मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कविता : बूढीऔँलाहरू

शुक्रबार, १५ साउन २०७८, १४ : १५
शुक्रबार, १५ साउन २०७८

 

 

 

-उमेश अवस्थी ‘आदर्श’

कति दिन बाँच्छौ तिमी
यस्तै यस्तै यस्तै ज्यूँदै लास बनेर
कति दिन औँठाले छाप लगाइरहन्छौ तिमी
दास बनेर
कति वर्षसम्म सुत्छौ तिमी
देशको छातीमा कैदी बनेर ?

मेरो देश डुब्नै लाग्यो 
साँझपखको घामजस्तै
बिहानीको सूर्यजस्तै गरी
कोही त उदाउनु नि अब
मेरो देशको छातीमा घाम लगाउन ।।

ज्यूँदै मर्नु र
लास बन्नुमा के फरक छ मित्र
कति दिनसम्म बेचिरहन्छौ 
औँठा छाँपमा आफ्नो स्वाभिमान
अब त उठ न मित्र ।।

औँठा छापकै लागि
जन्मेका हौ भने
खसालि दिनुस् मतपत्रसँगै
बूढीऔँला पनि मतपेटिकामा
बूढीऔँलाहरू देखेर 
ता कि मेरो देशको 
शासकले सम्झिन सकोस्
हिजोका सहिदहरूका हात र औँला ।।

अब मतपेटिकामा
मतपत्र हैन
खसाली दिनुस रगत
र भिजाई दिनुस् मतपत्रहरू
ताकि मतपत्र गन्ने बेलामा
मेरो देशका शासकको छातीमा
उम्लियोस् वीर पुर्खाको रगत
र सम्झिन सकोस् 
मेरो देशको स्वाभिमान ।।

खम्बा हुनु र 
खम्बा जस्तै चुपचाप उभिनुमा 
के फरक छ श्रीमान्
हुन त खम्बाले पनि बचाइरहन्छ
खम्बा हुनुको स्वाभिमान
तर तपाईं 
कहिले बचाउनुहुन्छ 
वीर पूर्खाको वीर सन्तान हुनुको 
विशाल स्वाभिमान ।

एकपटक आफ्नो हातका
आफ्ना बूढीऔँलाहरूलाई हेर्नुस् त
काला शासकहरूलाई
कालो छाँप लगाउँदा लगाउँदै
कति काला भएका छन्
ती बूढी औँलाहरू ।।

मित्र एकपटक त धुनुस् न 
आफ्ना हातका बूढीऔँलाहरू
आमाको दूधजस्तै
नेपाल आमाको छातीमा 
बगिरहेको पानीमा
एकपटक चोप्नुस् त
ती औँलाहरू
काला शासकलाई
कालो छाप लगाउँदालगाउँदै
काला भएका ती औँलाहरू
कतै सेता पो हुन्छन् कि ।।

एकपटक आफ्नो हातका
बूढीऔँलाहरूलाई
सबैले धोइदिनुस् त
तपाईंहरूले एकपटक
आफ्नो हातका
बूढीऔँलाहरूलाई धोए भने
बन्ने छ मेरो देश
सुन्दर नेपाल समृद्ध नेपाल ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप