शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम : ३ वर्षमा २५ करोड बजेट, २ करोड १० लाखमात्र खर्च

आइतबार, १७ साउन २०७८, १३ : १३
आइतबार, १७ साउन २०७८


बागमती प्रदेश सरकारले नव प्रबन्धक युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम अन्तर्गत विगत ३ आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालय मार्फत् २५ करोड रुपैयाँ विनियोजन गरिएकोमा २ करोड १० लाख रुपैयाँमात्र खर्च गरेको छ । उक्त शीर्षकमा तीन आर्थिक वर्षमा विनियोजित बजेटको जम्मा ८.४ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

युवा पुस्तालाई वैज्ञानिक खोज तथा अनुसन्धान कार्यमा सघाउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत् आर्थिक वर्ष २०७५/०७६ बाट सो कार्यक्रम ल्याएको हो । मन्त्रालयले विभिन्न ५ वटा विधामा वैज्ञानिक अनुसन्धान प्रारम्भ गर्न बजेटको व्यवस्था गरे पनि कार्यान्वयन पक्ष फितलो देखिएको हो ।

मन्त्रालयले राष्ट्रिय निकुञ्जहरूमा प्रयोग हुने पेट्रोल तथा डिजेलका सफारी गाडीहरूलाई विद्युतीय सवारीमा परिणत गर्ने, पहाडी भेगमा पाइने रातो च्याउको उत्पादन क्षमता वृद्धि गर्न प्रविधिको प्रयोग, माछा पालनमा महत्त्वपूर्ण मानिएको इन्जाइम उत्पादनका लागि आवश्यक ब्याक्टेरिया स्थानीय माछा पोखरीमै गर्ने, बागमती प्रदेशमा पाइने प्राकृतिक जडीबुटी खोज तथा रासायनिक तत्त्व, र औषधि उत्पादन तथा उपचारमा प्रयोग, मानिसको दाँत परिवर्तनको तेस्रो विधिका बारेमा अनुसन्धान गर्न सो बजेट खर्च गरेको हो ।

हालसम्म ती ५ विधामध्ये राष्ट्रिय निकुञ्जमा प्रयोग हुने पेट्रोल तथा डिजेलका सफारी गाडीलाई विद्युतीय सवारीमा परिणत गर्ने बारेको अनुसन्धानका लागि कुल १९ लाख ८९ हजार ७ सय ४५ रुपैयाँ विनियोजन गरेकोमा १० लाख ९ हजार रुपैयाँमात्र निकासा दिएको छ ।

रातो च्याउको उत्पादन क्षमता वृद्धि गर्न प्रविधिको प्रयोगबारे अनुसन्धान कार्य गर्न कुल ३४ लाख ९४ हजार ३०१ रुपैयाँ सहायता उपलब्ध गराउने भनिएकोमा हालसम्म ७ लाख ६० हजार ८ सय ३३ रुपैयाँ खर्च भएको छ ।

७० लाख ५४ हजार ८०५ रुपैयाँ आर्थिक सहायता दिएर माछा पालनमा महत्त्वपूर्ण मानिएको इन्जाइम उत्पादनका लागि आवश्यक ब्याक्टेरिया स्थानीय पोखरीमै उत्पादन गर्ने बारेको अनुसन्धान कार्यमा हालसम्म २७ लाख रुपैयाँ खर्च गरेको छ ।

प्राकृतिक जडीबुटी खोज तथा रासायनिक तत्त्व र औषधि उत्पादन तथा उपचारमा प्रयोग बारेको अनुसन्धानका लागि दिइएको कुल ६९ लाख ६७ हजार ५ सय ६९ रुपैयाँमध्ये हालसम्म ३३ लाख रुपैयाँ खर्च भएको छ ।

दाँत परिवर्तनको तेस्रो विधिका बारेमा अनुसन्धानमा दिइएको कुल १५ लाख २२ हजार १ सय १० रुपैयाँ आर्थिक सहायतामध्ये हालसम्म ८ लाख ७० हजार रुपैयाँ खर्च भएअनुसार मन्त्रालयले निकासा गरेको छ ।

३ वर्षमा ५ वटा विषयमा काम

सामाजिक विकास मन्त्रालयले कार्यक्रम सञ्चालन गरेको ३ वर्षमा ५ वटामात्र विषयमा खोज तथा अनुसन्धान प्रारम्भ गरेको छ । सबै कार्यक्रम आर्थिक वर्ष २०७७÷०७८ मा छनौट गरी अनुसन्धानका लागि स्वीकृति प्रदान गरिएको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा उक्त कार्यक्रम प्रस्तुत गरे पनि कार्यविधि र निर्देशिकाको अभावका कारण काम गर्न समस्या उत्पन्न भएको मन्त्रालयले जनाएको छ ।

समस्या र अन्योलका बीच मन्त्रालयले नवप्रबन्धक युवा वैज्ञानिक प्रोत्साहन कोष तथा समिति स्थापना गरी सो कार्यक्रम लागु गर्ने तयारी गरेको सञ्चालक समितिका सदस्य गिरीराज त्रिपाठीले बताए ।

करिब १ वर्ष लगाएर युवा वैज्ञानिक प्रोत्साहन समितिले कार्यविधि तयार गरेपछि कार्यक्रम लागु गर्ने बाटो खुला भएको उनले बताए ।

कार्यविधि स्वीकृत भएपछि पहिलो पटक खोज तथा अनुसन्धान कार्य गर्न इच्छुक व्यक्तिहरूबाट आवेदन माग गर्दै मन्त्रालयले सूचना आह्वान गरेको थियो । उक्त सूचनाका आधारमा विभिन्न व्यक्ति तथा संस्थाले आवेदन पेस गरे पनि कुनै पनि प्रस्ताव छनोट गर्न लायक नभएको सदस्य त्रिपाठीको भनाइ छ ।

तत्कालीन सामाजिक विकास मन्त्री युवराज दुलालको महत्त्वपूर्ण चासो रहेको उक्त विषयमा खासै काम नभएपछि समिति र मन्त्रालय बीचको छलफलपछि पहिलो चरणमा प्राप्त भएका आवेदनहरूलाई पुनः अध्ययन गरी केहीलाई प्रस्ताव पुनः लेखनका लागि पठाइएको उनले बताए ।

तर, उनीहरूमध्ये कसैले पनि प्रस्ताव पुनःलेखन गरी नआएपछि मन्त्रालयले दोस्रो पटकको सूचना जारी गर्‍यो । उक्त सूचना अनुसार, प्रदेशभरबाट १ सय २ वटा प्रस्ताव प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

ती प्रस्तावलाई समितिले अध्ययन गरी उपयुक्त लागेका प्रस्तावमा आवश्यक सुधार गरी थप अध्ययनका लागि विज्ञ समक्ष पठाएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

विज्ञबाट थप सुधार गरी प्राप्त भएका ५ वटा प्रस्तावलाई अनुसन्धानका लागि मन्त्रालयले स्वीकृति दिएअनुसार आवश्यक बजेटसहित अनुमति प्रदान गरेको महाशाखा प्रमुख गोपाल कँडेलले बताए ।

प्रचारका लागि वडा–वडामा पत्र

युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रममा युवा वैज्ञानिकहरूको सहभागिता बढाउनका लागि मन्त्रालयले प्रदेशभरका सबै पालिका र वडाहरूमा पत्र पठाउने तयारी गरेको छ ।

मन्त्रालयले सो कार्यक्रममा युवा वैज्ञानिकको सहभागिता कम देखिएको र त्यसलाई बढाउनका लागि प्रदेशका १३ जिल्लाका सबै वडामा प्रचार प्रसारका लागि पत्र पठाउने तयारी थालेको मन्त्रालयका सचिव यज्ञप्रसाद ढुंगेलले बताए ।

उनका अनुसार मन्त्रालयले प्रदेशका ११९ वटा स्थानीय तहहरूका सबै वडाहरूमा आवश्यक समन्वय तथा सहकार्य र प्रचारप्रसारका लागि पत्र पठाउने तयारी गरेको हो ।

‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रमको प्रचार प्रसारका लागि प्रदेशका सबै पालिका र वडाहरूमा पत्र पठाउने निर्णय भइसकेको छ । अबको केही दिनभित्र सबै ठाउँमा पत्र पठाउँछौँ,’ उनले भने ।

प्रचार प्रसार बढाएर उक्त कार्यक्रममा युवा वैज्ञानिकहरूको उत्साहजनक उपस्थिति रहने मन्त्रालयको विश्वास छ । युवा वैज्ञानिकहरूलाई प्रोत्साहन गरी खोज तथा अनुसन्धान कार्यमा उत्प्रेरणा प्रदान गर्ने मन्त्रालयको उद्देश्य रहेको सचिव ढुंगेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप