को सङ्क्रमित हुँदैछन् ?
केही दिनको मौनतालाई तोड्दै पछिल्लो केही दिनयता फेरि विभिन्न विद्युतीय मध्यमहरूमार्फत सङ्क्रमितहरूले परामर्श लिने क्रम बढ्दो छ । यस भेरियन्टबारे तीन कुरामा मेरो विशेष चासो रहँदै आइरहेको छ । पहिले कहिल्यै सङ्क्रमित हुनुभएको थियो ? भ्याक्सिन लगाउनु भयो ? र सिटी भ्यालु के छ ? यी प्रश्नको जवाफमा डेल्टा भेरियन्टबारे थप जानकारीहरू आउने छन्, जुन नागरिक तथा नीति निर्माताहरूलाई सहयोगी हुनेछन् । नेपालमा डेल्टा भेरियन्टले दोस्रो लहरपछि हालसम्म निरन्तरता पाइरहेको छ ।
दोस्रो लहर अगाडिसम्म ‘ज्येष्ठ नागरिक तथा दीर्घ रोगी’हरूलाई कोरोनाको उच्च जोखिम हुन्छ भन्ने गरिन्थ्यो । तर दोस्रो लहरले यो अनुभवलाई उल्ट्याउँदै युवा तथा दीर्घ रोग नभएकाहरूलाई जटिल अवस्थामा पु¥याउने तथा मृत्युसमेत गरायो । यी दुई लहरहरूलाई समग्रमा विश्लेषण गर्दा उमेर तथा स्वास्थ्य अवस्थाको आधारमा मात्र कोरोना जटिलताको अनुमान गर्न सकिने छैन । तसर्थ लेखकले नयाँ सङ्क्रमितसँग गर्ने विश्लेषणात्मक संवादबाट जोखिमसम्बन्धी जानकारीहरू थाहा पाउने प्रयास गर्दै आइरहेको छ । परामर्शका क्रममा अधिकांश कोरोना बिरामीहरू योभन्दा अगाडि कहिल्यै सङ्क्रमित नभएका भनिएका थिए अर्थात् पहिले सङ्क्रमित नभएका जो कोही आगामी दिनहरूमा डेल्टा भेरियन्टको उच्च जोखिममा हुनेछन् । केही दिन अगाडि एक ३२ वर्षीय कोरोना सङ्क्रमित युवालाई अचानक सास फेर्नमा कठिनाइ भयो । उनलाई निरन्तर ज्वरोका कारणले जटिल अवस्था भएपछि सघन कक्षमा उपचारका लागि आइपुगेका थिए । सो बिरामी योभन्दा अगाडि सङ्क्रमित कहिल्यै नभएको र भ्याक्सिन पनि नलगाएको थाहा भयो ।
नयाँ बिरामीहरूमध्येमा केही पहिलो लहरमा सङ्क्रमित भइसकेकाहरू पनि छन् । अनुसन्धानहरूले कोरोना सङ्क्रमित भए सामान्यतय अधिकांशको शरीरमा तीनदेखि छ महिनासम्म एन्टिबडी रहन्छ भन्ने देखाएका छन् । यद्यपि केहीमा भने यो समयअवधि अलि छोटो वा कसैमा अलि बढी पनि देखिन सक्छ । पहिलो लहरमा केही हदसम्म कन्ट्याक्ट ट्रेसिङ हुने गर्दथ्यो । धेरैले कन्ट्याक्ट ट्रेसिङमा पर्दा सङ्क्रमित भएको थाहा पाएका थिए अर्थात् उनीहरू लक्षणविहीन थिए । नेपालमा पहिलो लकडाउनभन्दा अगाडिसम्म उनान्सय प्रतिशत सङ्क्रमितहरू लक्षणविहीन हुने गरेका तथ्याङ्कले देखाउँछ । दुई महिनाअगाडि नेचर जर्नलमा प्रकाशित अनुसन्धान लेखले लक्षणविहीन सङ्क्रमितहरूमा एन्टिबडी लगभग उनान्सत्तरी दिनसम्म अर्थात् साढे दुई महिनासम्म रहने भन्ने देखाएको थियो । सरल भाषामा भन्नुपर्दा दोस्रो लहरभन्दा अगाडि लक्षणविहीन सङ्क्रमित भएकाहरू (विशेषतः कन्ट्याक्ट ट्रेसिङ गर्दा थाहा भएकाहरू) कोरोना भाइरसको उच्च जोखिममा रहेका छन् भन्न खोजिएको हो । पहिलो लहरमा लक्षणविहीन सङ्क्रमित भएकाहरूले हाल सङ्क्रमण हुँदा स्वास्थ्यमा समस्याहरू देखिएको भन्ने गरेका छन् ।
हाल उपलब्ध भ्याक्सिनहरू सङ्क्रमणबाट हुन सक्ने जटिल अवस्था वा मृत्युलाई रोक्न लक्षित छन् । तर पूर्ण दुई मात्राको डोज लगाएकाहरूमा सङ्क्रमण भने हुनसक्छ । यसलाई ‘ब्रेक थ्रु केस/इन्फेक्सन’ भन्ने गरिन्छ । लेखकसँग ‘ब्रेक थ्रु इन्फेक्सन’ भएकाहरूसँग दैनिकजसो सम्पर्क हुनेगर्छ । उनीहरूमा अनुमान गरेअनुसार नै खासै कडा लक्षणहरू देखिने गरेका छैनन् । तर आश्चर्य अनि चाखलाग्दो कुरा के छ भने परीक्षणको नतिजामा सिटी भ्यालुको स्तर कम अर्थात् भाइरल लोड बढी हुने गरेको देखिन्छ । यही सिटी भ्यालु देखेर दुई मात्रा डोज लगाइसकेकाहरूले आत्तिएर परामर्श लिने गरेका छन् । भाइरल लोड धेरै भए सङ्क्रमण कडा वा अरूलाई सहजै सार्न सक्ने सम्भावना बढी हुने गर्दछ । हालै अमेरिकाको सीडीसीले प्रकाशित गरेको अनुसन्धान लेखमा पनि पूर्ण खोप लगाएकाहरू सङ्क्रमित हुँदा सिटी भ्यालु कम अर्थात् भाइरल लोड बढी देखिएको भनिएको छ । यी दुई फरक देशका पूर्ण खोप लगाएका सङ्क्रमितमा देखिएको समान सिटी भ्यालुसँगै अर्काे समानता भनेको कोरोनाको डेल्टा भेरियन्टको चक्र देखिनु पनि हो । सङ्क्रमितमा (खोप लगाएका र नलगाएका दुवैमा) डेल्टा भेरियन्टको भाइरल लोड बढी हुने तथा जनास्वस्थ्यका मापदण्ड व्यवहारमा अवलम्बन गर्न नसक्दा समुदायमा तीव्र फैलावट भइरहेको अनुमान गर्न सकिन्छ । हाल अमेरिकामा पूर्ण खोप लगाएकाहरूलाई जनास्वस्थ्यका मापदण्ड खुकुलो बनाउँदा डेल्टा भेरियन्टले व्यापकता पाएको विश्वास गरिएको छ । नेपालमा पनि कतिपय खोप लगाएकाहरूले जनास्वस्थ्यका मापदण्डहरूलाई बेवास्ता गर्दै आइरहेका देखिन्छन् । यसले सङ्क्रमित हुन बाँकी रहेका वा खोपको पर्खाइमा बसेकाहरू खोप लगाएकाहरूबाट नै सङ्क्रमणको जोखिम हुने देखिन्छ ।
सारांशमा, दोस्रो लहरमा सङ्क्रमित भइसकेकाहरू अहिले, यही स्थान तथा सोही भेरियन्टले पुनः सङ्क्रमण गरी जटिल अवस्था सिर्जना हुने सम्भावना नभए पनि जो कोही तर हालसम्म सङ्क्रमित नभएका र सुरक्षित रहेको भनिएका वा लक्षणविहीन र लक्षणसहित सङ्क्रमित भएको अन्तराल लामो भइसकेकाहरू आगामी दिनमा कोरोनाको उच्च जोखिममा रहने छन् । डेल्टा भेरियन्टलाई अघिल्लो भेरियन्टभन्दा घातक तथा तीव्र गतिमा फैलने मानिएको छ तर खोपले यो भेरियन्टविरुद्ध राम्रो प्रतिरक्षा गरेको दोस्रो लहरको अनुभवबाट देखिएकाले खोप लगाई सम्भावित जटिल स्वास्थ समस्याबाट आफू, आफ्नो परिवार तथा समुदायलाई सुरक्षित राखौँ ।
लेखक शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिरासतमा रविको फोटो खिच्ने निकोलस भुसाल पक्राउदेखि ‘भ्रष्टाचारविरोधी अभियन्ता’लाई सहकारी ठगीमा हत्कडीसम्म
-
प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो खिचेर भाइरल बनाउने निकोलस काठमाडौंबाट पक्राउ
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी