बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धानखेतीमा गवारो रोगको प्रकोप

आइतबार, १७ साउन २०७८, १२ : १८
आइतबार, १७ साउन २०७८

कैलालीका किसानले लगाएका धानखेतीमा गवारो रोगको प्रकोप देखिएको छ । गवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का  सन्दिप चौधरीको दुई बिघा क्षेत्रफलमा रहेका धानखेतीमा गवारोेको समस्या देखिएको छ । 

उनको खेतमा धानका गुभो मर्दै गएपछि उनी चिन्तित भएका छन् । किराले पुरै खेतको धानको गुभो मर्दै गएको टीकापुर वनगाउँका किसान बुद्धिराम चौधरीले बताए । “दुई हेक्टर क्षेत्रफलमा किराको प्रकोप देखापरेको छ”, उनले भने, “प्राविधिकसँग सल्लाह लिएर आए । यति मेहनत गरेर लगाएको खेतमा यसरी रोग फैलिए उत्पादन बढी लिन सकिँदैन । यो रोगले धानको बोट नै नोक्सान गर्छ ।”

गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव किरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठूलो क्षति पु¥याउने गरेको किसानको गुनासो छ । 

किराको प्रकोप तीव्ररुपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेका किसान वीरबहादुर चौधरीले जानकारी दिए । “ किराको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, यसरी बोट नै मरेमा उत्पादन लिनसक्ने कुरै हुँदैन”, उनले भने, “अब खेती गर्न धेरै मेहनत गर्नुपर्छ । धेरै दिनपछि सिँचाइ गरौँ भनी खेतमा छिर्दा धानका बोट किराले काटेर सखाप पारेको रहेछ ।”

धानमा पहेंलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रंगको ट्टट्ट गरी छ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवा÷बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सुक्ष्म तत्वको कमीले किराको सङ्क्रमण सहजै फैलने गरेको टीकापुर नगरपालिका कृषि शाखाका प्राविधिक केशव भट्टले जानकारी दिए ।

“गवारो किराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन् । यसका लागि रासायनिक विषादीको प्रयोग तथा सुक्ष्म तत्वको प्रयोग गर्नुपर्छ”, उनले भने, “धान खेतमा  किराको प्रकोपले वर्षेनी धान उत्पादनमा कमी हुने गर्छ । त्यसैले किसानले ध्यान दिन जरुरी छ ।”

कैलाली धानखेतीमा आत्मनिर्भर जिल्ला हो । जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीका अनुसार कैलालीमा ७७ हजार १०८ हेक्टर जमिनमा धानखेती गरिन्छ । तीन लाख २३ हजार ५०० हेक्टर जमिन रहेको जिल्लामा ८९ हजार ९३५ हेक्टर खेतीयोग्य जमिन छ । “धानखेतीका लागि कैलाली उर्वर भूमिका रूपमा रहेको छ । 

वर्षेनी जग्गा प्लटिङ, घर निर्माणजस्ता कार्यले खेतीयोग्य जमिन घट्दै गएको छ”, उनी भन्छन्, “अर्कोतर्फ विभिन्न रोग तथा प्रकोपको समयमा उपचार गरिएन भने उत्पादन बढी लिन सकिँदैन । त्यसैले किसानले मलखाद, आवश्यक सुक्ष्म तत्व र सिँचाइमा ध्यान दिन आवश्यक हुन्छ ।”

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप