बागमती प्रदेश : पाँचवटा विषयमा वैज्ञानिक खोज तथा अनुसन्धान हुँदै
बागमती प्रदेश सरकारले ५ वटा वैज्ञानिक खोज तथा अनुसन्धान कार्यक्रमलाई अगाडि बढाएको छ । प्रदेशभित्र रहेर विभिन्न वैज्ञानिक खोज तथा अनुसन्धान गरिरहेका युवालाई प्रोत्साहन गर्दै ५ वटा विषय छनोट गरी प्रदेश सरकारले सहायता रकमसमेत उपलब्ध गराएको छ ।
वैज्ञानिक खोज तथा अनुसन्धानमा नयाँ आयाम ल्याउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले नवप्रवन्धक युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम कार्यान्वयन गरेको हो । प्रदेश सरकारले उक्त कार्यक्रम सञ्चालनका लागि युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापनासहित समिति निर्माण गरी कार्यविधिसहित ५ वटा विषय छनोट गरेको हो ।
प्रदेश सरकारले प्रोत्साहन कार्यक्रमका लागि आवेदन आह्वान गरेको दोस्रो चरणमा १०२ वटा प्रस्तावमध्ये ५ वटा विषय उपयुक्त ठहर गरी अनुसन्धान कार्य अघि बढाएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखा प्रमुख गोपाल कँडेलले जानकारी दिए ।
यस्ता छन् अनुसन्धानका विषय
मन्त्रालयले राष्ट्रिय निकुञ्जहरूमा वन तथा वन्यजन्तुको अवलोकनका लागि प्रयोग हुने पेट्रोल तथा डिजेलका सफारी गाडीहरुलाई विद्युतीय सवारीमा परिणत गर्ने कार्यको अनुसन्धान गर्न आर्थिक सहायतासहित अनुमति दिएको छ ।
मन्त्रालयले बसन्त आले र दिपेश बुढाथोकीको टीमलाई यसबारे अनुसन्धान गर्न १९ लाख ९८ हजार ७४५ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएर गत फागुन १३ गते सम्झौता गरेको छ । उक्त टिमले चितवन राष्ट्रिय निकुञ्जमा यसबारे अनुसन्धान गर्ने जनाइएको छ । सो अनुसन्धान कार्य सम्झौता भएको मितिले ८ महिनाभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।
त्यस्तै पहाडी भेगमा पाइने रातो च्याउको उत्पादन क्षमता वृद्धि गर्न प्रविधिको प्रयोगबारे अनुसन्धान गर्न मन्त्रालयले प्रवेश पोखरेल, समीक्षा गिरी र पदमराज अवस्थीको टीमलाई छनोट गरी ३४ लाख ९४ हजार ३०१ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।
रातो च्याउ नेपालको पहाडी भेगको मुढाहरुमा उत्पादन हुने र महँगो मूल्यमा बिक्री वितरण हुने गरेको छ ।
मन्त्रालयले माछा पालनमा महत्वपूर्ण मानिएको इन्जाइम उत्पादन स्थानीय माछा पोखरीमै गर्ने विषयको अनुसन्धानका लागि ७० लाख ५४ हजार ८०५ रुपैयाँ आर्थिक सहायता दिएर आगामी डेढ वर्षमा अनुसन्धान सम्पन्न गर्ने गरी काम अगाडि बढाउन अनुमति दिएको छ ।
माछा पालन गर्दा पानी परिवर्तन र कम दानामै उत्पादन बढाउनका लागि रोजिना थापाको टीमले उक्त इन्जाइम स्थानीय पोखरीमै उत्पादन सम्बन्धी अनुसन्धान गरिरहेको जनाइएको छ ।
हाल सो इन्जाइम भारत लगायतका देशबाट आयात गर्नुपर्ने भएकाले आर्थिक हिसाबले पनि महँगो पर्ने भएकाले इन्जाइम उत्पादन गर्ने व्याक्टेरिया नै स्थानीय पोखरीमा उत्पादन गर्नेबारे अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशमा पाइने प्राकृतिक जडीबुटी खोजी गरी त्यसको परिचय, त्यसमा पाइने रासायनिक तत्व र औषधि उत्पादन तथा उपचारमा प्रयोगको बारेमा अनुसन्धान गरी तथ्यगत सूची तयार पारेर वेबसाइट माफर्त सार्वजनिक गर्ने उद्देश्यका साथ भुवन गुरुङको टीमलाई ६९ लाख ६७ हजार ५६९ रुपैयाँको आर्थिक सहायता प्रदान गरी अनुसन्धानको काम अघि बढाएको मन्त्रालयले जनाएको छ ।
उक्त अनुसन्धान २ वर्षभित्र सम्पन्न गर्ने गरी मन्त्रालयले गत फागुनमा सम्झौता गरेको छ ।
त्यस्तै मन्त्रालयले मानिसको दाँत परिवर्तनको तेस्रो विधिको अनुसन्धान गर्न डा. पराक्रम पराजुलीको टिमलाई १५ लाख २२ हजार १ सय १० रुपैयाँको आर्थिक सहायता दिएर काम सुरु गरेको छ ।
विश्वमा दाँत परिवर्तनको २ वटा विधि रहेको र त्यसको विविध समस्याहरूको समाधानका लागि डेन्टल प्लेट नाम दिएर डा. पराजुलीले नेपालमै अनुसन्धान गरिरहेका हुन् । ८ महिनाको अवधिभित्र अनुसन्धान कार्य सम्पन्न गर्ने गरी गत फागुनमा मन्त्रालयले सम्झौता गरी आर्थिक सहयोगसमेत उपलब्ध गराएको जनाइएको छ ।
अनुसन्धानका प्रगति
गत फागुनमा मन्त्रालयसँग सम्झौता गरेका खोजकर्ताहरुले पहिलो चौमासिक अवधिको प्रतिवेदन पेस गरिसकेका छन् ।
प्रायः सबै विषयको अनुसन्धानकर्ताले पहिलो चरणको अनुसन्धान पूरा गरिसकेका छन् । केही विषयको अनुसन्धान भने कोरोना संक्रमणको जोखिमका कारण ढिलाई भएको खोजकर्ताहरु बताउँछन् । कोरोना संक्रमणको जोखिम केही सहज भए लगत्तै अनुसन्धानको कार्यलाई तीव्रता दिने उनीहरुको भनाइ छ ।
दुईवटा विषय भने लामो समयको भएका कारण तत्काल खासै प्रगति नदेखिए पनि अन्य तीनवटा विषयमा भने चाँडै नै सफल नतिजा हासिल हुने मन्त्रालयको विश्वास छ । माछा पालनको लागि आवश्यक इन्जाइमका लागि व्याक्टेरिया उत्पादन र जडीबुटी सम्बन्धी विषय लामो समयको भएकाले नतिजा आउन केही समय पर्खनुपर्ने मन्त्रालयले जनाएको छ । डिजेल तथा पेट्रोल सफारीलाई विद्युतीय सफारीमा परिवर्तन गर्ने, रातो च्याउ उत्पादन र डेन्टल प्लेट विषयको अनुसन्धान भने केही समयमै सम्पन्न हुने र सफल नतिजा हासिल हुने मन्त्रालयको भनाइ छ ।
यस्तो छ छनोट प्रक्रिया
युवा वैज्ञानिक प्रोत्साहन कोष सञ्चालक समितिका सदस्य गिरीराज त्रिपाठीका अनुसार खोज तथा अनुसन्धान कार्य प्रारम्भ गर्ने व्यक्तिले विषय उल्लेख गरी समितिलाई जानकारी गराएको खण्डमा समितिले सो विषयमा अध्ययन गरी अनुसन्धान गर्न उचित ठानेमा प्रस्ताव तयार पारी युवा वैज्ञानिक कोषको सचिवालय (मन्त्रालयको युवा तथा खेलकुद महाशाखा) का प्रमुख समक्ष पठाउने व्यवस्था छ ।
सचिवालयका प्रमुखले आवश्यक सुधारका काम गरेर उक्त प्रस्ताव विज्ञसमक्ष प्रस्तुत गर्ने र विज्ञको राय सुझावसहित प्रस्तावमा सुधार गरेर पुनः समितिमा पठाउने काम गरेपछि सो प्रस्ताव थप दुईजना विज्ञलाई गोप्य रुपमा अध्ययनका लागि पठाउने व्यवस्था छ ।
गोप्य विज्ञले सो विषयमा अनुसन्धान आवश्यक हो वा होइन भन्ने विषयमा अध्ययन गरी आवश्यक सुधारका सुझाव उल्लेख गरी प्रस्तावलाई पुनः समितिमा फर्काउने गरिन्छ ।
विज्ञको सुझाव अनुसारको प्रस्तावलाई सुधार गरेर समितिले खोजकर्तालाई अनुसन्धानको अनुमति प्रदान गर्ने र समिति र मन्त्रालयसँग सम्झौता गराउने गर्दछ ।
सम्झौता भएलगत्तै उक्त प्रस्तावमाथि समय अनुकुल अनुसन्धान प्रारम्भ हुन्छ र तोकिएको समयमा खोजकर्ताले अनुसन्धानको कार्यलाई पूर्णता दिनुपर्ने व्यवस्था युवा वैज्ञानिक प्रोत्साहन कोषको कार्यविधिमा उल्लेख छ ।
खोजकर्ताले पेस गरेको अनुसन्धानमा गरेका खर्चको विवरण र बिल अनुसारको लागत रकम मन्त्रालयले व्यहोर्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा