मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेपालीले जितेका थिए ओलम्पिक स्वर्ण, बेलायतीले पुर्‍याए सगरमाथामा

शुक्रबार, १५ साउन २०७८, १६ : ५६
शुक्रबार, १५ साउन २०७८

सगरमाथाको देश नेपालले पनि ओलम्पिकमा स्वर्ण जितेको थियो । धेरैलाई थाहा नहुन सक्छ । तर, यो साँचो हो । सगरमाथामा हासिल गरेको बहादुरीका लागि बेलायती, अस्ट्रेलियन र भारतीयसँगै नेपालीले पनि स्वर्ण जितेका थिए ।

१९२२ को ब्रिटिस एभरेस्ट पर्वतारोहण टिमको नेतृत्व बेलायती सेनाका ब्रिगेडियर जनरल चार्ल्स ब्रुस र लेफ्टिनेन्ट कोलोनेल इडवार्ड स्ट्रटले गरेका थिए । नेपालमा राणा शासन रहेकाले पश्चिमा नागरिकहरूलाई प्रवेश सहज थिएन, त्यसैले तिब्बती मोहडाबाट सगरमाथा आरोहणको प्रयास गरिएको थियो । यो टोली सगरमाथाको शिखर चुम्नबाट झन्डै ५ सय मिटरले चुक्यो । 

उनीहरूले तीन पटक प्रयास गरेका थिए । पहिलो प्रयास १९ मेमा क्याम्प थ्रीबाट सुरु भएको थियो । यति बेला ९ जना भरियाहरूसहित चारजना आरोही अक्सिजन बिना नै शिखरतर्फ लागेका थिए । जर्ज मालोरे, हवार्ड सोमरभेल र इडवार्ड नोर्टन ८३२५ मिटरमा पुगेर फर्किए, आरोहणतर्फ यो नयाँ विश्व कीर्तिमान थियो । तर शिखर चुम्ने प्रयत्न सफल भएन । 

दोस्रो प्रयासस्वरुप इन्ग्ले फिन्च, जियोफ्री ब्रुस र बेलायती गोर्खा सैनिक तेजबिर बुढाको टोली भरियाहरूसहित २४ मेमा क्याम्प थ्रीबाट उकालो लागे ।  तर, यो पनि सफल हुन सकेन । ८३२६ मिटरमा पुगेपछि ब्रुसमा अक्सिजनको समस्या देखियो । फिन्चले उनी थकित छन् भन्ने पत्तो पाए । यो टोली पनि नयाँ विश्व कीर्तिमान बनाएर फर्कियो । तर सगरमाथाको शिखर पुग्ने धोको अधुरै रह्यो । 

३ जुनमा तेस्रो प्रयास थालियो, यसक्रममा सगरमाथामा हिमपात हुँदा ७ जना भारतीय भरियाको मृत्यु नै भयो । कीर्तिमान बनाउने अभिलाषा दुखान्तमा परिणत भयो । 

यस घटनाको दुई वर्षपछि पेरिस सहरमा ओलम्पिक आयोजना भयो । र, सगरमाथा चढ्न नसके पनि सर्वाधिक धेरै उचाइमा पुगेर कीर्तिमान बनाएबापत अल्पनाईन तर्फको ओलम्पिक स्वर्ण यो टोलीका २१ जनालाई प्रदान गरियो । ‘हामीले शिखर चुम्न सकेनौँ । तर कुनै न कुनै दिन ओलम्पिक स्वर्ण सगरमाथाको शिखरमा पुग्नेछ,’ पदक जितेपछि इडवार्ड स्ट्रटले भनेका थिए ।

यसको ८८ वर्षपछि बेलायती पर्वतारोही केन्टन कुलले लन्डन ओलम्पिक २०१२ को पूर्व सन्ध्यामा यो पदकलाई सगरमाथाको शिखरमा पुर्‍याए । ‘हामी यहाँ छौँ । ... ८८ वर्ष लाग्यो । हामी विश्वको सर्वोच्च शिखरमा छौँ र मेडल यहाँ छ,’ अन्तिम ५० मिटर चढ्दै गर्दा उत्साहित भएर कुलले भनेका थिए । 

ओलम्पिक पदक विजेता २१ जनामध्ये डा. आर्थर वेकफिल्डको पदकलाई कुलले शिखरमा पुर्‍याएका थिए । आर्थरका नाति चार्ल्स वेकफिल्डले शिखरमा पुर्‍याउनका लागि यो पदक उनलाई दिएका थिए । 

अघि नै चर्चा गर्‍यौँ, यो पदक  बेलायत, अस्ट्रेलियन, नेपाली र भारतीयलाई प्रदान गरिएको थियो । अर्थात् ओलम्पिकमा एकभन्दा धेरै देशका व्यक्तिले मिलेर जितेको यो पहिलो र एक्लो पदक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप