मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने सरकारको तयारी

ल्याक्टोजिनको विज्ञापन गरेको पाइए कडा कारबाही
आइतबार, १७ साउन २०७८, १६ : १५
आइतबार, १७ साउन २०७८

सरकारले ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो । 

विश्व स्तनपान सप्ताह शुभारम्भ गर्दे महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न सो बैङ्क स्थापना गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरूको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने तयारी गरेको हो । जुन आमाको दूध तत्काल आउँदैन वा कमी छ, त्यस्ता बच्चालाई सो बैङ्कमा राखिएको दूधको व्यवस्था गर्नेछौँ । सो बैङ्क यसै वर्ष काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्थापना गरिनेछ ।”

महाशाखाले ‘ह्यूमन मिल्क बैङ्क’ मा दूध राख्नका लागि करिब १ करोडको मेसिन खरिद गर्ने तयारी गरेको छ । कार्यक्रममा महाशाखाले आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’को विज्ञापन नगर्न, नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ । शाखाका प्रमुख पराजुलीले ल्याक्टोजिनको विज्ञापन गरेको पाइए कडा कारबाही गर्ने चेतावनी समेत दिए । उनले भने, “ल्याक्टोजिनको विज्ञापन कहीँ भएको पाइए त्यसउपर कडा कारबाही हुन्छ ।”

आइतबार सुरु भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म चल्नेछ । “हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी” भन्ने मूल नाराका साथ मनाउन मनाउन लागिएको स्तनपान सप्ताहमा सबै स्थानीय तहमा स्तनपनको महत्त्व बारे जनचेतनामूलक कार्यक्रम गरिने छ । शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने र त्यसभन्दा माथि उमेर पुगेपछि अन्य थप पोषणको पनि व्यवस्था गर्नुपर्ने विषयबारे एक साता सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरिने छ । स्तनपान संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर विश्व स्तनपान सप्ताह मनाउँदै आइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप