बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांसद पद गुमाएका लुम्बिनीका तीन मन्त्री सर्वोच्च अदालत जाने

शनिबार, १६ साउन २०७८, २१ : ००
शनिबार, १६ साउन २०७८

सांसद पद खारेज भएका लुम्बिनी प्रदेशका तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् । लुम्बिनी प्रदेशसभाले शुक्रबार सांसद पद खारेज गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेय आफ्नो पद यथावत हुनुपर्ने जिकिर गर्दै सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन् ।

शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई कारवाहीका लागि प्रदेशसभामा सिफारिस गरेको थियो । सोही आधारमा शुक्रबार प्रदेश सभाले तीनै जनाको पद खारेज भएको सूचना प्रकाशित गरेको थियो ।

मन्त्री सन्तोष पाण्डेयले यसअघि गरिएको कारबाहीको मुद्धा सर्वोच्चमा विचाराधीन रहँदारहँदै फेरि प्रदेशसभाले पद खारेज भएको भन्दै सूचना निकाल्नु कानुनविपरीत भएको भन्दै आफुहरु सर्वोच्च जाने तयारीमा रहेको बताए । उनले भने, ‘विचाराधीन मुद्धामा उपेन्द्र र सभामुखलाई पनि विपक्षी बनाइएको छ । त्यही विपक्षीले  फेरि पद खारेज गरेको कसरी मान्य हुन्छ । त्यसैले हामी सर्वोच्च जानको लागि बाटोमा छौ ।’

उनले अन्तिम फैसला नआउन्जेल गरिएको कारवाही अवैधानिक रहने भएकाले सांसद पद थमौतीका लागि अदालत जान लागिएको बताए । यसअघि बैशाख १६ गते सुमन शर्मासहित चार सांसदलाई पद मुक्त गरिदिएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उनीहरुको पद थमौती गरिदिएको थियो । सोही मुद्दामा उनीहरुलाई सर्वोच्च अदालतले भदौ १७ गतेको बोलाएको छ ।

तर, अन्तिम फैसला आउनुअघि नै पाटीले तीन सांसदलाई कारवाही गरेको छ । मन्त्री पाण्डेयले सभामुखले सत्ता टिकाउनका लागि विचाराधीन मुद्दा छँदाछँदै अर्को निर्णय गरेर अदालतको मान हानी गरेको बताए । उनले प्रदेशसभा सचिवालय, पार्टीको केन्द्रीय कमिटी तथा प्रदेश निर्वाचन आयोगलाई विपक्षी बनाई संयुक्त रुपमा रिट दायर गर्न लागिएको बताए । लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये ४ जना सरकार र ३ जना विपक्षी गठबन्धनतिर लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप