शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुसिकोटका उत्कृष्ट कृषि उद्यमी पुरस्कृत

शुक्रबार, १५ साउन २०७८, १५ : १३
शुक्रबार, १५ साउन २०७८

गुल्मीको मुसिकोट नगरपालिकाले उत्कृष्ट १० र सर्वोत्कृष्ट ठहरिएका दुईजना कृषि उद्यमीलाई पुरस्कृत गरेको छ ।

नगरपालिकाको आर्थिक सहयोग तथा दायित्व नेपाल नामक संस्थाको साझेदारीमा ‘नगरप्रमुख दायित्वः ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रम २०७८’ अन्तर्गत उत्कृष्ट १० जना कृषि उद्यमीलाई जनही ५० हजारका दरले र सर्वोत्कृष्ट २ जनालाई जनही १ लाख रुपैयाँका दरले पुरस्कृत गरिएको हो ।

उद्यम योजना तथा लगानी प्रस्तुतिकरण प्रतियोगितामा इस्मा गाउँपालिका–४, ढाँडा घर भई मुसिकोट नगरपालिका–१ पौदीअमराईमा कृषि तथा पशुपन्छी फार्म सञ्चालन गर्दै आएका देवबहादुर घर्ती र मुसिकोट नगरपालिका–१, पौदीअमराई घर भई वडा नम्बर ७, वामीटक्सारमा तरकारी तथा पोली फर्मा सञ्चालन गर्दै आएकी दुर्गा थापा सर्वोत्कृष्ट कृषक छनोट भएका हुन् ।

उनीहरुले उत्कृष्ट कृषकका रुपमा थप ५० हजार नगद पुरस्कार पनि प्राप्त गरेका छन् । उत्कृष्ट १० मा परेका अन्यमा मुसिकोट नगरपालिका–७ का सीता सापकोटा, मुसिकोट–५ का किरण भट्टराई, मुसिकोट–३ का शंकर जिसी, मुसिकोट–८ का यमबहादुर खत्री, वडा नम्बर ४ का सुदर्शन सिंह ठकुरी, वडा नम्बर ६ का रुद्रबहादुर खत्री, वडा नम्बर ७ का सुमित्रा सापकोटा र कृष्णप्रसाद चालिसे छन् ।

उनीहरुलाई  मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, उपमेयर कमला शर्मा (गौतम), दायित्व नेपाल संस्थाका संस्थापक अध्यक्ष डा. पुकार मल्ल र सोही संस्थाका लुम्बिनी प्रदेश संयोजक कमल थापाले पुरस्कार राशीको चेक र प्रमाणपत्रले सम्मान गरेका थिए ।

मेयर सापकोटाले गत वर्ष कृषकहरुलाई प्रोत्साहित गर्न भन्दै १० जना कृषकहरुलाई जनही ३ लाखका दरले ३० लाख रुपैयाँ अनुदान दिएको तर कृषकमा त्यसले अल्छीपना आएकोले यसपाली कृषकहरुबीच प्रतिस्पर्धा गराएर पुरस्कृत गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप