शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्क्यान्डल किङ्ग दुर्गेशका ७ विवाद

आइतबार, १७ साउन २०७८, १३ : ३७
आइतबार, १७ साउन २०७८



नेपाली सांगीतिक बजारमा पछिल्लो समय गायक–गायिकाहरु विभिन्न विवादमा पर्ने गरेका छन् । तीमध्ये धेरैजसो त उनीहरुले गरेको सिर्जनाकै कारण पनि विवादमा तानिने गरेका छन् । सस्तो लोकप्रियता पाउने र भाइरल हुने उद्देश्यले गीतमा जथाभावी शब्द प्रयोग गरेका कारण कतिपय कलाकार विवादमा तानिएका छन्, जसमध्ये एक हुन्– दुर्गेश थापा ।

दुर्गेशको कलायात्राभन्दा पनि लामो उनको विवादको शृङ्खला बनेको छ ।

२०७६ को तीजमा ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ बोलको गीत हिट भएपछि दुर्गेशलाई सांगीतिक क्षेत्रमा पछि फर्किएर हेर्नु परेको छैन । तर उनका गीतहरु लगातार हिट भइरहे पनि विवादले समेत उनको पिछा छोडेको छैन । छोटो समयमै एकपछि अर्काे विवादका कारण उनी ‘स्क्यान्डल किङ्ग’को रुपमा स्थापित भएका छन् ।

दुर्गेश अहिले फेरि विवादमा मुछिएका छन् । भर्खर सार्वजनिक भएको उनको तीज गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’मा जथाभावी शब्द प्रयोग गरेका कारण उनी विवादमा मुछिएका हुन् । गायक दुर्गेशको विवादका शृङ्खला यस्ता छन् –

विवाद १

वर्ष २०७६ को तिहारमा दुर्गेशले ‘ह्याप्पी तिहार चिसो बियर’ गीत ल्याए । तर उनको यो गीत सार्वजनिक भएलगत्तै विवादमा तानियो । गीतमार्फत तिहारको सांस्कृतिक विचलन गरेको र प्रतिबन्धित गाँजा सेवन गर्न उक्साएको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध उजुरी परेको थियो । जसका कारण महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउसमेत गरेको थियो । उनी तत्कालै आफ्नो युट्युब च्यानलबाट उक्त गीत हटाउने तथा आम माफी माग्ने र आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएर रिहा भएका थिए ।

उनको तिहार गीतमा ‘ह्याप्पी तिहार ह्याप्पी तिहार चिसो बियर’, ‘डन आयो डन, जा मुला भन’, ‘राजा हो राजा, बजाई दिम्ला बाजा’, ए निकाल गाँजा, खानुपर्छ आज’ लगायतका शब्द प्रयोग भएका थिए ।

विवाद २

दुर्गेश फिल्म ‘छक्का पन्जा ३’ को प्रमोसनल गीतका कारण पनि विवादमा तानिएका थिए । ‘बीच्च बीच्चमा’ कै थेगोमा बनाइएको प्रमोसनल गीतको एउटा लाइनमा ‘यसपाली त (फलाना) ब्याउने कुरो छ’ भनिएको थियो । उक्त गीतका गीतकारले दुर्गेशमाथि आफ्नो शब्दमा आपत्तिजनक शब्द मिसाएको आरोप लगाएका थिए । फिल्मका निर्माता दीपकराज गिरीले यो विषयलाई सल्टाएका थिए ।

विवाद ३

दुर्गेशले २०७७ तीजलाई लक्षित गर्दै पहिलो गीत ल्याएका थिए ‘बीच्च बीच्चमा २’ । यो गीतको अन्तरामा रहेको एउटा लाइन गायकगायिका प्रेमराज महत र हरिदेवी कोइरालाको पुरानो गीतबाट हुबहु चोरिएको आरोप लागेको थियो । ‘आकाशैमा बादलु डम्मैछ, मनमा के छ भन्नेलाई सम्मै छ..’ भन्ने अन्तरालाई दुर्गेशले अनधिकृत रुपमा प्रयोग गरेको आरोप लागेकोमात्र होइन, दुर्गेश स्वयंले आफूमाथिको आरोप स्वीकार गरेका थिए ।

विवाद ४

२०७७ कै तीजका लागि भनेर दुर्गेशले ‘बीच्च बीच्चमा ३’ गीत पनि ल्याएका थिए । यो गीत पनि विवाद बाहिर रहन सकेन । यो गीतको भिडियो विवादमा परेको थियो । भिडियोमा उनले पुरुष कलाकारलाई महिलाको पहिरनमा प्रस्तुत गरेका थिए । भिडियोले महिलाहरुको अपमान गरेको  आरोप उनीमाथि लाग्यो । धेरैले भिडियोलाई ‘गाइजात्रे गीत’को संज्ञासमेत दिएका थिए । भिडियोले गर्दा दुर्गेश सामाजिक संजालमा ट्रोलको सिकार भए ।

विवाद ५

गत वर्ष पत्रकार ऋषि धमलालाई दिएको टेलिभिजन अन्तर्वार्ताको कारण पनि दुर्गेश विवादमा मुछिएका थिए । उनले कार्यक्रममा स्वरसम्राट नारायण गोपालको भनेर गायक भक्तराज आचार्यको गीत ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’ गाएपछि उनको चौतर्फी आलोचना भएको थियो । नेपाली संगीतको थोरैमात्र ज्ञान भएकालाई पनि थाहा हुने यो गीत गाउँदा उनले लयसमेत बिगारेका थिए ।

सोही कार्यक्रममा उनले यम बरालको गीत भनेर रामकृष्ण ढकालको चर्चित गीतसमेत गाए । सोही कारण पनि उनले ‘नेपाली संगीतको ज्ञान नभएको’ लगायतका आलोचना झेलेका थिए ।

विवाद ६

गत कार्तिकमा थापाको गाडीले कुकुरलाई किचेर कुकुरको मृत्यु पछि उनी विवादमा तानिकएका थिए । बागबजार स्थित आरधना कम्प्लेक्सको पार्किङ स्थलबाट बाहिरिने क्रममा गायक थापाको बा १९ च ८९३७ नम्बरको गाडीले कुकुरलाई किचेको थियो । कुकुरलाई ठक्कर दिएपछि उपचार गर्न छाडेर भागेको बन्दै गायक थापा विरुद्ध महानगरीय प्रहरी वृत सिंहदरबारमा उजुरी परेको थियो । स्थानीय रामदार गोपाली र प्रितम तण्डुकारले नेपालको कानुन अनुसार कारबाही गर्नुपर्ने माग गर्दै उजुरी दिएका थिए ।

विवाद ७

दुर्गेश यतिबेला पनि विवादमा छन् । नयाँ गीत ‘बीच्च बीच्चमा ४ – ख्यास्स पुतली’का कारण अहिले उनी विवादमा तानिएका हुन् । उक्त गीत तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको टीका टिप्पणी भइरहेको छ ।

‘बीच्च बीच्चमा ४’ केही दिन अगाडि उनले बजारमा ल्याएका हुन् । गीतप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले समेत आपत्ति जनाएको छ ।

केही महिना अगाडि तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको प्रतिष्ठानले आफ्नो अनुरोधको बेवास्ता गरेर दुर्गेशले गीत ल्याएको भन्दै आपत्ति जनाएको हो । उनीमाथि कारबाहीको माग गर्दै प्रतिष्ठानले उनलाई बहिस्कार गर्दैछ ।

के भन्छ लोकदोहोरी प्रतिष्ठान ?

उजुरी गर्ने तयारीमा छौँ : अध्यक्ष बिजी

‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ गीत सार्वजनिक हुनु अगाडि नै प्रतिष्ठानले उक्त गीतमा रहेका शब्दबारे थाहा भएको थियो । त्यसैले प्रतिष्ठान अन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको आपत्तिजनक शब्द हटाउन दुर्गेशलाई ध्यानाकर्षण पत्र पठाएको थियो । पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने भन्दै प्रतिष्ठानले दुर्गेशलाई ‘ख्यास्स पुतली’ लगायतका शब्द हटाउन भनेको थियो । तर, दुर्गेशले अटेर गरेर उक्त शब्द नहटाइ गीत बाहिर ल्याए ।
प्रतिष्ठानले पटक पटक गरेको आग्रहलाई दुर्गेशले बेवास्ता गरेको कारण आइतबार प्रतिष्ठानमा यस विषयमा  बैठक नै राखेर छलफल हुँदैछ । उक्त बैठकले दुर्गेशका बारेमा हुनसक्ने सम्भावित कारवाहीबारे छलफल हुने जनाइएको छ ।

‘गीत ल्याउने हल्ला चलेलगत्तै हामीले मौखिक तथा पत्रमार्फत पनि दुर्गेशलाई अनुरोध गरेका थियौं । गीतमा उच्छृङ्खलता नल्याउन, तीज हाम्रो संस्कृति हो भनेर पनि भनेका थियौं,’ प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले भने, ‘दुर्गेशले व्यक्तिगत रुपमा मैले चर्चा कमाएको छु, राज्यले त केही गरेको छैन, संघसंस्थाले के गर्न सक्छ भन्दै हाम्रो अनुरोध टेर्नुभएन ।’

प्रतिष्ठानको क्षेत्राधिकारभित्र यस्ता गीतलाई छेक्ने अधिकार नभएको भन्दै अध्यक्ष बिजीले प्रतिष्ठानले संस्थाबाट उनलाई हटाएर कुनै पनि औपचारिक क्रियाकलापमा सहभागी नगराउने निर्णय गर्न लागेको बताए ।

बिजीले थपे ‘बैठकमा दुर्गेशविरुद्ध राज्यलाई कारबाहीको माग र गुगललाई गीत हटाउन अनुरोधसम्मको निर्णय हुनेछ ।’  बिजीले दुर्गेशको यस्तो क्रियाकलापको विरोधमा उत्रन महिलाहरुलाई अनुरोधसमेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप