मार्चपासमा चम्केको नेपाल पदक तालिकामा गायब !
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकबाट खेलकुदको महाकुम्भमा सहभागिता जनाउन थाल्यो । ५७ वर्षपछि टोकियोमै ओलम्पिक मार्चपासमा गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोके । तर, यसपटक पनि नेपाली खेलाडी पदकविनै घर फर्कँदैछन् । आखिर, नेपालले किन जित्न सकेन ओलम्पिक पदक ? कहाँ चुकिरहेका छौँ हामी ?
२६ डिसेम्बर सन् १९९१ मा सोभियत युनियन टुक्रियो । जर्जियाबाहेक बाँकी १५ वटा देशहरू ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट नेशन्स’ (सीआईएस) नामक अन्तरदेशीय क्षेत्रीय सङ्गठनका सदस्य बनिसकेका थिए । रोचक कुरा, विभाजनको ७ महिना नबित्दै १२ वटा पूर्वसोभियत देशहरूले ‘एकीकृत टिम’ को ब्यानरमा १९९२ मा बार्सिलोना ओलम्पिकमा मार्चपास गरे ।
ओलम्पिकमा पहिलो भएर यो टोलीले विभाजन र देशहरुबीचको आपसी तिक्तताको आलो घाउमा मलहम लगाइदियो । ‘दशक अघिदेखि नै ओलम्पिकको तयारी चलिरहेको थियो । जब खेलाडीहरू त्यो लगानी फिर्ता गर्न तयार थिए, त्यतिबेलै राजनीतिले फरक मोड लियो ।
‘खेलाडीको करियरमा विभाजनको छाया नपरोस् भन्नेमा नेतृत्व सचेत थियो । र, यो सुझबुझपूर्ण निर्णयको परिणाम पनि राम्रै देखियो,’ १९८३ मा मस्कोमा स्पोर्टस् साइन्स र भारोत्तोलनको विशेष कोर्स गरेका पार्थसारथी सेन गुप्ताले भने ।
भारतको पटियालाबाट स्पोर्टस् साइन्समा डिप्लोमा गरेका ६६ वर्षीय गुप्ताले विगतमा लामो समय राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत स्पोर्टस् साइन्स एकेडेमीको निर्देशक तथा भारोत्तोलनको मुख्य प्रशिक्षकका रूपमा काम गरे । त्यसक्रममा नेपाली खेलाडीले ओलम्पिकमा पदक जित्ने कुनै आधार उनले देखेनन् ।
‘रुसजस्तो लगानी गर्न नसके पनि उनीहरूको भावनालाई अनुकरण गरेर खेलकुदलाई हामीले राष्ट्रिय गौरवको विषय बनाउन सक्थ्यौँ,’ गुप्ता भन्छन्, ‘विडम्बना, यहाँ खेलाडीलाई मसल्स म्यानभन्दा ज्यादा कहिल्यै ठानिएन ।’
ओलम्पिकको इतिहासमा अफ्रिकाका सर्वाधिक २८ र एसियाका १३ देशहरू पदकविहीन छन् । पदक नजित्ने एसियाली देशहरूमध्ये सर्वाधिक धेरै ओलम्पिक सहभागिता नेपाल र म्यान्मारका नाममा छ । यी दुबैले १८–१८ पटक ओलम्पिक खेलेका छन् । म्यानमारले १८ पटक गृष्मकालीन ओलम्पिक खेलेको छ भने नेपालले १४ पटक गृष्मकालीन र ४ पटक हिउँदे ओलम्पिक खेलेको छ । तर, पदक छैन ।
यसबीच गृहयुद्धमा फसेको अफगानिस्तानले २००८ को बेइजिङ ओलम्पिकमा कास्य जित्यो । ६३ हजार जनसङ्ख्याको टापु बर्मुडाले भर्खरै ओलम्पिकमा ट्रायाथलोनतर्फ स्वर्ण जित्यो ।
ओलम्पिकमा स्वर्ण जित्ने खेलाडीलाई एक करोड रुपैयाँ पुरस्कार दिने निर्णय सरकारले सन् ९ वर्षअघि नै गरेको थियो । प्रोत्साहनका लागि पुरस्कार र सम्मान दिइने परिपाटी विश्वभर नै भए पनि प्रचारकै लागि गरिने यस्ता निर्णयको प्रभाव खेलकुदमा खासै नरहने गुप्ताको बुझाइ छ ।
तर, नेपाली खेलाडीका हकमा ओलम्पिक पदक जित्ने सपना दुस्साहससरह बन्यो । किनकि अहिलेसम्म छनोटमा सफलता हासिल गरेर ओलम्पिक खेल्ने खेलाडीको सङ्ख्या दुई मात्रै छ ।
सन् २००४ को एथेन्स ओलम्पिकमा संगीना वैद्य र २००८ को बेइजिङ ओलम्पिकमा दीपक विष्टले यो सफलता हासिल गरेका थिए । बाँकी जे–जति खेलाडीले ओलम्पिक खेले, उनीहरू सबै वाइल्ड कार्ड अर्थात् आरक्षण कोटाबाट छिरेका हुन् । यही कारण नेपालले ओलम्पिकमा पदक जित्ने अपेक्षा गर्नु नै मूर्खता हुने विज्ञहरू बताउँछन् ।
‘सन् २००४ मा भौतिक पूर्वाधार अवलोकन गर्नका लागि म जर्मनी गएको थिएँ । त्यहाँका धेरै ओलम्पिक ट्रेनिङ सेन्टर घुमिसकेपछि फ्रयाङ्कफर्टस्थित रङ्गशालामा प्रशिक्षण गरिरहेका १०–११ वर्षका बालकहरूले मेरो ध्यान खिचे,’ एथलेटिक्सका पूर्वमुख्य प्रशिक्षक तथा खेलविज्ञ सुशील नर्सिङ राणाले रातोपाटीसँग भने, ‘यी खेलाडीहरू जुनियर हुन् र रियो ओलम्पिकलाई लक्षित गरेर उनीहरूलाई प्रशिक्षण दिइएको हो भनेर अधिकारीहरूले जानकारी दिए । जबकि, त्यतिबेला एथेन्स ओलम्पिक चल्दै थियो र रियो ओलम्पिक १२ वर्षपछि हुनेवाला थियो ।’
राणाले थपे, ‘ओलम्पिक खेल्नेले यसरी १२ वर्षको तयारी गर्छन् । बिनातयारी गएका हाम्रा खेलाडीलाई बिदाइको टीका लगाइदिँदै ‘मेडल जितेर फर्कनुस्’ भन्नु खिस्याएजस्तो भएन ?’
गुप्ताको धारणा पनि यस्तै छ । ‘मुख्य प्रश्न नेपालले जितेन भन्ने हुँदै होइन, जित्नुपर्ने आधार के हो भन्ने हो,’ गुप्ताले प्रतिप्रश्न गरे, ‘पदकका लागि के तयारी गर्यौँ ? प्रतियोगिता सुरु हुन दुई दिनअघि फाइभ स्टारमा लगेर पदक आउँछ र ? अन्य समय खेलाडीले आफ्नै खर्चमा डाइट खानुपर्ने विडम्बना छ ।’
करोडको घोषणा, शून्य लगानी
ओलम्पिकमा स्वर्ण जित्ने खेलाडीलाई एक करोड रुपैयाँ पुरस्कार दिने निर्णय सरकारले सन् ९ वर्षअघि नै गरेको थियो । प्रोत्साहनका लागि पुरस्कार र सम्मान दिइने परिपाटी विश्वभर नै भए पनि प्रचारकै लागि गरिने यस्ता निर्णयको प्रभाव खेलकुदमा खासै नरहने गुप्ताको बुझाइ छ ।
गुप्ता अगाडि भन्छन्, ‘नेपालको हकमा ओलम्पिक स्वर्ण अहिलेका लागि असम्भवजस्तै हो । यदि, सरकारले प्रोत्साहन नै दिन चाहने हो भने ओलम्पिकमा सहभागी हुने खेलाडीलाई १० लाख नै भए पनि दिन्छौँ भन्नुपर्यो । किनकि, हाम्रा लागि त सहभागिता नै ठुलो हो । यहाँ समस्या खेलाडीको प्रशिक्षणमा छ, डाइटमा छ, पूर्वाधारमा छ । बिना योजना करोड दिन्छौँ भनेर हुन्छ र !’
नेपाल सरकारले ओलम्पिकमा पदक जित्ने योजना बनाउँदै नबनाएको भने होइन । जीवनराम श्रेष्ठ सदस्यसचिव छँदा झन्डै १५ वर्षअघि भिजन ट्वान्टी–ट्वान्टी (२०२०) नामक परियोजना सार्वजनिक गरिएको थियो । जसको लक्ष्य, कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको अहिलेको ओलम्पिकमा पदक जित्ने थियो । त्यतिबेला विज्ञहरूलाई अनुसन्धान गर्न लगाएर दस्ताबेज तयार गरेपछि ठूलै प्रचार पनि गरिएको थियो ।
तर, कार्यान्वयन शून्य हुँदाको नतिजा अहिले छर्लङ्ग छ । ‘त्यो दस्ताबेज राम्रै थियो । स्कुलदेखि नै खेलकुदको ट्रेनिङ गराउने, विद्यालयमा खेलकुद शिक्षक अनिवार्य राख्नेलगायत विषय समावेश थिए,’ गुप्ता भन्छन्, ‘तर, प्रश्न कार्यान्वयनमै आउँछ । दस्ताबेज कार्यान्वयनमा आएको भए कमजोरीहरू पत्ता लाग्ने थिएन होलान् र सच्चिने अवसर पनि मिल्ने थियो । तर, हाम्रोमा एउटा सदस्य–सचिव हटेर अर्को आउनेबित्तिकै अर्को नयाँ योजना बन्छ । पुरानो योजना हराउँछ ।’
नेपालले आजैबाट सुदृढ तयारी थाले अबको १२–१५ वर्षपछि ओलम्पिकमा राम्रो उपस्थिति देखाउन सक्ने राणाको विश्लेषण छ । गुप्ता यसमा सहमत छन् ।
राणाको निष्कर्ष पनि गुप्तासँगै मिल्दोजुल्दो छ । ‘ओलम्पिक धेरै ठुलो प्रोजेक्ट हो । ठुलो परियोजनालाई हिट गर्न दीर्घकालीन योजना बनाउनुपर्छ । अहिलेको हाम्रो योजना ओलम्पिक घुम्ने तयारीमात्रै हो,’ राणाले भने, ‘यदि हामीले साँच्चै राम्रो गर्ने हो भने पहिले दक्षिण एसियाली खेलमा आफ्नो प्रभुत्व कायम गर्नुपर्छ । त्यसपछि एसियाली स्तर, ओलम्पिकमा छनोट हुने ल्याकत राख्नुपर्छ र ओलम्पिकको प्रारम्भिक चरणमा राम्रो गरेपछि बल्ल मेडलको सपना देख्ने हो ।’
‘भारतबाटै सिके पनि हुन्छ’
ओलम्पिक कति गाह्रो छ भनेर बुझ्नका लागि छिमेकी भारतले गरिरहेको सङ्घर्ष नियाल्दा पुग्ने राणा बताउँछन् । ‘अहिले भारतका खेलाडीहरू छनोट खेलेर ओलम्पिकसम्म पुगेका छन् । त्यहीकारण, उनीहरू आफूलाई पदकको हकदार ठान्दैछन् र जनताहरू पनि ‘गो इन्डिया गोल्ड’ भनिरहेका छन् ।
राणाका अनुसार भारतीयहरूले पहिले दक्षिण एसियामा आफ्नो प्रभुत्व जमाए, त्यसपछि एसियाली स्तरमा राम्रो गरे र अहिले बल्ल ओलम्पिक भन्दैछन् । उनी अगाडि भन्छन्, ‘तैपनि भारतीयहरूले अन्य देशको जस्तो खेल्न सकेका छैनन् । रजत जिते पनि स्वर्ण जित्न उनीहरूलाई सकस परिरहेको छ ।’
जारी ओलम्पिकमा भारत, मणिपुरकी मिराबाई चानुको सफलतालाई नेपालले उदाहरणका रूपमा लिनुपर्ने गुप्ता बताउँछन् । उनी भन्छन्, ‘मणिपुर र हाम्रो हावापानी मिल्छ । त्यहाँका मानिसहरू पनि मंगोलियन मूलका हुन् । भारत पनि क्रिकेटबाहेक अन्य खेलकुदमा उत्ति साह्रो लगानी गर्ने देश होइन । तर, त्यहाँका खेलाडीले जित्नु र हामी पराजित हुनुमा यही पद्धतिले काम गरेको छ । त्यहाँ डाक्टर, डाइट, वैज्ञानिक प्रशिक्षण र खेलाडीमा सुधार गर्ने प्रणाली संस्थागत छ । हाम्रोमा खेलाडीहरू केवल आफ्नो प्रतिभाको बलमा आउने हुन् । अन्य तयारी केही पनि हुँदैन ।’
नेपालले आजैबाट सुदृढ तयारी थाले अबको १२–१५ वर्षपछि ओलम्पिकमा राम्रो उपस्थिति देखाउन सक्ने राणाको विश्लेषण छ । गुप्ता यसमा सहमत छन् ।
‘ओलम्पिक जित्ने हो भने राष्ट्रिय योजना आयोगजस्ता निकायले खेलकुदलाई प्राथमिकतामा राखेर निश्चित लक्ष्य तोक्दै उपलब्धि हासिल गर्ने गरी राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउनुपर्छ,’ गुप्ताले रातोपाटीसँग भने, ‘उमेर, शारीरिक शक्ति, मनोविज्ञ लगायत वैज्ञानिक आधारसहित खेलाडीहरू चयन गर्नुपर्छ र उनीहरूलाई वर्षौंसम्म निरन्तर ट्रेनिङ दिनुपर्छ । ८–९ वर्षदेखि नै ट्रेनिङ दिनुपर्‍यो । हाम्रोमा १६ वर्षको भएपछि बल्ल खेलाडीहरूको प्रतिभा पहिचान हुन्छ । यस्तो तयारीले ओलम्पिकलाई पुग्दैन ।’
के नेपालमा खेलाडीहरूको छनौट हचुवाका भरमा भइरहेको हो ? गुप्ता भन्छन्, ‘जिल्लाबाट क्षेत्रमा, प्रदेशमा, त्यसपछि नेशनल र इन्टरनेशनल हुँदै विश्वस्तरमा जाने हो । ओलम्पिक खेल्नुअघि पनि दक्षिण एसियाली, एसियाली, ओलम्पिक छनोटजस्ता प्रतिस्पर्धा हुन्छन् । नेशनल च्याम्पियनसिपबाट उत्कृष्टलाई इन्टरनेशनलमा पठाउने प्रक्रिया हाम्रोमा पनि छ । तर, यो प्रक्रियाका क्रममा ‘सेन्टर अफ एक्सिलेन्स’ अर्थात् अति प्रतिभाशालीलाई चिनेर उनीहरूको सम्भावनालाई उजागर गर्ने काममा हामी चुकेका छौँ ।’
‘सेन्टर अफ एक्सिलेन्स’को सवाल
राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागको निर्देशकका रूपमा समेत काम गरेका गुप्ताको विश्लेषणअनुसार नेपालमा च्याम्पियनहरूलाई एउटै डालोमा हालेर हेर्ने गरिएको छ । जबकि, प्रतिस्पर्धा भइसकेपछि कसैले हार्ने र कसैले जित्ने कुरा स्वाभाविक हो । कसले जित्यो भन्ने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण सवाल कस्तो खेलेर जित्यो भन्ने हो ।
उनका अनुसार विदेशीहरूले च्याम्पियनहरुमध्येबाट पनि उत्कृष्टलाई छनोट गरेर एक्सपोजर उपलब्ध गराउँछन् र ठूला प्रतियोगिताका लागि तयार गर्छन् । कमजोर देखिएकाहरूलाई कसरी सुधार्ने भनेर विशेष योजना बनाउँछन् । उनीहरूलाई कडा शारीरिक र मानसिक प्रशिक्षण दिइन्छ । सानैदेखि ठूला प्रतियोगिताका लागि तयार गरिन्छ । जारी ओलम्पिकमा लगातार मेडल जितिरहेका चीन, जापान, अमेरिका, रुस, बेलायतजस्ता देशहरूले यो पद्धतिलाई अपनाइरहेका छन् । हामीकहाँ ग्रासरुटदेखि नै सिस्टमेटिक तयारी भएको छैन।
के हचुवाकै तालमा खेलाडी छनोट भइरहेका छन् ?
के नेपालमा खेलाडीहरूको छनौट हचुवाका भरमा भइरहेको हो ? गुप्ता भन्छन्, ‘जिल्लाबाट क्षेत्रमा, प्रदेशमा, त्यसपछि नेशनल र इन्टरनेशनल हुँदै विश्वस्तरमा जाने हो । ओलम्पिक खेल्नुअघि पनि दक्षिण एसियाली, एसियाली, ओलम्पिक छनोटजस्ता प्रतिस्पर्धा हुन्छन् । नेशनल च्याम्पियनसिपबाट उत्कृष्टलाई इन्टरनेशनलमा पठाउने प्रक्रिया हाम्रोमा पनि छ । तर, यो प्रक्रियाका क्रममा ‘सेन्टर अफ एक्सिलेन्स’ अर्थात् अति प्रतिभाशालीलाई चिनेर उनीहरूको सम्भावनालाई उजागर गर्ने काममा हामी चुकेका छौँ ।’
गुप्ता अगाडि भन्छन्, ‘यति लामो प्रक्रियाका बाबजुद खेलाडीको कमजोरी र सुदृढ पक्षबारे पर्याप्त विश्लेषण नै गरिँदैन । उनीहरूको फिटनेस, स्वास्थ्य र मानसिक अवस्थाको विश्लेषण नगरी सुधार ल्याउन सकिँदैन । खेलाडीले हारिसकेपछि हार्नुको कारण पहिल्याएर सुधारको दिशामा लैजाने जिम्मा प्रशिक्षक र विज्ञहरूको हो, हाम्रोमा त्यो प्रणाली छैन । केवल औपचारिकता मात्रै छ ।’
त्यसैगरी राणा भन्छन्, ‘राष्ट्रपति रनिङ शिल्डजस्ता प्रोजेक्टहरू हाम्रा मेगा प्रोजेक्ट हुन्, यो प्रोजेक्ट जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरमा जान्छ । यसलाई गम्भीर रूपमा लिएर जिल्लादेखि नै उत्कृष्ट खेलाडी चयन गर्नुपर्छ । यहाँ, कतिपय स्कुल शिक्षकले हचुवाका भरमा खेलाडी टिपेर ल्याएर खेलाउँछन् र त्यस्ता खेलाडीले पनि स्वतःस्फूर्त रूपमा राम्रो खेलेका छन् । तर, यसको मूल्याङ्कन गर्ने र प्रतिभा पहिचान भइसकेपछि उसका लागि वातावरण बनाइदिने निकाय त राष्ट्रिय खेलकुद परिषद् नै हो ।’
प्रशिक्षकका दु:ख
प्रशिक्षकले समय–समयमा तालिम र रिफ्रेसर कोर्स नपाउनु अर्को विडम्बना हो । ‘यसमा मोनिटिरङ गर्ने निकायको कमजोरी छ । नेशनल टिम हेर्ने प्रशिक्षकमात्रै दक्ष हुनुपर्छ भन्ने मान्यता गलत छ । कलम समातेर लेख्न सिकाए जसरी बच्चालाई सानोमै स्किल विकास गराउने त जिल्ला, गाउँ र विद्यालयका प्रशिक्षक हुन्’ राणा भन्छन् ‘नेशनल टिमसम्म आइपुग्दा त खेलाडी ठूलो भइसकेको हुन्छ । उसले सानैमा गलत कुरा सिकेर आयो भने त्यही गल्ती बारम्बार दोहोर्याउन सक्छ । किनकि उसमा गल्ती गर्ने बानी विकास भइसकेको हुन्छ ।’
गुप्ताको धारणा पनि राणाको जस्तै छ । उनी भन्छन्, ‘हाम्रा प्रशिक्षकहरू कुनै समयका नेशनल वा क्षेत्रीय च्याम्पियन होलान् । उनीहरूसँग अनुभव पनि होला । हरेक तीन महिना रिफ्रेसर कोच गर्नुपर्छ । किनकि, उनीहरूको अनुभव त परिवर्तन हुँदै गएको हुन्छ । हाम्रोमा एकचोटि पढेर आएपछि मुस्किलले अर्को कोर्स गर्न पाइन्छ । हामीले प्रशिक्षकहरूलाई राम्रा–राम्रा देशमा छोटो अवधिको रिफ्रेसर कोर्सका लागि पठाउनुपर्छ ।
खाडीमा खेलाडी !
रोजगारीको अभावमा धेरै नेपाली खेलाडी तथा प्रशिक्षकहरू विदेश पलायन हुन बाध्य छन् । विदेशिएका कतिपयले अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत देशका स्थानीय एकेडेमीमा पार्टटाइम प्रशिक्षकको काम पनि पाएका छन् ।
अधिकांशले अन्य क्षेत्रमा काम गरेपछि बाँकी रहेको समय प्रशिक्षणमा लगाउँछन् । खाडी मुलुक र मलेसियामा ड्युटी गर्ने खेलाडी तथा प्रशिक्षकको सङ्ख्या पनि ठूलो छ । राणाले रातोपाटीसँग भने, ‘नेशनल लेभलको खेलाडी रिटायर हुनु भनेको त खेलकुदको सम्पत्ति हो । खेलकुदमा १५–२० वर्ष लगानी गरिसकेको खेलाडीले अवकाश लिएपछि आफ्नै देशमा कुनै परियोजनामा काम गर्न पायो भने थप ५०–१०० जना उत्कृष्ट खेलाडी जन्माउन सक्छ । उसलाई रोजगारी दिएर प्रयोग गर्न सक्दा खेलकुदलाई ठूलो लाभ हुन्छ ।’
ओलम्पिक र एसियन गेम खेलेका हाम्रा खेलाडीहरू रोजगारीको अभावमा विदेशिन बाध्य भएको बताउँदै राणाले भने, ‘जबकि, उनीहरू त हाम्रो जेनेरेशनको आदर्श हुनुपर्ने हो ।’
र, नेपालीले जितेका ती पदक
दस्तावेज नै पल्टाउने हो भने नेपाली खेलाडीले ओलम्पिकमा एकपटक स्वर्ण र एकपटक कास्य जितेका छन् । तर, ती दुईवटै पदक नेपालका नाममा छैनन् ।
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकबाट ओलम्पिक यात्रा सुरु गरेको हो । त्यसभन्दा ४० वर्षअघि नै नेपालीले ओलम्पिकमा स्वर्ण जितेका थिए । सन् १९२२ मा सगरमाथा आरोहणको प्रयास गर्ने ब्रिटिस आरोहण दलका २१ सदस्यको सम्मानमा १९२४ को पेरिस ओलम्पिकमा अल्पाइनतर्फको स्वर्ण दिइएको थियो । यो टोली ८ हजार ३ सय फिट माथिसम्म पुगेर आरोहणतर्फको विश्व कीर्तिमान बनाउन सफल भए पनि शिखरमा पुग्न असफल थियो, स्वर्ण पाउने यस आरोहण दलमा ब्रिटिस, अस्ट्रेलियन र भारतीयसँगै बेलायती सेनामा कार्यरत नेपाली तेजवीर बुढा पनि थिए । यो कुनै देशका विशेषका लागि नभएर आरोहण दलका लागि प्रदान गरिएको सम्मान थियो । ओलम्पिकमा धेरै देशका खेलाडीहरूले एउटै टोलीमा रहेर प्राप्त गरेको यो पहिलो र एकमात्र स्वर्ण हो ।
सन् १९८८ मा सिओल ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी विधान लामाले कास्य जितेका थिए । तर, यस ओलम्पिकमा तेक्वान्दो कुनै प्रतिस्पर्धात्मक खेल नभएर प्रदर्शनी खेलका रूपमा समावेश थियो । त्यसैले, विधानले गलामा मेडल झुन्ड्याए पनि ओलम्पिकको नियमअनुसार यसलाई नेपालको मेडल ट्यालीमा जोडिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने