै गएको छ । बरु विचार, सिद्धान्त र नीतिलाई पन्छाउँदै यो पार्टीको एक पक्षले अर्को पक्षलाई थर्काउन, तर्साउन र ठिक पार्ने उद्देश्यले विभिन्न ‘फोर्स’ गठनको होडबाजी चलेको छ । 

भर्खरै सत्ताबाट बाहिरिएको नेकपा एमालेले युथ फोर्स, अखिल फोर्स र आइटी आर्मी जस्ता लडाकु दस्ताको झल्को दिने ‘फोर्स’हरू गठन गरेपछि समाजमा आतङ्क फैलाउन सहयोग पुग्ने भन्दै पार्टीभित्र र बाहिर समेत चर्को आलोचना सुरु भएको छ । 

सभ्य समाजमा सुहाउँदैन : टङ्क कार्की​

पूर्व राजदूत तथा एमाले नेता टङ्क कार्की विचारको महत्त्व भन्दा पनि अरू कुनै चरित्र र साधन स्रोतले राजनीतिलाई बलियो बनाउँछ भन्ने सोचको विकास भएकाले दलहरू यस्ता फोर्स गठनतिर लागेको बताउँछन् । विचारभन्दा बाहुबलतर्फ दलहरूको ध्यान जानु चिन्ताको विषय भएको उनी ठान्छन् । 

‘एउटा सिरानीमुनि सिरुपाते खुकुरी राखेको छु, निकाल्नु नपरोस् भन्छ, अर्को छोएर त हेर् तेरा खुट्टा टुक्रा–टुक्रा बनाइदिन्छु भन्छ’, एमालेका दुई पक्ष अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षलाई सङ्केत गर्दै कार्की भन्छन्, ‘कानुनी शासनका अवधारणलाई मान्नेहरूले कानुनलाई हातमा लिन्छु भनेर यस्ता अभिव्यक्ति दिन र सोही खालका व्यवहार प्रदर्शन गर्न सभ्य समाजमा सुहाउँदै सुहाउँदैन ।’ 

नयाँ संविधान बनाइसकेपछि कानुनी राज्यको अवधारणालाई मान्दै राज्यका हिजोका दुश्चरित्रलाई सच्याउनुपर्ने कार्की बताउँछन् । ‘अहिले हामी शान्तिपूर्ण विकासको चरणमा प्रवेश गरेका छौँ । हिजो एउटा ऐतिहासिक कालखण्ड जेसुकै रहोस्, जनयुद्ध या सशस्त्र युद्ध नै भनौँ त्यसलाई जस्टिफाई गर्ने एउटा भौतिक परिवेश थियो त्यो समयमा’ कार्की भन्छन्, ‘तर, अहिले नयाँ संविधान बनाइसकेपछि हामी कानुनी राज्यका अवधारणालाई मान्दै राज्यका हिजोका दुश्चरित्रहरूलाई करेक्सन गर्दै विकासको प्रक्रियालाई गति दिने हो । तर, जिम्मेवार दलहरूका पछिल्ला गतिविधि हेर्ने हो भने हामीले दलीय व्यवस्थाको मर्मअनुसारको दल नै बनाएका रहेनछौँ ।’

एमाले मात्रै नभएर काँग्रेस, माओवादी वा अन्य साना–ठुला दल र तिनका नेताहरू ‘म पहिलो’ भन्ने होडबाजीमा लागेकाले यस्तो संस्कार विकास भएको कार्कीको बुझाइ छ ।  

‘प्रचण्ड, ओली, माधव या शेरबहादुर नै किन नभन्नुस्, यी सबै मिलेर हामीलाई ‘मी फस्ट’ भनेर त्यस्तो दर्शन दिलाइरहेका छन्’ कार्कीले रातोपाटीसँग भने, ‘त्यसैले उनीहरूमा वैचारिक चरित्र सकिँदै गएको प्रमाणका रूपमा पनि यसलाई लिन सकिन्छ । यसले आफू–आफू लडेर बाह्य शक्तिलाई खुदो पल्टाउने काम मात्र गर्छ ।’

पूर्वअखिलका नेतासमेत रहेका कार्कीले अगाडि भने, ‘त्यसैले मेरो विचारमा यस्ता बाह्य शक्तिका भेस्टेड इन्ट्रेष्टहरुलाई सहयोग पुर्‍याउने काम हामी कसैले पनि गर्न हुन्न ।’ 

विचारको क्षयीकरण हो : प्रा डा. लोकराज बराल 

राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल पनि राजनीतिक दलहरू विभिन्न फोर्सहरू गठन गरेर आफ्नो शक्ति प्रदर्शनको होडबाजीमा लागेको बताउँछन् । नेकपा एमालेभित्र देखिएको फोर्स गठनको शृङ्खला पनि त्यसैको एउटा रूप भएको उनको बुझाइ छ । 

‘नेकपा एमालेमा विवाद छ । माधव नेपाल र केपी ओलीबीच बढेको विवादपछि फोर्स गठनमा लागेको देखिन्छ । किनभने, एमाले फुट्न पनि सकेको छैन र जुट्न पनि सकेको छैन’ प्रा.डा बरालले भने, ‘यस्तोबेला एक पक्षले अर्को पक्षलाई देखाउनकै लागि यस्ता बाहुबली फोर्सको सहारा लिन पुगेको हुनुपर्छ ।’ 

एमालेको युथफोर्स, पिपुल्स भोलेन्टियर्स, आइटी आर्मी वा माओवादीको वाइसीएल वा काँग्रेसकै तरुण दल आ–आफ्नो शक्ति बढाउन खोलिएका सङ्गठन भएकोमा दुईमत नभएको उनले बताए । 

‘शक्ति बढाउने, स्ट्रेन्थ बढाउने नै हो’, बरालले भने, ‘यसले विचारको क्षयीकरण त गराउँछ नै, कुनै पनि पार्टीमा सैद्धान्तिक आधार भन्ने पनि शून्य हुँदै गइरहेको यसले देखाउँछ ।’

सैद्धान्तिक आधार नभएपछि फोर्स तयार गर्ने, दादागिरी गर्ने काम पहिला पञ्चायतमा मण्डलेहरूले गर्ने गरेको र अहिले त्यो पार्टीहरूमा सरेको बरालको टिप्पणी छ । 

यद्यपि उनले यस्ता विभिन्न फोर्स गठन गरेर युवाहरूलाई संस्थागत ढङ्गले सकारात्मक काममा परिचालन गर्न सकिने पनि बताए । ‘खाली नकारात्मक मात्रै नभएर युवाहरूलाई सङ्गठित ढङ्गले परिचालन गर्ने किसिमले पनि हेर्न सकिन्छ’ राजनीतिशास्त्रका प्राध्यापक बराल भन्छन्, ‘तर अहिले बनाइरहेका सङ्गठनहरूबाट लोकतान्त्रिक राजनीतिक संस्कारको विकास गर्ने काममा परिचालन भन्दा पनि दादागिरी गर्ने आशयले नै गठन भएको घटनाक्रमले पुष्टि गरेको छ । भोलि निर्वाचन हुन्छ, उनीहरूले जसरी पनि आफ्नो उम्मेदवार जिताएर ल्याउनुपर्ने हुन्छ ।’

‘बाहुबली’ समूहहरू तत्काल खारेज गर्नुपर्छ : योगेश भट्टराई

एमाले नेता योगेश भट्टराई पनि समाजमा आतङ्कको आभास दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न मद्दत गर्ने भएकाले यस्ता ‘बाहुबली’ समूहहरू तत्काल खारेज गर्न माग गर्छन् । 

नेता भट्टराईले एमालेले अनेरास्ववियू र युवासंघ जस्ता सङ्गठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नुपर्नेमा त्यसविपरीत फोर्स गठन गरेकोमा आपत्ति जनाएका हुन् ।

‘के काम हुन्छन्, जो युवा सङ्घ र अनेरास्ववियूले गर्न नसक्ने, तर युथफोर्स र अखिल फोर्सले मात्र गर्न सक्ने ?’, भट्टराईले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको काँग्रेसको राज्य आतङ्कसँग अखिल नै लड्यो । माओवादीको १० वर्षे हिंसाको प्रतिवाद यिनै अखिल र युवासंघले गरे ।’

भट्टराईले पार्टीभित्रका गुटहरूमा वैचारिक चरित्र सकिँदै जाँदा एकअर्काबिरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ? भनेर प्रश्न गरेका छन् । उनी भन्छन्, ‘यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैँले  खनिरहेको स्वीकार गर्नु पर्दछ । शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरक मतलाई फक्रन दिने जस्ता विशेषतासहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होइन ।’

दलहरूका लागि आत्मघाती हुन सक्छ : श्याम श्रेष्ठ

वामपन्थी विश्लेषक श्याम श्रेष्ठ दलहरूमा फोर्स गठनको होडबाजी चल्नुलाई लोकतान्त्रिक प्रक्रियाप्रतिको अविश्वास भएको बताउँछन् । ‘राजनीतिक दलहरूमा लोकतान्त्रिक प्रक्रियाप्रति कम अविश्वास र बाहुबली फोर्सप्रति बढी विश्वास हो,’ उनी भन्छन्, ‘नत्र हाम्रो प्रणालीमा प्रतिस्पर्धा गर्ने भनेको चुनावमा हो । एउटाले युथ फोर्स गठन गर्ने, त्यो देखेर अर्कोले पिपुल्स भोलेन्टियर्स, अर्कोले आइटी आर्मी गठन गर्ने प्रतिस्पर्धा जरुरी छैन ।’  

उनले नेपालका राजनीतिक दलहरूमा सैद्धान्तिक र वैचारिकस्तर कमजोर हुँदै जानुको एउटा कारण उनीहरू यस्तै सङ्गठनमा विश्वास गर्न पुगेको बताए ।  ‘सैद्धान्तिक स्तर हुनेले यस्तो फोर्समा जोडबल गर्दैन । तर, एमाले वा कम्युनिस्ट आन्दोलनमा मात्रै होइन, सबै दलमा यो प्रवृत्ति छ । जसले नेपालको राजनीति हुलिया तन्त्रमा जाँदैछ भन्ने पुष्टि गर्छ’, श्रेष्ठले रातोपाटीसँग भने, ‘विचार, सिद्धान्त र लोकतान्त्रिक संस्कारप्रति विश्वास नगरी हुलियातन्त्रको विश्वास हो । यसले दीर्घकालमा राजनीतिक दलहरूलाई नै घाटा पुर्‍याउँछ ।’ 

श्रेष्ठले यस्तो संरचनाको विकासले अन्ततः राजनीतिक दलका लागि आत्मघाती हुन सक्ने बताए । उनले सुझाए, ‘जस्तो– सुरुमा ओसामा विन लादेनलाई अमेरिकाले संरक्षण गर्‍यो । तर, जब लादेनको समूहलाई अमेरिकाले खुवाउन छाड्यो, उसले अमेरिकामै हान्यो । त्यसैले यो बाटो दलहरूका लागि आत्मघाती पनि हुन सक्छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप