‘यो पाराले ओलम्पिकमा नेपाल सहभागितामै सीमित हुन्छ’
शुक्रबार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकविहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन ।
विगतका संस्करण जस्तै यो संस्करण पनि औपचारिकतामै सीमित भयो । खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्दी कटिसकेको छ । सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो ।
यस संस्करणमा पनि नेपाल ओलम्पिकमा सहभागिता जनाएरै सीमित हुन पुगेको छ । विगतजस्तै यस संस्करणमा पनि केहीले राष्ट्रिय कीर्तिमानमा सुधार गर्नेबाहेक सहभागिता उपलब्धिविहीन बन्यो ।
गत संस्करणकै जसरी खेलाडीभन्दा धेरै जना भ्रमण गर्न जाने जम्बो टोलीको विषयले चर्चा पायो । असम्बन्धित पदाधिकारीले शयर गर्दा नेपाल ओलम्पिक कमिटी चर्को आलोचनामा परेको छ । यसपटक पनि नेपालको ओलम्पिक सहभागिता वाइल्ड कार्डभन्दा माथि उठ्न सकेन ।
ओलम्पिक खेलकुदको इतिहासमा छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी सङ्गीना वैद्य र दीपक विष्टबाहेक अन्य अघिल्लो चरण प्रवेश गरेका छैनन् । सङ्गीनाले सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुँदा सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गरेका थिए ।
के सधैँ नेपालको ओलम्पिक प्रतिस्पर्धा सहभागितामै सीमित हुने हो ? खेलकुदविज्ञ सुशील नरसिंह राणासँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ
नेपालले ओलम्पिक प्रतिस्पर्धामा सधैँ सहभागितामै चित्त बुझाउनुपर्ने हो ?
यो आम मानिसको प्रश्न हो । नेपालले ओलम्पिक सहभागिता सधैँ जनाउने गरे पनि पहिलो चरणभन्दा दोस्रो चरण पार गर्न सकेको छैन । यो संस्करणको सहभागिता पनि औपचारिकतामा सीमित भएको छ ।
आगामी तीन÷चारवटा ओलम्पिक पनि अझै सहभागितामा मात्रा सीमित हुनेछन् । ओलम्पिकमा सहभागी बनेर फर्किएपछि पनि हामी सुध्रिन सकेनौँ भने नेपालको सम्भावना अझै कमजोर नै हुनेछ । पुरानो सोचलाई नै हाबी हुन दिने हो भने ६ दशकको यात्रा औपचारिकतामा सीमित हुनेछ । आगामी ६ दशक पनि यस्तै हुनेछ ।
किनभने, हाम्रो कर्मचारीतन्त्रले खेलकुद के हो भन्ने बुझेको छैन । अनि सरकारले जिम्मेवारी दिएर नेतृत्व गर्न आएको खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटीजस्ता संस्था, जसले खेलकुद विकासका लागि खाका तयार पार्नुपर्ने हो उनीहरू राजनीतिको स्वार्थमा पनि तल्लीन छन् । जबसम्म राजनीति र स्वार्थको खेल खेलकुदमा हाबी हुन्छ परिवर्तन २०औँ वर्षसम्म पनि हुँदैन । खेलकुदले छलाङ मार्न सक्दैन । अर्को आधा शताब्दीमा पनि त्यो सम्भव हुँदैन ।
खेलकुदमा राजनीति हाबी भइरहँदा खेलाडी उत्पादन क्षेत्रमा राजनीतिक व्यक्तिहरूले खेलकुद विज्ञलाई किन खेलाडी उत्पादन गर्ने जिम्मेवारी दिँदैनन् ?
नेपाली खेलकुदमा विज्ञ मानिस धेरै छन् । अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा र छवि बनाएका टेक्नोक्र्याट (प्राविधिक) पनि छन् । तर समस्या के छ भने सही मान्छे खेलकुद निकायमा आउन सकेका छैनन् । अहिलेकै उदाहरण हेर्ने हो भने प्रदेशबाट आउने व्यक्ति कुनै न कुनै राजनीतिक पृष्ठभूमिको हुन्छ । उनीहरूको ध्यान पद मात्र लिने रहन्छ । त्यस्ता व्यक्तिहरूसँग खेलकुद विकास गर्नका लागि कुैन पनि योजना छैनन् । सरकार कसको छ, त्यस निकटका व्यक्तिहरू नेतृत्व गर्न आउँछन् ।
अहिलेका सदस्य सचिव (रमेशकुमार सिलवाल) आउनुभन्दा पहिले धेरैले खेलकुद क्षेत्र बुझेको सदस्य सचिव आउने आशा गरेका थिए । तर, अन्तिममा राजनीतिक क्षेत्रमा जसको बढी पहुँच थियो उनै नेतृत्वमा आए । यस्तै नेतृत्व सरकारप्रति मात्र बफादार हुन्छ । उनीहरूको ध्यान कसरी विवादरहित भएर कार्यकाल सक्ने भन्नेमा मात्र ध्यान हुन्छ । उनीहरूसँग खेलकुद विकास गर्ने कुनै योजना हुँदैन ।
खेलकुद विकासका लागि सोच्ने फुर्सद नै हुँदैन । ओलम्पिककै कुरा गर्नुपर्दा यो बृहत् क्षेत्र हो । यसमा पुग्नका लागि दीर्घकालीन योजना निकै नै अपरिहार्य छ । अहिले हाम्रो अन्तर्राष्ट्रिय प्रतियोगिताको अभ्यासलाई नियाल्ने हो भने हामी दीर्घकालीन योजनमा अघि बढेको देखिँदैन । सधँै केही महिनाको तयारी र सहभागिता मात्र हुँदै आएको छ ।
केही महिनाको तयारीमा हामी साफ, एसियन गेम्स खेल्दै आएका छौँ । तर, ओलम्पिक भनेको बृहत् क्षेत्र हो । यो छोटो र अल्पकालीन योजनाले सम्भव छैन । दीर्घकालीन योजना बनाएर युथ एथ्लिट्सहरूलाई अभ्यास दिलाउँदै उनीहरूको खेललाई निखार्ने हो भने मात्र नेपालको सम्भावना छ ।
यतिका विषयमा ध्यान दिनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले दिएको कार्यक्रममा सम्बन्धित सङ्घ अथवा खेलकुद क्षेत्रले बुझ्न सकेको छैन । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अहिले नेपाल सरकारले गराउँदै आएको छ । जसमा नयाँ खेलकुदमा लाग्ने खेलाडीले सहभागिता जनाउँदै आफ्नो प्रतिभालाई प्रस्फुटन गराएका हुन्छन् ।
तर, सम्बन्धित सङ्घ अथवा खेलकुद क्षेत्रले उनीहरूको प्रदर्शनलाई कहिल्यै पनि नियाल्न सकेको छैन । साँच्चिकै प्रतिभावन् खेलाडी जो खेलकुदमा केही गर्न चाहेका हुन्छन् उनीहरूप्रति कोही पनि जवाफदेही छैनन् । हामी यस्तो सोचबाट धेरै नै टाढा छौँ । रातारात कोही पनि पूर्ण खेलाडी बन्न सक्दैन ।
हाम्रा पुराना खेलाडी जो खेलकुद क्षेत्रमा कहलिएका छन् उनीहरूको खेल करियर कलिलै उमेरबाट सुरु भएको देख्न सकिन्छ । त्यसै पनि हामीले खेलाडीको वृद्धि विकासका लागि उमेर समूहमा नै ध्यान दिन जरुरी छ ।
दीर्घकालीन ढङ्गबाट खेल क्षेत्र अघि बढाउन के–के विषयमा ध्यान दिन जरुरी छ ?
दीर्घकालीन ढङ्गबाट अगाडि बढ्नका लागि योजना मात्र बनाएर सम्भव हुन सकेन । योजनालाई कार्यान्वयन गर्नका लागि सम्बन्धित निकाय लागिपरे मात्र पनि सम्भव छ । बनाएका योजना कार्यान्वयन गर्ने सोचको अभाव रहुन्जेलसम्म योजना बनाए पनि काम छैन । पोलिसी लेबलमा नै बन्न सकेको छैन । बनेको खण्डमा कार्यान्वयन गर्ने त सङ्घ छन् । अहिलेको अवस्थामा कुनै पनि योजना बन्न सकेका छैनन् । सम्बन्धित सङ्घ पनि सुस्ताएको अवस्था छ ।
कति सङ्घले त वार्षिक क्यालेन्डर पनि बनाएका छैनन् । अझै महामारीले गर्दा त्यस्ता सङ्घहरूलाई फाइदा मिलेको छ । अभ्यास गर्नेस्थल बन्द भएको बाहना सङ्घलाई मिलेको छ । खेलाडीमा अहिले केवल नैराश्यता मात्र छाएको छ । खेलेर जीविका सञ्चालन गर्न कठिन हुने खेलाडीले बुझिसेका छन् । खेलकुद क्षेत्रमा चिनिएका तथा उदाउँदै गरेको खेलाडीको अवस्था कस्तो होला ? यही अवस्था चलिरह्यो भने नेपालले सहभागिताका लागि वाइल्ड कार्डकै भर पर्नुको विकल्प छैन ।
ओलम्पिकमा खेलाडीको सहभागिता न्यून भएको अवस्थामा २६, २७ जनाको भ्रमण टोली बन्नु आवश्यकता हो कि बाध्यता ? यस विषयमा सधैँ आलोचना हुँदै आएको छ, यसलाई कसरी विश्लेषण गर्ने ?
वास्तवमा यो निकै नै अस्वाभाविक विषय हो । हिसाबकिताबकै आधारलाई मान्ने हो भने पाँच जना प्रशिक्षक, पाँच जना पदाधिकारी भए पुग्ने थियो । जम्बो टोलीको आवश्यक छैन । अहिले ओलम्पिकमा गएका पदाधिकारी माथिल्लो स्तरका छन् । उनीहरूका लागि भ्रमण ठूलो विषय पनि होइन । लग्नु नै थियो भने खेल बुझ्ने पदाधिकारी, डाक्टर लानुपर्ने थियो । पदाधिकारीलाई लानु अहिलेको अवस्थामा अलि अस्वाभाविक भएको मात्र हो ।
यसरी ठूलो सङ्ख्यामा पदाधिकारीलाई शयर गराउनुले जनमानसमा राम्रो सन्देश जाँदैन । खेलकुदमा नराम्रो सन्देश जान्छ । अनि अभिभावकको विश्वास नै टुट्छ । मैले किन मेरो बालबच्चा खेलक्षेत्रमा पठाउने भन्ने प्रश्न सबैमा उठ्न थालेको छ ।
कसरी लगानी गर्ने भन्ने प्रायोजक संस्थामा प्रश्न उब्जिन थालेका छन् । ठूलो जमातलाई नै यो किसिमको क्रियाकलापले खेल क्षेत्रमा लागेका खेलाडीलाई भड्काइरहेका छौँ । त्यसैले नेतृत्व तहबाट धेरै विचार गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान