मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भोजे मामा : ३३ किलो सुन हराएको तीन वर्षपछि पक्राउ

सनम शाक्यका हत्या आरोपी, सुन तस्कर गोरेका सहयोगी
शुक्रबार, १५ साउन २०७८, २३ : १६
शुक्रबार, १५ साउन २०७८

बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणका फरार आरोपी भोजराज भण्डारी उर्फ भोजे मामालाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शुक्रवार गौशालाबाट नियन्त्रणमा लिएको भोजे मामा तिनै हुन् जसले सुन तस्कर गोरेलाई सहयोग गर्थे । अनि, मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्यामा पनि उनी संलग्न थिए । 

झापा गौरादह नगरपालिका–८ घर भएका भोजराज भण्डारीको नाममा जिल्ला अदालत मोरङले वारेन्ट जारी गरेको थियो । काठमाडौँको रत्नराज्य स्कुल नजिकैबाट ३३ किलो सुन हराएपछि २०७४ फागुन १८ मा गोरेको समूहले मोरङको उर्लाबारीका सनम शाक्यलाई यातना दिएका थिए । ‘गोरे’का एकाउन्टेन्ट शाक्यको यातनाकै कारण मृत्यु भयो । 

गृह मन्त्रालयका तत्कालीन सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले सनमको हत्या हुँदा भोजराज भण्डारीले पनि यातना दिएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो । 

​शाक्यले मिलेमतोमा सुन गायब पारेको भन्दै ‘गोरे’ को आदेशमा तस्कर समूहले करेन्ट लगाएर चरम यातनापछि उनको हत्या गरेका थिए । चूडामणिको आदेशमा भोजे मामा सहितका सदस्यहरूले मोरङको जङ्गलमा हत्या गरेर सनमको शव धरान लगेका थिए । अपराध महाशाखाबाट खटिएको टोलीले पछि विराटनगरबाट शव बरामद गरेको थियो । 

सो घटनामा गलत भूमिका खेलेको आरोपमा लागेका अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी सहितका प्रहरी अधिकारीको सफाइ पाएका छन् । पूर्व एसएसपी श्याम खत्री र डिएसपी सञ्जय राउत अहिले पनि मुद्दा पुर्पक्षका लागी थुनामा छन् ।  

चूडामणि उप्रेतीको समूहमा भोजराज भण्डारी २०७० देखी २०७२ को बिचमा आबद्ध भएर निरन्तर सुन तस्करीमा संलग्न थिए । सरकारी वकिल कार्यालय मोरङले उनीबिरुद्ध सङ्गठित तस्करी, अपहरण तथा शरीरबन्धक र हत्या बिरुद्धको कसुरमा सजाय हुन मागदाबी लिएर मुद्दा दायर गरेको थियो । 

०७४ गत फागुन ९ गते दुबईबाट आएको ३३ केजी सुन लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  सानु बन र पुण्य प्रसाद लामा ‘तक्ले’ पुरानो बानेश्वरस्थित चूडामणि उप्रेतीले सञ्चालन गरेको कार्यालयमा जाँदै थिए । सोही क्रममा लुटेरा समूहले बानेश्वर स्थित रत्नराज्य स्कुल नजिकैबाट सुन लुटेपछि तस्करहरूले यातना दिने क्रममा सनम शाक्यको हत्या भएको थियो । तर, सुन कसले लुट्यो र कहाँ छ भन्नेबारे लामो अनुसन्धान र छानबिनबाट पनि खुल्न सकेन । 

सुन छाड्न गएकामध्ये सानु बनले विमानस्थलमा गुडिरहेको पेट्रोल ट्याङ्करको चक्कामुनि छिरेर आत्महत्या गरेका थिए । उनीसँगै सुन लिएर गएका ‘तक्ले’ भन्ने पुण्यप्रसाद लामा यसअघि नै पक्राउ परेका थिए । 

घटनाबारे छानबिन र अनुसन्धान सुरु भएपछि भोजे मामा चाहिँ फरार थिए । जिल्ला प्रहरी कार्यालय मोरङले २०७५ वैशाख १९ मा ६३ जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप