युवक बेपत्ता प्रकरण : भारतले भन्यो- ‘एसएसबीले तुइन काटेको हल्ला गलत’

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ । शनिवार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता अस्वीकार गरेका हुन् ।
मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको डोरी काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । तर, आनन्द स्वरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा भनिएको छ– ‘एसएसबीले तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत छ ।’
दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भारत पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको पुष्टि गरिन् । जोशीले रातोपाटीसँग भनिन्– ‘जवाफ आएको छ, पिथौरागढका जिल्ला अधिकारीले हिजोको घटना सम्बन्धमा एसएसबीको टोली घटनास्थल पुग्नुभन्दा अघि नै दुर्घटना भएको जानकारी गराउनुभएको छ ।’
भारतले यसअघि पनि अनधिकृत तुइन हटाउँदै आएको जानकारी गराउँदै शुक्रवार करिब ३० मिटर तलबाट मानिस कराएको आवाज सुनेपछि पट्रोलिङमा जाँदा मानिस नदीमा खसेको थाहा पाएको दाबी गरेको छ । भारत पक्षले पनि नदीमा बेपत्ता युवा खोज्न टिम गठन गरेको नेपाल पक्षलाई जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
एक महिनादेखि थुप्रियो बिष्णुमती किनारमा फोहोर (तस्बिरहरु)
-
हरित अर्थतन्त्रमा नेपाल रोल मोडल देश बन्नसक्छ : जलवायु वित्त विज्ञ क्षेत्री
-
माओवादीको मध्यपहाडी अभियानको खाका तयार : यस्तो छ कार्यतालिका
-
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ