शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यो वर्षको बाढी पहिरोले सडक र पुलमा २ अर्ब १६ करोड क्षति

२४ पक्की पुल बगे, राजमार्गमा ३५ स्थानमा ठूलो क्षति
आइतबार, १७ साउन २०७८, २० : ३६
आइतबार, १७ साउन २०७८

यो वर्ष मनसुनी वर्षाका कारण बाढी पहिरोले २ अर्ब १६ करोड रुपैयाँ  बराबरको राजमार्गका सडक र पुलमा क्षति भएको छ । संसद्को विकास तथा प्रविधि समितिमा आइतबार देशभरका सडक तथा पुलमा भएको क्षतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विवरण प्रस्तुत गरेको गरेको हो ।

मन्त्रालयका अनुसार यो वर्षको मनसुनका कारण अरनिको राजमार्गमा मात्रै १ अर्ब  ८० करोड रुपैयाँ बराबरको सडक तथा पुलमा क्षति भएको छ । अरनिको राजमार्गमा ठाउँ–ठाउँमा सडक कटान भएकाले सडक मर्मतमा समेत चुनौती रहेको सडक विभागले जनाएको छ ।

सडक विभागले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १४ हजार ९ सय १३ किमी लम्बाइका ८० वटा राजमार्गमा १ सय भन्दा धेरै स्थानमा बाढी पहिरोले सडक अवरुद्ध भएको जनाएको छ ।

बेंसीशहर चामे सडक डेढ महिनादेखि अवरुद्ध भएकोमा ६५ किमी सडक मध्ये अब १३ किमी सडक बनाउन बाँकी रहेको र दसैँअघि सम्पन्न गर्ने विभागले बताएको छ ।  

वर्षाका बेला राजमार्गको यातायात अवरुद्ध भएको अवस्थामा आपत्कालीन बाटो मर्मतका लागि २०५ वटा डोजर, एक्स्काभेटर लगायतका निर्माण उपकरण परिचालन गरिरहेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

उनले आपत्कालीन सडक निर्माणका लागि ३३ वटा सडक डिभिजन कार्यालयबाट इन्जिनियर हेल्पर लगायतका जनशक्ति तैनाथ गरेको पनि जानकारी दिए ।

यस्तै सडक विभागले आफ्नो वेबसाइटमा कुन कुन राजमार्ग अवरुद्ध भएको छ त्यसको लाइभ जानकारी दिने व्यवस्था गरेको पनि उल्लेख गरे ।

राजमार्गमा जथाभाबी शाखा सडक निर्माण, भारी वर्षा, पहिरो, कमजोर भूबनोट, जलवायु परिवर्तन आदी कारणबाट सडक अवरुद्ध हुने गरेको सडक विभागको भनाई छ ।

बझाङमा अवरुद्ध भएको सडक खोल्ने काम गरेको र लमजुङ बेसीशहरदेखि मनाङको चामेसम्मको सडक खुलाउने काम भएको सडक विभागको भनाई छ ।  चामे सडकमा ५ वटा काठे पुल बगाएको र स्थानीयलाई अस्थायी पुल बनाउन दिइएको छ ।

साँफेबगर मार्तडी सडकमा ३ किमी सडक पहिरो गएकोले तत्काल सडक मर्मत गर्न सम्भव नभएको विभागको भनाइ छ । यो वर्ष हिउँदमा सरकारले ३ सय जना इन्जिनियर थपिदिएकोले अब जनशक्तिको अभाव नहुने उनको भनाइ थियो ।

२४ पक्की पुल बगे, राजमार्गमा ३५ स्थानमा ठूलो क्षति

बाढी र पहिरोको कारण राजमार्गका २४ पक्की पुलमा पूर्ण रूपमा क्षति भएको छ भने राजमार्गका ३५ स्थानमा ठूलो क्षति भएको छ । मुग्लिङ नारायणघाट सडकका ४ स्थानमा पहिरोले सडक अवरुद्ध गरेको छ । पुनःस्थापना गर्न ८ करोड लाग्ने सडक विभागको अनुमान छ ।

यस्तै पृथ्वी राजमार्गका ३ स्थानमा टेवा पर्खाल भासिएको, लेदो गेग्रानले कलभर्ट थुनिएको, सडक भासिएको र मर्स्याङ्दी नदीले सडकको किनारा बगाउँदा सडक अवरुद्ध भएको छ । यो राजमार्गमा सडक पुनःस्थापनाका लागि ८ करोड लाग्ने अनुमान गरिएको छ ।

देशका राजमार्गहरूमध्ये सबैभन्दा धेरै अरनिको राजमार्गमा क्षति भएको छ । अरनिको राजमार्गका २६ स्थानमा सडक तथा पुलमा क्षति पुगेको छ । यो राजमार्गमा मात्रै २ अर्ब ६ करोड पुनःस्थापना गर्न लाग्ने अनुमान गरिएको  छ । यो राजमार्गको कोठे, जुरे, कल्लेरी, महाभीर, खुर्सानी बारी, सिरिसे, खग्दोल, जम्बु, बसेरी, नयाँ पुल, बञ्जी पुल, बुल्कोटे, झ्याले भीर, चाकु, लार्चा पुल, लिपिङका २ स्थानमा गरी २६ स्थानमा पहिरो, नदी कटान तथा पुलमा क्षति पुगेको छ ।

यस्तै खोड्पे बझाङ सडकका ४ स्थानमा क्षति पुगेको छ । सो सडक खण्डमा पहिरोको कारण सडकमा लगाइएको ढुङ्गाको पर्खाल भत्किएको, सेती नदीले सडक कटान गरेको, सडकमा ढुङ्गाले लगाएको टेवा भत्काएको कारण सडक अवरुद्ध भएको छ । सो सडक पुनःस्थापनाका लागि ३ करोड खर्च हुने अनुमान गरिएको छ ।

उता साँफेबगर मार्तडी सडक खण्डमा पहिरो र नदी कटानले पुरै पहाड खसेका कारण साँफेबगर मार्तडी ओमकोट सडक प्रभावित भएको छ ।

मध्यपहाडी पुष्पलाल राजमार्गअन्तरगत पर्वत–वाग्लुङ–बुर्तिबाङ सडक खण्डका ४ स्थानमा पहिरोले सडक अवरुद्ध गरेको छ । यो खण्डमा निर्माणका लागि ४ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यस्तै त्रिभुवन राजपथ अन्तर्गत बुलबुले भन्ने स्थानमा राप्ती नदीको कटानका कारण ५० मिटर टेवा पर्खाल र स्ल्याब पर्खाल बगाएको छ । सो क्षेत्रमा निर्माणका लागि २ करोड लाग्ने अनुमान गरिएको छ ।  

यस्तो छ बाढी पहिरोबाट पुलमा पुगेको क्षतिको विवरण

यो वर्षको मनसुनबाट सिर्जना भएको बाढी पहिरोबाट २४ वटा पक्की पुल पूर्ण रूपमा क्षति भएको छ । प्युठानमा झिम्रुक नदीमा रहेको निर्माणाधीन पुलका टेकाहरु बगेर क्षतिग्रस्त भएको छ ।

नवलपुरघाटमा सुनकोसी नदीले निर्मार्णाधीन पुल बगाएको छ । तनहुँको व्यास नगरपालिकामा छाब्दी पुल बगाएको छ भने सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्चीमा ६ वटा पक्की पुग बगाएको छ । यो क्षेत्रमा मेलम्ची नवलपुर चौतारा सडक जोड्ने पक्की पुल, मेलम्ची दुवाचौर जोड्ने पुल, नकाटे पुल, तिम्बु पुल, आकाशे पुल र रातो पुल बगाएको छ ।

यस्तै धादिङको निर्माणाधीन महेश खोला पुल अत्यधिक बाढीका कारण भत्किएको छ । चितवनको पर्साबाट चैनपुर जाने लोदारी खोला पुल बाढीले बगाएको छ । सर्लाहीको फुल्जोर नदीको निर्मार्णाधीन पुलको टेका बगेर भत्किएको छ ।

यस्तै मुख्य राजमार्गमा बाढी पहिरोका कारण ११ वटा पुल भत्किएका छन् । डुम्रे बेशीशहर चामे मनाङ सडक अन्तर्गत तिमाङ खोलाको बेलिब्रिज, तिमाङ छहरा, काठेखोला सहित तीनवटा काठको पुल, अरनिको राजमार्गको लिपिङ पुल, रुकुमको राप्ती राजमार्ग अन्तर्गत सोलाबाङ खोला पुल, प्युठानको मादी नदी पुल, हुलाकी राजमार्ग अन्तर्गत कर्णाली नदी सतिघाट र कोठियाघाट नदीको पुल बाढीले बगाएको छ ।

यता गाईघाट दिक्तेल सडक अन्तर्गत त्रियुगा नदीको पुल, खैरनीटार भिमाद कावासोतीका काली गण्डकी नदीले डेढगाउँ पुल, हुलाकी राजमार्ग अन्तर्गत धनुषामा कमला नदी पुल र दाङमा राप्ती नदी पुल बाढीले बगाएको छ ।

क्षतिग्रस्त पुल तथा सडक निर्माण गर्न समितिको निर्देशन

संसद्को विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तथा मन्त्रालयका सम्बद्ध पदाधिकारीहरूलाई बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल तत्काल निर्माण थाल्न निर्देशन दिएको छ ।

समितिले बाढी, पहिरो नियन्त्रण सम्बन्धी दीर्घकालीन नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन एवं तीनै तहका सरकारहरूसँग समन्वय गरी तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको प्रबन्ध मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

अविरल वर्षाका कारण सिराहा–धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीमा निर्माणाधीन पुल भासिएको एवं गाईघाट–दिक्तेल सडक खण्ड अन्तरगतको त्रियुगा नदीको पुल जग धसिएर स्ल्याब खसेको हुँदा निर्माणाधीन अवस्थामा रहेका पुलहरू क्षतिग्रस्त हुनुको वास्तविक कारण पत्ता लगाई यथाशीघ्र पुल निर्माणको कार्य सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

साथै पुल निर्माणमा भएको प्राविधिक त्रुटी लगायत पुल भासिनुका विविध कारणहरूको पहिचान गर्नका लागि उपयुक्त समयमा समितिले सो क्षेत्रको स्थलगत अनुगमन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै वर्षातको समयमा पहिरोका कारण पटक–पटक अवरुद्ध हुने गरेको नारायणगढ–मुग्लिङ सडक खण्डको दीर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा आकस्मिक समाधानको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत पर्ने विभिन्न सडक खण्डहरू क्षतिग्रस्त भएकोले सो राजमार्गमा पर्ने पुलहरूको पुनः निर्माण गर्न र सडक स्तरोन्नति गरी तत्काल यातायात सुचारु गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप