यातायात भाडा समायोजन : बागमती प्रदेश भन्छ– नियमावली छैन
बागमती प्रदेश सरकारले सार्वजनिक यातायात भाडादर निर्धारण ऐनको नियमावली नबनेकाले तत्कालै समायोजन गर्न नसकिने स्पष्ट गरेको छ । लामो समयदेखि भाडा समायोजन हुन नसकेको जनाउँदै यातायात व्यवसायीले समयानुकूल भाडा समायोजनको माग गरिरहेका छन् । प्रदेश सरकारले तत्काल समायोजनमा केही गर्न नसकिने जनाएको हो । नियमावली बनेपछि मात्रै भाडासम्बन्धी काम गर्न सकिने प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकारी दिए ।
सङ्घीय सरकारले नयाँ यातायातसम्बन्धी ऐन ल्याउन सकेको छैन भने प्रदेशले सवारी यातायात व्यवस्थापन ऐन (२०७५) जारी गरेको छ । सो ऐनको दफा ११० मा भाडा निर्धारण गर्नेसम्बन्धी व्यवस्था भए पनि नियमावली नभएको कारण समायोजन गर्न अप्ठ्यारो रहेको जनाइएको छ ।
यातायात नियमावली नबनेसम्म अहिलेका लागि पुरानो भाडादर यथावत् हुने प्रवक्ता सिंहले बताए । व्यवसायीले कुनै कारण देखाएर बढी भाडा लिन नहुने उनको भनाइ छ । उनले भने, “आफूखुशी बढी भाडा लिएको पाइएमा कानून बमोजिमको कारवाही हुनेछ ।”
व्यवसायीको प्रदेश र केन्द्रीय स्तरका नेतृत्वले भाडा समायोजनको मागसहित छलफलमा आएको प्रवक्ता सिंहले बताए । अहिले नियमावलीको मस्यौदा बन्ने क्रममा रहेकाले तत्कालै केही गर्न नसकिने उनले जानकारी दिए । केन्द्रको निर्णयलाई आधार मानेर प्रदेशले भाडा समायोजन गर्नुपर्ने माग व्यवसायीको भए पनि केन्द्रको समायोजन लामो रुटको हुने र प्रदेशभित्र चल्ने सवारीसाधनको प्रदेश ऐनका आधारमा निर्णय गर्नसक्ने उनले बताए ।
तत्कालीन नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले भाडा समायोजन नहुँदा यातायात व्यवसायी मर्कामा परेको गुनासो गरे । हरेक आर्थिक वर्षमा कर वृद्धि भइरहे पनि भाडा समायोजन गर्नुपर्यो भन्दा नियमावली बनेको छैन भन्ने किसिमको सरकारको जवाफ आउने गरेको उनको भनाइ छ । पहिले रु ८० डिजेलको भाउ कायम हुँदाको भाडादर अहिले रु ११० बन्दा पनि यथावत नै भएको उनले जनाए । उनले भने, “यही साउन महिनाभित्र सरकारले यस विषयमा निर्णय गर्ने आश्वासनले केही राहत महसुस भएको छ ।”
हेटौंडाका यातायात व्यवसायी श्याम श्रेष्ठले कोरोना महामारी र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले यातायात व्यवसायी समस्यामा परेको बताए । “पुरानो भाडादरमा गाडी चलाउन कठिन परेको छ ” उनले भने, “बैंकको किस्ता तिर्नसमेत धौधौ भएको छ ।”
सङ्घीय सरकारले लामो रुटमा गरेको समायोजनका आधारमा प्रदेश र स्थानीयले गर्नुपर्ने नेपाल यातायात राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । संविधानअनुसार यातायात व्यवस्थापनको जिम्मेवारी तीनै तहको सरकारमा छ । लामो रुटमा भाडा व्यवस्थापन सङ्घीय सरकार, मध्यम रुटमा प्रदेश सरकार र पालिकाभित्र चल्ने सवारीसाधनको पालिकाले गर्नुपर्ने व्यवस्था छ । उनले भने, “भाडा समायोजन गर्नुपर्यो भनेर महासङ्घले लिखित र मौखिक रुपमा भनिरहेको छ ।”
सङ्घीय सरकारले गरेको समायोजनकै आधारमा प्रदेश र स्थानीय सरकारले समायोजन गर्नुपर्ने महासङ्घले माग गरेको छ । भाडा समायोजन कतै गर्ने र कतै नगर्ने गर्दा विभेद हुने उनको भनाइ छ । भाडा समायोजन स्वचालित रुपमा हुनुपर्ने भए पनि लामो समयदेखि त्यो हुन नसकेको महासचिव सिटौलाले बताए । अझै पनि पटकपटक भनेपछि मात्रै र लामो समयमा मात्रै समायोजन हुने गरेको उनले जनाए । उनले भने, “भाडा समायोजन स्वचालित हुन नसक्दा अहिले पनि हामीले लबिङ गरेर मात्रै सरकारले समायोजन गरेको हो ।”
झण्डै डेढ वर्षदेखि कोभिडका कारण यातायातका कर्मचारीमा आर्थिक र मानसिक असर पुगेको महासङ्घले जनाउँदै आएको छ । महासङ्घले कोभिडविरुद्धको खोप चालक, सहचालक, स्वरोजगार व्यवसायी र यातायातका सबै कर्मचारी र टिकट काउण्टरका कर्मचारीले पाउनुपर्ने माग गरेको थियो । उनीहरुले खोप पाउन थाले पनि अझै प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ । उनले भने, “स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न÷गराउन तीन सरकारले के गर्ने भनेर आपसी समन्वयमा योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ ।”
सरकारले बजेट र नीतिमा समेटेको विषय पनि तत्काल कार्यान्वयन गर्नुपर्नेमा व्यवसायीको जोड छ । यसलाई कार्यान्वयन नगर्दा कोरोनाका कारण मर्कामा परेका व्यवसायीलाई सरकारले दिन खोजेको राहत नपाएको महासचिव सिटौलाले बताए । बीमा रकममा सहजीकरण, बैंकको किस्तामा सहुलियतसँगै निषेधाज्ञाको समयमा अवधि सकिएका सवारीसाधनलाई साउन मसान्तसम्ममा जरिवाना नहुने व्यवस्था गरिएकामा त्यसको कार्यान्वयनको जरुरी छ । सङ्घको बजेटमा यो अवधिमा छुटका व्यवस्था गरे पनि त्यसको कार्यान्वयन अरु सरकारले गर्ने भएकाले रकम अरु सरकारमा जानुपर्ने उनको भनाइ छ । उनले भने, “सरकारले यस क्षेत्रको समस्या बुझेर समाधानका लागि नलागेमा यातायात क्षेत्र डुबिसकेको छ ।”
सरकारले नौ वर्षसम्म सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको थिएन । यसभन्दा पहिले विसं २०६९ मा भाडादर समायोजन भएको थियो । सरकारले २०६५ मा वैज्ञानिक भाडा निर्धारणका लागि मापदण्ड बनाएको थियो । सो मापदण्डमा ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत अरु कुराको मूल्यका आधारमा भाडादर निर्धारण हुने उल्लेख थियो । पेट्रोलियम पदार्थ बाहेकको सूचकमा सवारीसाधनको मूल्य, टायरको मूल्य, सवारीसाधनका पार्टको मूल्य, मजदूरको तलब, कर भन्सारलगायतका कुरा पर्छन् । वार्षिक रुपमा आवको अन्तिममा वा पेट्रोलियम पदार्थको मूल्य पाँच रुपैयाँ वा त्योभन्दा बढी बढ्दा स्वतः बढ्ने र घट्दा घट्ने मापदण्डमा उल्लेख छ । यसबीचमा पेट्रोलियम पदार्थ बाहेकका सूचकमा पटकपटक र धेरै मूल्यवृद्धि भए पनि त्यसलाई आधार बनाइएको व्यवसायीको भनाइ छ ।
सार्वजनिक यातायात क्षेत्रमा रु १० करोडको लगानी रहेको र यसबाट ११ लाखले प्रत्यक्ष रोजगारी पाइरहेको बताइएको छ । देशभरमा गरी झण्डै चार लाख सवारीसाधन छन् । सङ्घीय सरकारले गत महिना यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत, तराईमा २० प्रतिशत र पहाडमा मालबाहक गाडीमा २६ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो ।
पहिले लामो, मध्यम र छोटो सबै दूरीमा यातायात व्यवस्था विभागले भाडा निर्धारण गर्दै आएको थियो । संविधानअनुसार अधिकार बाँडिएपछि यातायातको अरु व्यवस्थापनसँगै भाडादर निर्धारण पनि तीन तहको सरकारले गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान