समाचार

विज्ञ टोलीको निष्कर्ष : हेलम्बु र मेलम्ची क्षेत्रमा फेरि बाढी दोहोरिन सक्छ !

मुहानमा ठुलो मात्रामा गेग्रिन माटो रहेको पाइयो

person explore access_timeसाउन १७, २०७८ chat_bubble_outline0

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा शनिवार अचानक बाढी आएपछि राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले सो क्षेत्रको हवाई निरीक्षण गरेको छ ।  विज्ञ टोली सहित हवाई निरीक्षणबाट फर्केपछि प्राधिकरणले पत्रकार सम्मेलन गरेर पाँचपोखरी थाङपाल, हेलम्बु र मेलम्ची क्षेत्रमा दुई महिना अझै जोखिम रहेको जानकारी दिएको छ । स्थानीय जनप्रतिनिधि र विज्ञ सहित प्राधिकरणको टिमले आइतबार मेलम्ची खोलाको मुहानसम्म निरीक्षण गरेको थियो ।  

​मेलम्चीमा आएर मिसिने याङ्ग्री र लार्के खोला तथा मेलम्ची खोलाको मुहानमा ठुलो मात्रामा गेग्रिन माटो रहेको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणका सिइओ अनिल पोखरेलले बताए । 

‘त्यहाँका माटोको स्याम्पल परीक्षण गर्न दिएका छौँ’ पोखरेलले भने–‘नदीको मुहान क्षेत्रमा चुनको मात्रा धेरै भएको गेग्रिन रहेको पाइयो, सो गेग्रिन सामान्य पानी परेपछि लेदो हुने र पानी नपर्दा चट्टानी स्वरूपको हुने गरेको देखियो ।’ 

थोरै पानीले पनि गलाउने गेग्रिन मुहानमा भएको हुनाले गेग्रिन लेदो बनेर बग्दा तल्लो भागमा धेरै कटान गरेको विज्ञ टोलीको निष्कर्ष छ । मुहानमा विमानस्थल जत्रो आकारमा गेग्रिन जमेर बसेको हुनाले अबको दुई महिना पानी पर्दा सो भाग बगेर फेरी तल्लो भागमा क्षति हुनसक्ने खानि तथा भूगर्भ विज्ञ शिव कुमार बाँस्कोटाले बताए । 

प्राधिकरणले सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाँस्कोटाले भने–‘यस्तो बाढी फेरि दोहोरिन सक्छ ।’ 

प्राधिकरणले असार १ मा बाढी आएपछि अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग समन्वय गरेर मेलम्ची, याङ्ग्री र लार्के खोलाको माथिल्लो भागमा ड्रोन मार्फत सर्वेक्षण गरेको थियो । 

‘हिमालय रेन्जमा यत्ति ठुलो डेब्री फ्लो हामीले बेहोरेका थिएनौँ’ प्राधिकरणका सिइओ पोखरेलले भने–‘ दोलालघाट र त्यसभन्दा तलसम्म पर्ने बाढीको प्रभावको अध्ययन सुरु गरेका छौँ ।’ 

थोरै पानी हुँदा पनि ऊर्जा उत्पन्न हुनसक्ने खोलाको बनोटले गर्दा मेलम्ची र हेलम्बु क्षेत्रमा कटान धेरै भएको प्राध्यापक विष्णु पाण्डेले बताएका  छन् । स्थलगत भ्रमणबाट फर्केका पाण्डेले भने–‘पहिरोले थुनेर आएको बाढी होइन किनभने, पहिरोले बहावलाई धेरै समय थुन्न सक्दैन ।’ 

पुलचोक क्याम्पसका प्राध्यापक डा. वसन्त अधिकारीले पुरानो समयदेखि थुप्रिएको गेग्रिन फेरी ‘रिएक्टिभेट’ भएको बताए । डा. अधिकारीले भने–‘खोला बग्दाबग्दै गेग्रिन मिक्स भएर आएको हुनसक्छ, ऊर्जावान् बाढीले तल्लो भाग खियाइरहेको छ ।’ विज्ञ समूहले मेलम्ची क्षेत्रको चनौटेमा सबैभन्दा धेरै कटान भइरहेको जानकारी दिएको छ । 

विस्तृत अध्ययन जरुरी 

प्राधिकरणले ६ जना विज्ञ टोली सहित स्थलगत अनुगमन गरेको छ । विज्ञहरूले सो क्षेत्रको विस्तृत अध्ययन गर्नुपर्ने सुझाव दिएका छन् । उप–सचिव एवं हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले मेलम्ची र हेलम्बु क्षेत्रमा हिमनदीले बगाएर ल्याएको चट्टानबाट बनेका चउर भेटिएको जानकारी दिँदै भने–‘ हेमाङथान जस्ता चउरको बारेमा अझै अध्ययन गर्न जरुरी छ ।’ 

सो क्षेत्रमा १०–१५ दिनको फरकमा लेदो बगिरहेको बताउँदै शर्माले भने–‘विस्तृत अध्ययन गर्नु जरुरी छ, त्यहाँको बस्ती सार्नेबारेमा पनि अध्ययन गर्न जरुरी छ ।’ 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।