शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘तुइनमुक्त’ नेपालमै तुइनबाट नदीमा खसेर युवक बेपत्ता !

जनप्रतिनिधि भन्छन्, ‘भारतीय एसएसबीले तुइन काटेर हत्या गर्‍यो’, प्रहरी भन्छ, ‘बुझ्दैछौँ’
शुक्रबार, १५ साउन २०७८, २२ : ३६
शुक्रबार, १५ साउन २०७८

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको प्रगति विवरण सुनाउँदा नेपालमा तुइनलाई विस्थापित गरेको फेहरिस्त सुनाउन कहिल्यै छुटाउँदैन थिए । तर, शुक्रबार ओलीको शब्दमा ‘तुइनमुक्त’ भएको नेपालकै दार्चुलामा तुइनबाट नदीमा खसेर एक नेपाली युवक बेपत्ता भएका छन् । समाचार तयार पार्दासम्म उनको अवस्था अज्ञात छ ।

स्थानीयको दाबी छ – यो दुर्घटना होइन, हत्या हो, ती युवकले तुइन प्रयोग गरिरहेकै बेला भारतीय सीमा सुरक्षा बलका जवानले तुइनलाई काटिदिँदा उनी नदीमा खसेर बेपत्ता भएका हुन् ।

सत्तारुढ नेपाली काँग्रेसले विज्ञप्ति नै निकालेर सोही आरोप लगाउँदै यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । यसबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

​दार्चुलाको व्यासबाट भारतको उत्तराखण्ड राज्यमा पर्ने पिथौरागढ जाने क्रममा तुइनको तार काटिदिँदा एक नेपाली बेपत्ता भएको भनिएको घटनाबारे अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर नरेन्द्र बहादुर चन्दका अनुसार शुक्रबार बिहानदेखि एक व्यक्ति बेपत्ता भएको भए पनि तुइन काटिएको हो कि होइन भन्ने यकिन नभएको बताएका छन् ।

चन्दका अनुसार शुक्रबार बिहान साढे ८ बजे दार्चुला जिल्लाको व्यास गाउँपालिका २ माल भन्ने स्थानबाट भारत उत्तराखण्ड जिल्लाको पिथौरागढमा पर्ने पांगल भन्ने स्थानमा जाने क्रममा व्यास गाउँपालिका २ माल बस्ने ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् । भारतीय पक्षले तुइनको तार काटिदिएर एक नेपालीको हत्या गरेको आरोप लागे पनि तार काटिएको हो कि होइन भन्ने पुष्टि नभएको इन्स्पेक्टर चन्दले बताए । 

धामीसँगै अन्य ४ जना युवाहरू पनि भारत गएकामा ४ जना युवाहरू तुइन पार गरिसकेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २ जवान आएको बताइएको छ । एसएसबीका जवान आएको देखेपछि ४ जना युवाहरू भागेको तर, त्यहीबेला जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तुइनको तार काटिदिएको आरोप छ ।

बिहान भारत पुगेका ४ जना युवाहरू शुक्रबार साँझ सदरमुकाम आइपुगेका छन् । तर, घटनाबारे थप केही बुझ्न नपाएको इन्स्पेक्टर चन्दले बताए । 

चन्दका अनुसार ४ युवाले घटना भएको भनिएको समय र स्थानमा एसएसबीका जवान आएको देखे पनि तुइनको तार काटेको हो कि होइन भन्ने नदेखेको बताएका छन् । यद्यपि ३० वर्षीय धामी बिहानदेखि बेपत्ता भएको र दार्चुलाको व्यास २ मालबाट भारतको पिथौरागढ जोड्ने अस्थायी तुइनको तार काटिएको अवस्थामा फेला परेको चन्दले बताए । 

उनले भने, ‘यो तुइन भनेर स्थायी प्रकृतिको तुइन पनि होइन । यहाँका मानिसहरू पारि जान र पारिका मानिसहरू यता आउन व्यक्तिहरूले नै विद्युत्को तारबाट बनाएका अस्थायी तुइन हो । मानिसहरू लुकीचोरी यताका उता र उताका यता आउने गर्थे । विवाह, सामान खरिद लगायतमा यताउता भइरहने गर्दथ्यो । तर, आज के भएको हो बुझ्न सकिएको छैन ।

स्थानीय जयसिंह धामी भने बेपत्ता छन् । यस सम्बन्धमा हामी थप बुझिरहेका छौँ । भोलि बिहानसम्म केही खबर आउँछ कि ।’

दार्चुला जिल्ला र भारतको पिथौरागढलाई महाकाली नदीले छुट्टाएको छ । त्यही महाकाली नदी पार गर्नका लागि मानिसहरूले अस्थायी प्रकृतिका तुइनहरू बनाउने गरेका छन् । 

स्थानीयको आरोप – हत्या हो

यता, व्यास गाउँपालिका अध्यक्ष दीलिपसिंह बुढाथोकीले भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा नेपाल युवक जयसिंह धामी बेपत्ता भएको दाबी गरे । रातोपाटीको सम्पर्कमा आएका बुढाथोकीले  भने, ‘मैले त्यहाँका प्रत्यक्षदर्शीसँग संवाद गरेँ । जयसिंह धामीसहित ४ जना भारतको बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा आउन लागेको थिए । अरू तुइन तरेर भारत पुगिसकेका थिए भने जयसिंह धामी तुइनमा तरिरहेका बेला भारतीय एसएसबी आए । एक जना तुइन भएको ठाउँभन्दा माथि नै थिए र एक जना तुइन बाँधिएको रुखमा पुगे ।’

बुढाथोकीका अनुसार त्यतिबेला बेपत्ता भएका धामी नेपालबाट भारतमा पुग्दै थिए । त्यहीबेला एकजना एसएसबीले तुइन बाँधेको ठाउँमा हात चलाइरहेको प्रत्यक्षदर्शीले देखेको उनको दाबी छ । ‘नेपालबाट हेर्नेहरूले उसले रुखमा बाँधेको तुइन खोलेको देखिन्थ्यो । एसएसबीले तुइन बाँधेको रुखमा हात चलाइरहेको बेला तुइन महाकाली नदीमा लछारियो,’ उनको दाबी छ, ‘तुइन तरिरहेका जयसिंह धामीलाई तीव्र रूपमा बगिरहेको नदीले बगायो ।’ उनका अनुसार यो घटना बिहान सवा ८ बजेको भएको हो ।

जिल्ला प्रशासनमा उजुरी दर्ता

खलङ्गाम रहेका मृतकका दाजुसहितले जिल्ला प्रशासन कार्यालयमा गएर घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको मागसहित उजुरी दिएका छन् । व्यास गाउँपालिका- २ का वडाध्यक्ष धिरजसिंह बुढाथोकीका अनुसार जिल्ला प्रशासन कार्यालयले भारतको पिथौरागढका डिएम र काठमाडौँ गृह मन्त्रालयसँग समन्वय गरे घटनाको छानबिन गर्ने बताएको छ । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले पिथौरागढ डिएमलाई पत्राचार गर्छौँ । काठमाडौँ गृह मन्त्रालयसँग समन्वय गर्छौँ भनेको छ ।’

बेपत्ता भएका जयसिंह धामीको खोजी कार्य जारी छ । भारतको एसएसबीले पनि खोजी गर्दैछ । नेपालको प्रहरी र सशस्त्र प्रहरी बल दुबैले खोलामा खोजी गरिरहेका छन् । तर, अहिलेसम्म बेपत्ता युवक फेला पर्न सकेका छैनन् ।  

बुढाथोकीका अनुसार जयसिंह धामीलाई नदीले बेपत्ता पारेपछि अन्यलाई घटनाबारे केही नबताउन भारतीय एसएसबीले धम्की पनि दिएको थियो । उनले भने, ‘भारतीय एसएसबीले तुइन काटेको भनेर नभन्नु भन्दै धम्की दिएको रहेछ । उहाँहरू अहिले हाम्रो सम्पर्कमा हुनुहुन्छ । उहाँहरूले त्यही भनिराख्नुभएको छ ।’

आज आफू पनि सोही तुइन तरेर गाउँ जाने तयारी गरिरहेका बेला उक्त घटना थाहा पाएको उनले बताए । ‘म पनि त्यही तुइन तरेर गाउँ जाने सोचमा थिएँ । बिहान त्यस्तो खबर आयो । म पनि गइनँ ।’

उनका अनुसार धामी रोजगारीका दार्चुला भएर काठमाडौँ जान हिँडेका रहेछन् ।  उनले भने, ‘नेपालको बाटो आउँदा एक-दुई दिन लाग्ने भयो । भारतबाट तुइन तरेर आउँदा २ घण्टामा खलङ्गा पुगिन्छ । चाँडो होला भनेर त्यस्तो जोखिम मोल्ने गरिन्छ ।’

समयमा पुल नबन्दा निम्तियो घटना

वडाध्यक्ष बुढाथोकीका अनुसार तुइन रहेको ठाउँमा दुई वर्ष पहिलेदेखि नै झोलुङ्गे पुल बनाउने काम भइरहेको छ । तर, ठेकदारको लापरबाहीले समयमा पुल सम्पन्न हुन सकेन । उनले भने ‘त्यहाँ पुल बनाउने काम अधुरै छ । दुई वर्षसम्म सम्पन्न गर्ने गरी काम सुरु भए पनि सो समयमा ३० प्रतिशत पनि काम भएको छैन ।

पुल भइदिएको भए त्यस्तो घटना हुने थिएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप