पुस्तक

हिसिलाको पुस्तकमा माओवादीको चरित्र चित्रण

‘विद्रोहीदेखि प्रथम महिलासम्म’ पुस्तकको चर्चा

person explore access_timeसाउन १६, २०७८ chat_bubble_outline0

 

नेपालको राजनीतिक परिदृश्यको एक सुपरिचित नाम हिसिला, विज्ञताले एक आर्किटेक्ट र विद्यार्थी कालदेखि हाल साठीको दशकमा उक्लँदै गर्दा राजनीतिमा निरन्तर सक्रिय व्यक्तित्व हो । हालै पेन्गुइन बुक्सद्वारा प्रकाशित पुस्तक, ‘हिसिला विद्रोहीदेखि प्रथम महिलासम्म’ चर्चामा छ ।

१० वर्षे उमेरबाट काठमाडौँ छोडी भारतमा अध्ययन गरेकी निजले स्नातक स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्ट नयाँ दिल्लीबाट पूरा गरिन् । भारतमा छँदै बाबुराम भट्टराईसँग प्रेम विवाह गरेकी उनकोे स्नातकोत्तरको अध्ययन एक छोरी मानुषीको जन्मपछि न्युक्साल युनिभर्सिटी यूकेबाट २०५०/०५१ मा सम्पन्न गरिन् ।

भारतमा आर्किटेक्ट इन्जिनियरिङ अध्ययनकै क्रममा बाबुराम भट्टराईलगायत अन्य नेपाली विद्यार्थीको सङ्गतले अखिल भारत नेपाली विद्यार्थी सङ्घको माध्ययमबाट नेपालको राजनीतिमा कदम उठाएकी उनी नेपाल फर्किएपछि पनि विविध राजनीतिक र सामाजिक सङ्घ संस्थामा निरन्तर आबद्ध रहिन् ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा १३ वर्षसम्म अध्यापन, राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग जोडिँदै सामाजिक कार्यमा पनि उत्तिकै पहलकदमी बढाएकी यी लेखिकाको राजनीति नै हालसम्मको मुख्य दिनचर्या बन्यो ।

२०५२ साल फाल्गुण १ गतेबाट सुरु भएको नेपालको १० वर्षे जनयुद्धमा अनायसै सुरुका दिनबाटै जोडिन पुगेकी हिसिला नेपाल कम्युनिस्ट पार्टीको पोलिट ब्युरो सदस्य, महिला विभाग प्रमुख र अन्तर्राष्ट्रिय विभागकी सदस्य बनी पार्टी काममा डा. बाबुराम भट्टराईसँगै तल्लीन रहिन् ।

१० वर्षे जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै बृहत् शान्ति सम्झौतापश्चात खुला राजनीतिमा उनले गरेको योगदान अतुलनीय छ । दुई पटकसम्म संविधान सभा सांसद रहेकी लेखिकाले, क्रमशः २०६४ मा अन्तरिम सरकारको भौतिक योजना तथा निर्माण मन्त्री, २०६५ मा काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट संविधान सभा सदस्यमा निर्वाचित भएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्री र २०६८ सालमा भूमिसुधार तथा व्यवस्थापन मन्त्री बन्ने अवसर प्राप्त गरिन् ।

भूमिगत अवस्थामा धेरैखाले उतारचढाव बेहोरेकी उनी नेपालको संविधान निर्माणको लगत्तै तीसौं वर्ष सँगै रहेको नेकपा (माओवादी) पार्टी परित्याग गरी २०७२ सालमा वैकल्पिक राजनीतिक धार वहन गरेको ‘नयाँ शक्ति पार्टी’ नेपालमा सामेल भइन् ।

हाल हिसिला जनता समाजवादी पार्टी नेपालको कार्यकारी समिति सदस्य हुन् । ६१ वर्षीय लेखिकाले ३६८ पृष्ठ लामो यो अङ्ग्रेजी आत्मवृत्तान्तमा आफ्नो बाल्यकालदेखि हालसम्ममा मीठा तीता भोगाइ, अनुभव, आरोह, अवरोह, सुख, दुःख सम्पूर्ण पाटा र पक्षहरूलाई एक एक गरी केलाएकी छन् ।

एक राजनीतिज्ञको राजनीतिक विश्लेषण मात्र नभई हिसिलालाई एक महिलावादी शीर्ष राजनीतिज्ञ, योद्धा, प्रख्यात राजनीतिज्ञकी श्रीमती, आमा, छोरी, बुहारीका रूपमा यो पुस्तकले चित्रण गरेको छ ।

बहुआयामिक भूमिकामा देखिएकी हिसिला सम्भ्रान्त नेवार परिवारकी सातजना छोराछोरीमध्येकी कान्छी छोरी, दस वर्षमा आमाको निधन भोगेकी बाबुले सौतेनी आमा बिहे गरेपश्चात दिदीहरूले भारतमा लगी अध्ययनको माहोल मिलाइएकी, पढाइ साथै खेलकुदमा अब्बल, पहाडिया मध्यम ब्राह्ण परिवारको छोरासँग प्रेममा परी विवाह बन्धनमा बाँधिएकी, एक छोरीकी आमा, १० वर्षे छोरीलाई छोडेर जनयुद्धमा श्रीमानसँगै भूमिगत माओवादी हुँदै खुला राजनीतिमा सक्रिय नेतृृ, मन्त्री आदि उपनामकी मूल पात्र हुन् ।

तीन भागमा र ३८ विविध शीर्षकमा छुट्याइएको यो पुस्तकको पहिलो भागमा लेखिकाको बाल्यकाल र त्यो बेलादेखि नै उनको नेतृत्वदायी भूमिका उल्लेखित छ ।

अल्लारे उमेरमा उद्देश्यबिना पनि जीवन सहजै स्वतन्त्र ढङ्गले अघि बढ्छ भन्ने मान्यता राखेकी हिसिला अहिले आफ्नो बचपना गैह्रराजनीतिक भनाइप्रति अनौठो मान्छिन् । जीवनको लक्ष्य पनि समाज लक्षित हुँदै गयो ।

भारतमा अध्ययन गर्दा विशेषतः बाबुराम भट्टराई, अन्य नेपाली विद्यार्थीको सङ्गतले समाज र दुनियातिर हेर्ने चिन्तनले जीवनलाई राजनीतिमा मोडेको ठान्छिन् साथै आफ्नो राजनीतिक गुरु बाबुराम भट्टराईसँग बिहे गरेकी हिसिला यदि राजनीतिक, लैङ्गिक, सांस्कृतिक, वैचारिक जस्ता हरेक यात्रामा बाबुरामको सह–अस्तित्वले साथ नदिएको भए आफू आजकी हिसिला हुन सम्भव थिएन भन्नेमा स्पष्ट छिन् ।

आफ्ना पिता, धर्मरत्न यमी नेपालको राजनीतिको नामुद व्यक्तित्व भए पनि सुरुवाती दिनमा राजनीतिभन्दा उनमा लैङ्गिक सजगता बढी थियो । सातजना सन्तानमा सबै दिदीबहिनीहरूले सरकारी विद्यालय पढेको र बुबाको सम्पूर्ण पैतृक सम्पत्ति एकल दाजुको नाममा रहेकाले यो किन भन्ने मनोगत सवालले उनमा लैङ्गिक सजगता देखाउँछ ।

त्यसो त धेरैले हिसिलालाई भाग्यमानी महिला भने पनि यस आत्मवृत्तान्तमा जीवनका धेरै उतार चढाव, भोगाइ र असन्तुष्टि पनि सँगसँगै उल्लेख गरेकी छन् । बाहिरबाट असाध्यै सौहार्द लाग्ने यिनको जीवनमा झण्डै एकपल्ट बाबुरामसँग पारपाचुके गर्नेसम्मको सोचको व्याख्या छ ।

पुस्तकको दोस्रो भागमा जनयुद्धबारे बृहत् चर्चा गरिएको छ । छोटो समयको तयारीमा लेखिकाले आफ्ना सबै पारिवारिक, प्रध्यापन पेसा र इष्टमित्रलाई छोडेर भूमिगत जीवनमा हेलिएको जीवनको ऊर्जावान समय सन्दर्भ उल्लेख गरिएको छ ।

पूर्णकालीन माओवादी बन्दा क–कस्ता मान्यताको सामना गरियो, नेताहरूसँगको सम्बन्ध, छलफल, व्यवहार, पार्टीमा दुई लाइन सङ्घर्ष, एक्काइसौँ शताब्दीको लोकतान्त्रिक विकासको रूपरेखा, भारतसँगको जनयुद्धकालको सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, रोल्पामा आधार इलाका, जनयुद्धभित्रका लैङ्गिक सवाल, पार्टीभित्र प्रेम, विवाह र बच्चाहरू, सांस्कृतिक समूह साथै नैतिकताको बहस, बलत्कार, दलित मुद्दा, राष्ट्रियता साथै पार्टीमा गणतन्त्रको मुद्दामाथि विजयका सवालहरू प्रमुख छन् ।

आकाशमा स्वतन्त्ररूपमा उड्ने चराजस्तो जीवन जिएको व्यक्ति कसरी भूमिगत पार्टीको पूर्णकालीन कार्यकर्ता बनिन् र कसरी जनयुद्ध भोगिन् भन्ने सवाल धेरै रोचक र विवेचनात्मक शैलीमा पस्किएकी छन् ।

जनयुद्धले देशको मात्र हैन उनको आफ्नै जीवनमा पनि कायापलट ग¥यो भन्ने उनको ठम्याइ छ । नेतृत्वको केन्द्रीकरणले कसरी पार्टीमा अन्तरसङ्घर्ष निम्त्यायो र जनयुद्धभित्रको अर्को युद्धले कति हदसम्म मर्माहत ग¥यो भन्ने विश्लेषण झनै मार्मिक छ ।

भौतिकरूपमा अरूले जस्तो लेखिकाले त्यति विधि चोट खप्न नपरे पनि, जनयुद्धमा दुई लाइनको सङ्घर्षमा पार्टीभित्रै खप्नुपरेको अपहेलना, भेदभाव र पदबाट घटुवा, आफूलाई सिध्याउनेसम्मको प्रयत्न आदि क्षणको सामना गर्दाको अनुभूति ज्यादै पीडादायी छ । पार्टीमा निहितपितृसत्तात्मक पुरुषवादी चिन्तनमाथि खरो प्रहार छ ।

पार्टी हेडक्वाटरमा प्रचण्ड, किरण, बाबुराम, बादल र दिवाकरसँग निरन्तर काम गर्ने मेसो मिलेकोले र को नेता, कस्ता भन्ने खरो टिप्पणी गरिएको छ । प्रचण्ड छिटो निर्णय गर्न सक्ने नेता तर शक्तिको भोको साथै अवसरवादी नेता भएको उनको ठहर छ ।

मोहन वैद्य बढी आदर्शवादी, शास्त्रीय मार्क्सवादी र चुनौती सामना गर्न नसक्ने नेतामा दर्ज भएका छन् भने बादल पार्टीको आन्तरिक सङ्घर्षमा राजनीतिक अडान राख्न नसक्ने नेता भएको र शास्त्रीय अवधारणाप्रति उन्मुख व्यक्ति भनेकी छन् ।

सङ्गत गरेका नेतामध्ये दिवाकर शालीन, भद्र र आदर्श कम्युनिस्ट भएको स्पष्टोक्ति छ । पम्फाको विचार किरणसँग मिल्ने र जनयुद्धभर उनी कहिल्यै पार्टी मूलधारमा समाहित हुन नसकेको आलोचना गर्छिन् । लेखिका स्व–विश्लेषणको सवालमा आफू बाबुरामभन्दा बेसी बुर्जुवा, स्वविचार स्वतन्त्र ढङ्गले राख्ने भन्ने छ भने उनीप्रति धेरैजसो नेताहरूको बुझाइ, आधुनिक, स्मार्ट तर अराजक र बाबुरामलाई बिगार्ने भूमिका खेलेको भन्ने रह्यो ।

लेखिकाको भारतको भूमिगत बसाइ रोचक घटनाहरूले समेटिएको छ । जनयुद्धमा धेरैजसो समय भारतमा बसी अन्तर्राष्ट्रिय विभाग र नेतृत्वको व्यवस्थापकीय जिम्मा लिनु उनलाई सहज थिएन । सामान्य गृहिणीले जस्तै टीका, चुरा, सारी, चस्मा लगाएर आफ्नो पहिचान छिपाएकी उनी कतिपय अवस्थामा एक्लै कोठामा बसिन् ।

बाबुराम बेलाबेला भेट्न आउँदा घरधनीले रखौटी महिला हो भन्दा आफूले स्वीकारेको बताउँछिन् । दुई लाइन सङ्घर्ष चल्दै गर्दा बाबुराम हिसिला दुवैले भारतमा ‘मुन्ना भाइ एमबीबीएस’ फिल्म हेरेको र नक्कली डाक्टरले आफ्नो कलाले कसरी सर्वसाधारणलाई प्रभाव पार्न सक्छन् र सक्कली डाक्टरको विरोधमा छलकपट गर्छन् भन्ने व्यङ्ग्य आफ्नै पार्टीमा पनि मेल खाएको उल्लेख गरेकी छन् ।

२०६१ सालमा रोल्पाको फुल्टवाङको बैठकमा पार्टी केन्द्रका प्रत्येक सदस्यले भारतमा धरपकडमा परेका नेताहरूको सवाललाई लिएर बाबुराम माथि शङ्का गर्दै दक्षिणपन्थी साथै भारतीय विस्तारवादको पक्षपोषण गरेको आरोप सुन्दा सुन्दा हिसिला आफूलाई नियन्त्रण गर्न नसकी अनायासै आँसु खस्दा बैठक हल छोडेर बाहिर निस्केको वृत्तान्तले पाठकको मन च्वास्स हुनु स्वाभाविक हुनेछ र पार्टीको आन्तरिक सङ्घर्ष, वर्ग सङ्घर्षभन्दा बढी पेचिलो र पीडादायी हुने उल्लेख छ ।

सम्पूर्ण उमेर पार्टी र जनयुद्धमा खर्चेकी हिसिलाले आफूलाई २१औँ शताब्दीको राजनीतिक सती उपमा दिएकी छन् । पार्टीभित्र उनले पुँजीवादी, दक्षिणपन्थी र बुर्जुवा डिग्री हासिल गरेकी सहरीया धनाढ्य महिला भएको आरोप खेप्नुप¥यो । नेपाली भाषामा स्पष्टता नभएकी, तल्ला कार्यकर्ताको व्यावहारिक पक्ष नबुझ्ने, नजयुद्धमा छोरी मानुषीलाई सँगै नहिँडाएकी, बाबुरामकी श्रीमती आदि खाले टीका टिप्पणी गरिए ।

पुस्तकको अन्तिम खण्ड– नयाँ सुरुवात शीर्षकबाट थालिएको छ, जुन बढी पेचिलो र आलोचनात्मक छ । भूमिगत रजनीतिबाट पार्टी खुल्ला राजनीतिमा आउँदै गर्दा २०६२/२०६३ मा दोस्रो जनआन्दोलन भयो । जसमा मध्यम वर्गको साथ लिँदै माओवादी काठमाडौँ छिरेको प्रसङ्ग जोडिएको छ ।

अन्ततः जनयुद्धको जग र दोस्रो जन आन्दोलनले राजसंस्थाको अन्त्य र गणतन्त्रको उदय भयो । प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बने । दुईपटक संसद् सदस्य र तीनपटक मन्त्री पद ग्रहण गरेकी हिसिलाका शान्ति प्रक्रियापछिका पाँच वर्ष धेरै उर्वर रहे पनि पार्टीभित्रको पितृसत्तात्मक सोच र नजानिँदो दुई लाइन सङ्घर्ष, गुट, उपगुट यहाँ पनि कायमै रह्यो । त्यसो त प्रचण्डले आठ महिनामै प्रधानमन्त्री पदबाट राजीनामा दिने बाध्यात्मक परिस्थितिपछि क्रमशः उनको पतन भएको कुरा पुस्तकमा प्रस्ट्याइएको छ ।

पालुङटार विस्तारित बैठकले पार्टीभित्र बाबुरामको लाइन मजबुत हुँदै गर्दा धोवीघाटको अनौपचारिक बैठकले पहिलो चोटि प्रचण्ड पार्टीभित्र अल्पमतमा परेको, फलस्वरूप प्रचण्डको बाबुरामलाई प्रधानमन्त्री बन्न नदिने बखेडा अल्पमतमा प¥यो र अन्ततः बाबुराम सङ्घीय गणतान्त्रिक नेपालको चौथो प्रधानमन्त्री बनेको पुस्तकमा उल्लेख छ ।

अर्थमन्त्री बन्दा जनताको मन जित्न सफल उनले प्रम हुँदा पूर्ण बजेट ल्याउन आफ्नै पार्टीबाट पनि सहयोग पाएनन् । पार्टीभित्र र बाहिरबाट अनेक अवरोध सामना गर्दै काठमाडौँको बाटो विस्तार, लगानी बोर्डको स्थापना, हल्लो सरकार डेक्स सञ्चालन, भौतिक पूर्वाधार विकासका राष्ट्रिय गौरवका आयोजनाहरू विकास गरे तर बजेट अभावमा यी कार्य अधुरा रहे ।

बाबुरामको साख गिराउन उता प्रथम महिला हिसिलालाई पार्टीभित्र र बाहिर उपेक्षा गरियो । यस पुस्तकको सबैभन्दा मार्मिक र हृदयस्पर्शी पाठ्य सामग्री यही हो, जसमा लेखिकाले नसोचेका परिघटना उनीमाथि थोपरिए ।

पार्टीका महिलाहरूमध्ये सबैभन्दा उच्च शिक्षा हासिल गरेकी, जनयुद्धमा १० वर्ष भूमिगत जीवन भोगेकी, आर्थिक रूपमा अरूभन्दा राम्रो हैसियत भएकी यिनलाई बिनाप्रमाण कमिसनखोर र भ्रष्टाचारीको आरोप लाग्यो । ‘क्राइम टुडे’ पत्रिकाले दक्षिण एसियाकै भ्रष्ट महिलाको आरोप थोप¥यो । यहाँसम्म कि एकजना विकसित देशको महिला राजदूतले डा. भट्टराईलाई हिसिलासँग पारपाचुके गर्न दिएको सुझाव सुन्दा उनलाई अचम्मित तुल्यायो ।

त्यसो त त्यसबेलाका कतिपय आन्तरिक बैठकहरूमा उनलाई डा. भट्टराईले समेत बोल्न नदिने र दिए पनि अन्त्यमा दिने व्यवहारले उनी धेरै दुखित भएको र महिला राजनीतिज्ञप्रति पुरुषहरूको व्यवहार बुझ्ने अवसर मिलेको खुलासा गर्छिन् । हिलारी क्लिन्टनको पुस्तक पढेपछि कसरी विश्वमा प्रथम महिलाको सक्रिय सहभागितालाई दुत्कारिन्छ भन्ने सन्देश मिलेको उनको भनाइ छ । जीवन मरणको ठेगान नभएको जनयुद्धकालीन भूमिगत जीवन उनको बालुवाटारको बसाइभन्दा धेरै हदसम्म खुसी र उमङ्गमय थियो ।

डा. भट्टराई प्रम हु्ँदै आफूलाई समानान्तर सरकार चलाएको आरोप लाग्यो । पार्टीको आर्थिक कमिटीको सदस्यको नाताले अर्थ सङ्कलन गरेको तर भ्रष्टाचारको आरोपमा पार्टीले जिम्मेवारी नलिएको उनको दुखेसो छ । यसै प्रसङ्गमा उनले कम्युनिस्ट पार्टीले सत्ता चलाएको बेला स्तालिनद्वारा लेनिनको श्रीमतीलाई हीनताबोध गराएको कारण लेनिनको मृत्युपछि उनले राजनीतिक कित्ता परिवर्तन गरेको कुरा बयान गरेकी छन् ।

त्यसैगरी, दोस्रो संसदीय निर्वाचनमा पार्टीले धेरै हदसम्म चुनाव हार्नुको मूल कारण पार्टी नेतृत्वको कमजोरी रहेको बताएकी छन् । पहिलो संसदीय चुनावमा प्रत्यक्षतर्फ २४० सिटमध्ये १२० र समानुपातिकतर्फ ३५५ मा १०० सिट जित्न सफल पार्टी दोस्रो चुनावमा २४० प्रत्यक्षतर्फको सिटमा जम्मा २६ हासिल भयो र माओवादी तेस्रो पार्टी बन्यो ।

लेखिकाको भनाइमा यो पार्टीको रणनीतिक हार थियो । समयमा संविधान दिन नसक्नु, आन्तरिक मतभेद गरी हारका आठवटा विविध कारणहरू किटान गरेकी छन् ।

प्रचण्ड र बाबुरामको सम्बन्धलाई यस पुस्तकमा नदीका दुई किनाराको उपमा दिइएको छ । बाबुरामलाई प्रचण्डको भन्दा प्रचण्डलाई बाबुरामको बढी खाँचो थियो । प्रचण्ड बाबुरामदेखि तर्सन्थे, असुरक्षित महसुस गर्थें । प्रचण्ड, बाबुरामलाई नियन्त्रणमा राख्न पार्टीलाई साधन बनाउथे भने बाबुराम सार्वजनिक अपिल, मिडिया, नैतिक बल र अन्तर्राष्ट्रिय पकड र कहिले राजीनामा त कहिले मिटिङमा भिन्न मत राखेर प्रचण्डका विरुद्ध सहमति दर्ज गर्थे ।

हिसिला लेख्छिन्, नेताहरूमध्ये, प्रचण्डसँगको उनको पहिचान र सम्बन्ध सबैभन्दा पुरानो र नजिकको थियो । प्रचण्ड बाबुरामको राजनीतिक–वैचारिक बहसलाई स्वीकार्ने तर कार्यान्वयन ठीक उल्टो गर्ने व्यक्ति हुन् ।

बाबुराम र आफ्नो सम्बन्धबारे उनको बुझाइ, आफू स्वतस्फूर्त व्यक्ति र बाबुराम समाजप्रति समग्र अवधारणा भएको व्यक्ति साथै महिलाका मुद्दामा लेखिकाभन्दा बढी नारीवादी भएको भन्ने छ ।

प्रम गिरिजाप्रसाद कोइरालाको क्याबिनेटमा मन्त्री हुँदाको अनुभवमा गिरिजा थोरै बोल्ने तर काम धेरै गर्ने व्यक्ति भएको, ८२ वर्षे उमेरमा पनि मानसिकरूपमा चनाखो साथै समसामयिक घटना र समाचारप्रति राम्रो हेक्का राख्ने व्यक्तित्व भएकोमा प्रशंसा गर्छिन् ।

पुस्तकको तेस्रो खण्ड माओवादी खुला राजनीतिमा आएदेखि हालसम्म राजनीतिमा केकस्ता परिवर्तन आए भन्ने व्याख्या गरिएको छ । राजतन्त्रको अन्त्य हुँदाका अनुभूति, चुनाव जित्दा र हार्दाका कारणहरू शक्तिको उन्मादका कारण प्रचण्डको पतन, छोरीको हुर्काइ, सेना समायोजन र राज्य पुनर्संरचना, डा. भट्टराईले माओवादी पार्टी छोडी नयाँ वैकल्पिक शक्ति निर्माणका कुराहरू प्रष्ट्याइएका छन् ।

अबको राजनीतिको नयाँ बाटो, एक्काइसौँ शताब्दीको लोकतान्त्रिक विकासको अभ्यास र आर्थिक रूपान्तरणका लागि आर्थिक वृद्धि, समावेशी सहभागितामूलक, दिगो समाजवादको स्थापना गर्नु नै हो, उनको बुझाइ छ ।

राजनीतिलाई मूल विषयवस्तु बनाए पनि पुस्तकका विभिन्न पाटा पक्षले यो पुस्तक राजनीतिज्ञ, विद्यार्थी, शोधकर्ता, अनुसन्धानकर्ता, नारीवादी, योद्धा साथै नेपालको जनयुद्धलाई सूक्ष्म रूपमा अध्ययन गर्न खोज्नेहरूका लागि अब्बल छ । हिसिलाको सम्पूर्ण पहिचान खोज्न यो पुस्तक पढ्नैपर्ने हुन्छ ।

लेखिकालाई शुभकामना छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।