शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिगमनकारीलाई शीरमा राखेर एउटै पार्टीमा बस्न सक्दैनौँ : रामकुमारी झाँक्री

शनिबार, १६ साउन २०७८, १८ : ५१
शनिबार, १६ साउन २०७८

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकारी रहेको बताउँदै उनलाई शीरमा राखेर एउटै पार्टीमा बस्न नसकिने बताएकी छिन् । शनिवार एमाले माधव नेपाल समूहको अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै झाँक्रीले पार्टीमा दुई नेताको जुङ्गाको लडाई मात्र नभई गम्भीर राजनीतिक विचलन भएको बताइन् । झाँक्रीले २ तिहाई बहुमत भएको पार्टी आज सदनमा जाँदा ८३ जनामात्र उपस्थित हुने वातावरण कसरी बन्यो ? निर्विकल्प रुपमा उदय भएको कम्युनिष्ट पार्टीको विघटन किन भयो ? यसको जवाफ नखोजी पार्टी एकताका लागि वार्तामा गएका पात्रहरूको गाला जोडाएर मात्र पार्टी एकता नहुने बताइन् । 

उनले भनिन्– ‘आज कतिजना वार्ता गर्दैछन् यो महत्वपूर्ण हैन । आज कुन एजेण्डामा कसले कुरा गर्दैछ यो महत्वपूर्ण हो । कुन दर्जाका व्यक्तिले वार्ता गर्दैछन् सवाल यो महत्वपूर्ण हैन, आज सैद्धान्तिक, नैतिक, वैचारिक हिसावले को खडा भएको छ त्यो महत्वपूर्ण हो ।’

पूर्वप्रधानमन्त्री ओलीलाई उनको आफ्नै स्वेच्छाचारिक र अलोकतान्त्रिक क्रियाकलापका कारण बालुवाटारबाट बाल्कोटको बार्दलीमा पुर्याएको नेतृ झाँक्रीले बताइन् ।  उनले एमाले वार्ता टोलीमा रहेका सदस्यहरूप्रति आक्रोसित हुँदै भनिन्– ‘वार्ता समितिमा रहेका साथीहरुले आज मिलाउने, भोलि मिलाइदिने, टुङ्ग्याइदिने भन्दै हुनुहुन्छ । ४ बुँदे र १० बुँदेका थुप्रै प्रस्तावहरू हामीले मिडियामा देखिरहेका छौँ । यी थुप्रै कुरा र पावर सेयरिङका कुराहरु भन्दा अगाडि कम्युनिष्ट आन्दोलनको विसर्जन कसले गर्यो ? यो विषयको सैद्धान्तिक प्रश्नमा हामी एकै ठाउँ उभिनु पर्छ कि पर्दैन । आज हामी पार्टी एकता त गरौंला केपी कमरेडको अध्यक्षतामा बसेको बैठकको सदस्य भइरहँदा यो कम्युनिष्ट आन्दोलन धरासायी पार्ने प्रमुख व्यक्ति तपाई हो भन्दै गर्दा उनले आफू आत्मआलोचित भएर  पार्टीको अध्यक्षबाट राजीनामा दिने चेष्टा गर्नुहुन्छ कि गर्नुहुन्न ? यदि उहाँले राजीनामा दिनु हुन्न भने उहाँले गरेका कुरालाई स्वीकार गरेर हामी उहाँको सदस्य बन्छौँ कि बन्दैनौँ ?’

उनले पुस र जेठमा २ पटक संसद भंग गरेको घटनालाई प्रतिगमन भनिरहेको बताउँदै उनीहरुले प्रतिगमन गरेको कि जनादेश पाउन  गएको भन्दै प्रश्न गरिन् । उनले एउटै पार्टीमा हुने हो भने संसद विघटनप्रतिको धारणा एउटै हुनुपर्छ कि पर्दैन   भन्दै प्रश्न गरिन् । उनले भनिन्– ‘संसद विघटनको कार्य प्रतिगमन हो भने प्रतिगमनकारीलाई शीरमा राखेर हामी त्यही पार्टीमा बस्न सक्छौं कि सक्दैनौँ ? यदि यो प्रतिगमन हैन भने यो प्रतिगमन हो भनेर हामी संसदमा विद्रोह गरेर अदालतसम्म पुग्नेहरू त्यो पार्टीको सदस्य हुन्छौँ कि हुँदैनौँ । यो कुनचाँही स्वार्थका लागि फलाना चिलाना कमरेडहरु त्यता लाग्नुभयो भने पार्टी एकता हुने भन्ने विश्लेषण आयो ? कसको कारणले उहाँहरुको अवस्था बदलियो ? जसका कारणले उहाँहरुलाई हामीलाई गलत सावित गर्दै हुनुहुन्छ, उहाँहरु राजनीतिबाट पछि हट्दै हुनुहुन्छ ? यसको जवाफ दिनुपर्दैन ?’

उनले यस्ता प्रश्नहरुको जवाफ १० बुँदे पनि नदिने र पार्टीमा दुईटा अध्यक्ष बनाएर पनि नदिने उल्लेख गरिन् । उनले पार्टीमा दुई नेताबीच जुङ्गाको लडाई नभएर गम्भीर राजनीतिक विचलन भएको बताइन् । उनले ओलीले देशद्रोह गरेको, राष्ट्रघात गरेको र बिचौलियालाई पोस्ने काम गरेको उल्लेख गरिन् । उनले पछ्यौराले छोपिएका बिरालाहरु एकपछि अर्को गर्दै म्याँउ गर्न लागेको बताउँदै उनले प्रणाली, संविधान र व्यवस्थाका पक्षमा उभिँदा यो ठाउँमा आइपुगेको उल्लेख गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप