बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अध्यादेशबाट ल्याएको बजेट सच्याउन नयाँ अर्थसचिव  !

आइतबार, १७ साउन २०७८, २१ : १७
आइतबार, १७ साउन २०७८

अर्थ मन्त्रालयले अर्थसचिवको जिम्मेवारी यसअघिका महालेखा  नियन्त्रक मधुकुमार मरासिनीलाई दिएको छ । सामान्यतया मन्त्री परिवर्तन भएपछि उनीहरुले आफूलाई काम गर्न सहज हुने सचिव ल्याउने गरेका छन् । अहिले अर्थ मन्त्रालयलको जिम्मेवारी अर्थमन्त्री जनार्दन शर्माले लिएका छन्  ।

नयाँ मन्त्री आएपछि सचिव मात्र होइन, काम गर्न सहज लाग्ने टिम नै बनाउने गरिएको छ । शाखा, महाशाखामा सहसचिवहरूको पनि व्यापक हेरफेर हुने गरेको छ । तर, यसअघि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेलले भने अर्थसचिव फेरेका थिएनन् ।

नयाँ सरकार बनेपछि महालेखा नियन्त्रक बनेका मरासिनी अर्थसचिव बन्ने दौडमा थिए । उनले आफूलाई अर्थसचिव बनाउन यसअघि पनि लबिङ गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत ल्याएको बजेट यस सरकारले सच्याउने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएसँगै पहिलो संसद बैठकमा अध्यादेश विधेयक टेबल भएको छ । प्रतिस्थापन विधेयकबाट बजेट प्रतिस्थापन गर्ने वा सोही बजेट कार्यान्वयनमा लैजाने हो भन्ने टुंगो संसदले लगाइसकेको छैन ।

यद्यपि, अर्थमन्त्रालयले अध्यादेशको बजेट सच्याउन भने तयारी गरिरहेको बुझिएको  छ । यदि नयाँ बनाउनुपर्यो भने के गर्ने भनेर बजेट लेखनको तयारी मन्त्रालयले आफ्नै तरिकाले गरेको मन्त्रालय स्रोतले बतायो ।

मरासिनीले यसअघि बजेट महाशाखा प्रमुख बनेर बजेट लेखनको अनुभव संगालिसकेका छन् । उनले प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवका रुपमा पनि काम गरिसकेकाले बजेट लेखन तथा कार्यान्वयनका विषयमा जानकार मानिन्छन् ।

मन्त्री शर्माले सरुवा गराएका सचिव शिशिर कुमार ढुंगानाले राजस्व सचिवका रुपमा काम गरेका थिए । तत्कालिन अर्थसचिव राजन खनालले अवकाश पाएपछि  ढुंगानालाई अर्थसचिवमा इन्ट्री गराइएको थियो ।

राजस्व सचिव हुनुअघि ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै थिए । अहिले फेरि उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै फर्काइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप