शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : जटिल स्वास्थ्य समस्या भएका संक्रमित बढ्दै

फेरि भरिन थाल्यो आईसीयू र भेन्टिलेटर
शुक्रबार, १५ साउन २०७८, १६ : २६
शुक्रबार, १५ साउन २०७८

बिहीबार प्रदेश १ मामात्र एक हजार १०४ जना कोरोना संक्रमित थपिए । बिहीबार ११५ जना संक्रमितलाई आईसीयूमा राखेर उपचार गरिएको छ, जसमा ४६ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

बुधबार प्रदेशमा एक हजार १८० जना नयाँ संक्रमित थपिएका थिए । त्यस दिन ९२ जना आईसीयूमा थिए, जसमध्ये ३७ जनालाई भेन्टिलेटरमा राखिएको थियो ।

केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । त्यसमा पनि सिकिस्त खालका बिरामीको संख्या पनि बढ्दै छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको पछिल्लो साताको तथ्याङ्क हेर्दा कोरोना संक्रमितको संख्या पुनः बढ्दै गएको पुष्टि गर्छ ।

संक्रमितको संख्या बढेसँगै आइसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या पनि बिस्तारै उकालो लाग्न थालेको छ ।

एक साताको तथ्याङ्क

साउन ७ – ४५८ संक्रमित, ३१ जना आइसीयू (१७ जना भेन्टिलेटरमा), मृत्यु ५ जना

साउन ८ – ८४७ संक्रमित, ३६ जना आइसीयू (२१ जना भेन्टिलेटरमा), मृत्यु ८ जना

साउन ९ – १,०९१ संक्रमित, ४२ जना आइसीयू (२४ जना भेन्टिलेटरमा), मृत्यु ८ जना

साउन १० – ६७३ संक्रमित, ५१ जना आइसीयू (२९ जना भेन्टिलेटरमा), मृत्यु ९ जना

साउन ११ – ५४२ संक्रमित, ६३ जना आइसीयू (३४ जना भेन्टिलेटरमा), मत्यु ८ जना

साउन १२ – १,२७० संक्रमित, ७६ जना आइसीयू (३७ जना भेन्टिलेटरमा), मृत्यु ९ जना

साउन १३– १,१८० संक्रमित, ९४ जना आइसीयू (३९ जना भेन्टिलेटरमा), मृत्यु १४ जना

साउन १४ – ११०४ संक्रमित, ११५ जना आइसीयू (४६ जना भेन्टिलेटरमा), मृत्यु ६ जना

१४ जिल्ला रहेको प्रदेशमा सबैभन्दा बढी तराईका जिल्ला झापा, मोरङ र सुनसरी कोरोना संक्रमणबाट नराम्ररी प्रभावित हुँदै गएका छन् । यी जिल्लामा दैनिक नयाँ संक्रमितको संख्या थपिने क्रमसँगै अस्पतालका शय्याहरु पनि भरिँदै गएका छन् ।

कोशी अस्पताल

विराटनगरस्थित कोशी अस्पतालमा कोभिडका लागि छुट्याइएको आइसीयू र भेन्टिलेटर भरिभराउ हुन थालेको छ । अस्पतालले सिकिस्त बिरामीका लागि ३० आइसीयू, ५ वटा भेन्टिलेटर, ३२ एचडियू र जनरल वार्डमा १० शय्या छुट्याएको छ ।

शुक्रबार बिहानसम्मको तथ्याङ्क अनुसार कोशी अस्पतालमा २२ जना आइसीयूमा छन्, जसमध्ये ५ जना भेन्टिलेटरमा उपचाररत छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले अस्पतालको शय्या क्रमिक रुपमा बिरामीले भरिन थालेको बताए । अस्पतालमा रहेको भेन्टिलेटर प्याक भएको उनले बताए ।

उनले भने, ‘यो अस्पतालमा त बिरामी घटेको छैन, निषेधाज्ञा खुकुलो भएसँगै  बिरामीहरु आउने जाने क्रम थियो । केही दिन यता बिरामीको संख्या बढ्न सुरु गरेको छ ।’

निषेधाज्ञा खुकुलो भएसँगै अधिकांशले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भिडभाड तथा चहलपहल बढेको कारण संक्रमण पुनः बढ्न थालेको उनी बताउँछन् । ‘संक्रमितहरु यसरी नै बढ्दै गयो भने चाँडै तेस्रो लहर आउँछ,’ उनले भने ।

कोशी कोभिड–१९ उपचार केन्द्र

प्रदेश सरकारले सञ्चालन गरेको कोशी कोभिड–१९ अस्पतालमा पनि सिकिस्त खालका बिरामीको संख्या बढ्न थालेको छ । कोशी कोभिड–१९ उपचार केन्द्रमा ७७ जना संक्रमित उपचाररत छन्, जसमध्ये २१ जनालाई आइसीयू र ५६ जनालाई एचडियुमा राखिएको छ । जसमध्ये १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको व्यवस्थापक बैजनाथ साहले बताए ।

कोभिडका लागि कोशी कोभिड–१९ उपचार केन्द्रले २१ आइसीयू, ४७ एचडियु र २८ जनरल वार्डमा शय्या छुट्याएको छ, जसमा १५ भेन्टिलेटर छन् ।

केन्द्रका व्यवस्थापक साहका अनुसार हाल दैनिक करिब १० देखि १८ जना जति भर्ना हुने गरेका छन् । उनले भने, ‘यो तेस्रो लहरको सुरुवात भएजस्तो लाग्छ ।’

कोशी कोभिड–१९ उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देलले लकडाउन खुलेपछि मानिसको चहलपहल र भिडभाड बढ्नु संक्रमणको मुख्य कारक रहेको बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना संक्रमितको उपचार हुने अस्पतालमध्ये एक हो । यहाँ हाल ५९ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ८ आइसीयूमा र २४ जना एचडीयूमा छन् । तीमध्ये पनि ३ जना भेन्टिलेटरमा रहेको अस्पतालका सहप्रवक्ता डा चुडामणि आचार्यले बताए ।

कोरोना संक्रमितको उपचारका लागि अस्पतालले १५ आइसीयू, २५ एचडियुसहित कुल १ सय शय्या छुट्याइएको छ । सो अस्पतालमा १० वटा भेन्टिलेटर छन् ।

अस्पतालमा दैनिक करिब १० जना संक्रमित भर्ना हुने गरेका छन् । १० जना संक्रमित भर्ना हुँदा १ देखि २ जना संक्रमितलाई आइसीयू चाहिने गरेको उनले बताए ।

मेची प्रादेशिक अस्पताल

झापाको मेची प्रादेशिक अस्पतालमा आइसियू र भेन्टिलेटर भरिएका छन् । सो अस्पताको आइसीयूमा ३ जना रहेकोमा तीनै जनालाई भेन्टिलेटरको सपोर्टमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टंकप्रसाद बाह्रकोटीले बताए । कोभिडको उपचारका लागि अस्पतालले ४ आइसीयू, ५० एचडियु र ५८ जनरल वार्डसहित ११२ शय्या छुट्याएकोमा ५ वटा भेन्टिलेटरसमेत छन् ।

बाह्रकोटीका अनुसार ५÷६ दिनदेखि संक्रमितको चाप बढ्न थालेको छ । पहिला  खाली हुँदै गएको आइसीयू र भेन्टिलेटर अहिले बिरामीले भरिन थालेका छन् ।  

सरकारी बाहेकका मुख्यतः प्रदेशको राजधानी विराटनगरमा रहेको नोबेल र विराट मेडिकल कलेजमा पनि बिरामीको चाप बढ्न थालेको छ । विराट मेडिकल कलेजमा ४३, नोबेलमा ३ र बिएण्डसीमा २९ जना बिरामी उपचाररत छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबार बिहानसम्म प्रदेशका सरकारी तथा निजीस्तरमा कोरोना संक्रमितको उपचार गरिरहेका प्रदेशभरका कुल ३१ वटा अस्पतालमा ११५ जना आइसियुमा छन् । तीमध्ये ४६ जना भेन्टिलेटरमा छन् ।

कोरोनाको उपचार हुने प्रदेशभरीका अस्पतालहरुमा २९८ आइसीयू र १५८ भेन्टिलेटरसहित १ हजार ६८९ शय्या रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार सक्रिय संक्रमित ७ हजार ५६६ जना छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप