शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा भारतबाट आएको हात्तीले धानबाली नष्ट

आइतबार, १७ साउन २०७८, १६ : १८
आइतबार, १७ साउन २०७८

पूर्वोत्तर झापाको बाहुन डाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धान खेतीमा क्षति पुर्याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किँदै गरेका धानका बोट नै खान थालेको मेचीनगर नगरपालिका–४ का शङ्कर लुइँटेलले बताए ।

उनका अनुसार आज बिहान आएको एउटा हात्तीले स्थानीयवासी सन्तोष न्यौपाने र भैरवबहादुर गौतमको धानखेत नष्ट गरेको हो । हात्तीले भर्खरै सारेको धानको रोपो सुँढले तानेर गुबो खाने गरेको छ । कहिले हुल बाँधेर र कहिले एक्लै आउने हात्तीले साँझदेखि बिहानसम्म बाली खाएर क्षति पुर्याउन थालेपछि स्थानीयवासी  चिन्तित बनेका छन् । पीडित भैरवबहादुर गौतमले चार कठ्ठा खेतको रोपो एकै मेलोमा खाइदिएको बताउनुभयो । उहाँले हात्ती खेद्ने संयन्त्र नहुँदा किसान मारमा परेको गुनासो गरे ।

झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीमा भारतबाट दैनिकजसो जङ्गली हात्ती गाउँमा पस्ने गरेको छ । सरकारले सीमा क्षेत्रमा विद्युतीय तारबार लगाए पनि तारबार भत्किएका ठाउँबाट हात्ती छिर्ने गरेको छ । हात्ती र कोरोनाको आतङ्क एकैपटक आइलागेका कारण ज्यान जोगाउने कि बाली भन्ने समस्या उत्पन्न भएको अर्का पीडित सन्तोष न्यौपाने बताउँछन् । कोरोना सङ्क्रमण नबढोस् भनेर नगरपालिकाले सिलबन्दी गरेको र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ । 

भारतबाट आउने हात्तीले स्थानीयवासीको घर भत्काइदिने र घरभित्रको अन्न खाइदिने पहिल्यैदेखिको समस्या हो । पाकेको बाली खाने गरे तापनि खेतको रोपो यसअघि खाएको थिएन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप