शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुरानै धारमा फर्काइयो मर्स्याङ्दी

शनिबार, १६ साउन २०७८, १२ : ३८
शनिबार, १६ साउन २०७८

मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो ।  नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिना दिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो ।

जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा लामो प्रयासपछि बिहीबार मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएको सशस्त्र प्रहरी बल मनाङका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । उनले भने, “महिनौं दिनपछि आज मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएका छौँ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र विभिन्न सुरक्षा निकायको निरन्तरको प्रयास पश्चात् नदीलाई पुरानै धारमा फर्कायौँ ।”

अहिले नदी पुरानै बाटो हुँदै बगेको छ । नदीको बहावका कारण जोखिममा रहेका बस्तीको खतरा तत्कालका लागि हटेको स्थानीयले बताएका छन् । उता मर्स्याङ्दीमा आएको बाढीले चामे बजारमा रहेको एकमात्र झोलुङ्गे पुल पनि बगाएपछि समस्या थपिएको छ । 

यही साउन ५ गते राति आएको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुङ्गे पुल बगाएको छ । माथिल्लो मनाङ जाने बेलिब्रिज जोखिममा परेपछि स्थानीय उक्त पुलबाट आवातजावत गर्दथे । झोलुङ्गे पुल पनि बगाएपछि स्थानीयलाई वारपार गर्नसमेत अहिले समस्या भएको छ । 

असार १ को बाढीले मनाङमा सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा बढेसँगै  सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक पन्थीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप