बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीमा तीजका गीत : नाटकै भा’छ !

क–कसले ल्याए तीजका नयाँ गीत ?
शुक्रबार, १५ साउन २०७८, १६ : ३३
शुक्रबार, १५ साउन २०७८

महिलाहरूको चाड तीज नजिकिँदै जाँदा यति बेला बजारमा तीजका गीतको बाढी आएको छ । तीजलाई लक्षित गरेर दैनिकरुपमा सङ्गीत बजारमा दुईदेखि आधा दर्जनसम्म गीत भित्रिन थालेका छन् । तीजको बहानामा भित्रिने सबै गीतका विषयवस्तुमा भने एकरूप छैनन् । गायक गायिका अनुसार विषयवस्तु भिन्न–भिन्न छन् ।

कतिपय गायक गायिकाले महिलाको दैनिक समस्या, सासू–बुहारीका पीडा, मायाप्रेम, श्रीमान्सँगको समस्यालाई गीतको विषय बनाएका छन् । कतिपयले माइती र चेलीबीचको सम्बन्ध, माइती नहुँदाको पीडा लगायत विषय गीतमा उठाएका छन् ।

केहीले साथी–साथीको विषयलाई गीतमा समेटेर तीजको सांस्कृतिक महत्त्वको पाटोसमेत झल्काउन सफल छन् । महिलालाई छमछम नचाउने, हँसाउनेदेखि रुवाउनेसम्मका केही गीत बजारमा भित्रिएका छन् ।

लोक गायक बद्री पङ्गेनी यो वर्ष तीजको गीतमा विभिन्न भेराइटी भएको बताउँछन् । माया, प्रेम, सुख, दुःख, गुनासोका गीतहरूले समेत प्राथमिकता पाएको उनको भनाइ छ । ‘विगतका वर्षको तुलना अहिले अधिकांश माया प्रेम र सन्देशमूलक गीत आएका छन्,’ पङ्गेनीले रातोपाटीसँग भने, ‘गीतमा नारीका पीडा र सन्देश प्राथमिकतामा परेका छन् ।’

गायक बद्री पङ्गेनीको विचारसँग शिव दर्शन पशुपति म्युजिक प्रालिका प्रोप्राइटर शिव पौडेल सहमति जनाउँछन् । उनी यो वर्षको तीज गीतमा माया प्रेम, पीडा र केही सन्देशसमेत केन्द्रित रहेको भन्दै खुसी छन् ।

‘गीतमा मायाप्रेम त सदाबहार कन्टेन्ट भए, त्यो छुट्ने कुरै हुँदैन,’ पौडेलले भने, ‘केही गीत अहिलेका समसामयिक राजनीति र घटना क्रमका पनि आएका छन्, त्यसले भेराइटी दिएको छ ।’

क–कसले ल्याए तीज गीत ?

गायिका प्रीति आलेले ब्याटल गीत ‘नाटकै भा’छ नि तीजमा’ भर्खरै सार्वजनिक गरेकी छन् । नजिकिँदै गरेको महिलाहरूको महान् पर्व तीजलाई लक्षित गरेर उनले गीत बनाएकी हुन् । उनलाई गायनमा महेशविक्रम पाण्डेले साथ दिएका छन् ।

तीजकै लागि भनेर बिर्ख विश्वकर्मा र सरस्वती उप्रेतीले पनि ‘सुनको चुरा’ ल्याएका छन् । जुन, केही दिनअगाडि सार्वजनिक भएको थियो । गीतमा गायक विश्वकर्माकै शब्द र लय छ ।

गायिका सम्झना भण्डारी र गायक सचिन भट्टराईको स्वरमा तीज गीत ‘नक्कली कान्छी’ आएको छ । गायिका सङ्गीता सिवाकोटीले तीजकै लागि भनेर ‘मै घुमेँ फनफनी’ बजारमा ल्याएकी छिन् । शरदकुमारी श्रेष्ठले ‘तीज आयो बरीलै माइती’ गीत तयार पारेकी छिन् । चन्द्रा आचार्यले ‘तिम्रा माया’ले ल्याएकी छन् । यी गीतले यति बेला बजार तताउन थालिसकेको छ ।

गायिका दुर्गा सापकोटाको तीज गीत ‘जिन्दगानी’ बजारमा आएको छ । गायिका रिना केसीको तीज गीत ‘मेरी आमा’ र गायिका दीपिका भुसालको तीज गीत ‘लरी बरी लै’ समेत बजारमा आइसकेको छ ।

गायिका सुनिता दुलाल, पशुपति शर्मा, दुर्गेश थापा, एकनारायण भण्डारी, मधु क्षेत्री, खेम सेन्चुरी, कस्तुप पन्त लगायत नयाँ पुराना थुप्रै गायक गायिकामध्ये केहीका तीज गीत बजारमा आइसकेका छन् भने केहीले आउने क्रममा छन् ।

विवादित गीत आएनन्

देशमा कोरोनाले सबै क्षेत्र तहस–नहस बनाएको छ । गीतसङ्गीतको क्षेत्र पनि यसको असरबाट अछुतो छैन । स्वदेश होस् वा विदेशका स्टेज कार्यक्रममा सधैँ व्यस्त रहने गायक गायिका अहिले घरमै सीमित हुन पुगेका छन् । तैपनि विगतका वर्षको तुलनामा यो वर्ष तीजका गीतसङ्गीत धेरै नै बजारमा आइरहेका छन् ।

गीत सङ्गीतको स्तर हेर्ने हो भने पनि विगतका वर्षभन्दा सुधारिएर आएका छन् । गत वर्ष तीज गीतका नाममा थुप्रै  अश्लील, भद्दा र अपाच्य शब्दले भरिएका गीत बजारमा आएको भन्दै विवाद चर्किएको थियो । यो वर्ष भने त्यस्ता सामग्रीमा कमी देखिएको छ । केही गीतलाई छाडेर अधिकांश तीज राम्रा र चित्त बुझ्दा भित्रिएका छन् ।

विगतका वर्षको विकृतिका कारण करिब २ महिना अगाडि नेपाल लोकदोहोरी गीत प्रतिष्ठानले एक विज्ञप्तिसमेत जारी गरेको थियो । जसमा तीज गीतमा अपाच्य शब्द प्रयोग नगर्न अनुरोधसमेत गरिएको थियो । सोही कारण पनि यो वर्ष तीजका गीतमा विकृति कमी आएको कतिपय गायकको भनाइ छ ।

‘यो वर्ष धेरै गीत राम्रा आएका छन्,’ गायक पङ्गेनीले भने, ‘केही कलाकारले प्रतिष्ठानको अनुरोध नमानेको पनि देखियो । त्यसैले सबै गीत राम्रा आए भनेर भन्न मिल्दैन ।’ यस्ता विषयमा राज्यको डर नभएकाले पनि पुरै नसुध्रिएको पङ्गेनीको बुझाइ छ ।

पशुपति म्युजिक प्रालिका शिव पौडेलले पनि यस वर्ष विकृतिले भरिएका गीतमा कमी देखिएको अनुभव गरेका छन् । त्यसो हुनुमा कलाकर्मीको चेतनासमेत भएको उनी बताउँछन् । ‘अहिले धेरै व्यक्तिले राम्रो गीत ल्याउनुपर्छ भनेर बुझेका छन्,’ पौडेलले भने, ‘समाजमा बहिष्कारको डरले पनि सुधारिएका हुन् ।’ पछिल्लो समय श्रोता दर्शक धेरै सचेत देखिएको पनि तीज सुधारिएको उनी सुनाउँछन् ।

लोक गायक कस्तुप पन्त पनि गत वर्षको तुलनामा यो वर्ष तीज गीत राम्रा आएको बताउँछन् । ‘गीतको बजार विस्तार भएको छ । राम्रा गीतले सधैँ प्राथमिकता पाउँछन् भने नराम्रा गीत क्षणिक हुने गरेका छन्,’ सङ्गीतकारसमेत रहेका पन्तले भने, ‘आफ्नो सिर्जनाले सधैँ प्राथमिकता पाओस् भन्ने सोच सर्जकमा हुन्छ ।’  

सिक्वेलको लहर

कोरोनाले गायक गायिकालाई घरमै सीमित बनाए पनि नेपाली फिल्मझैँ गीतसङ्गीतमा पनि अहिले सिक्वेलको होड देख्न सकिन्छ । गायिका प्रीति आले गत वर्ष आएको गीत ‘फरिया लरीलै बरीलै’को सिक्वेलका रूपमा ‘सोल्टी राजाको टुम्लेटु’ बोलका गीत ल्याएकी छन् ।

गायक तिलक ओली र समीक्षा अधिकारीले पनि आफ्नो हिट गीत ‘हङ्कङको साडी’को सिक्वेलका रूपमा ‘हङ्कङको साडी–२’ ल्याएका छन् । एकनारायण भण्डारीको शब्द तथा सङ्गीत रहेको गीत ‘फरिया’को पनि अहिले सिक्वेलका रूपमा ‘फरिया–२’ ल्याइएको छ ।

गत वर्ष धेरै बजेका गीत ‘सोचे झैँ जिन्दगी रैनछ’ ल्याएका खेम सेन्चुरीले पनि आफ्ना गीत ‘महामारी काण्ड’ र ‘लरी लरी लै’को सिक्वेल ‘महामारी काण्ड–२’ र ‘लरी लरी लै–२’ ल्याएका छन् ।

गायक दुर्गेश थापा पनि ‘बिच्च बिच्चमा’ गीतको सिक्वेलका रूपमा ‘बिच्च बिच्चमा–२’ फिमेल भर्सन पनि ल्याउने तयारी गरिरहेका छन् । यो गीतको उनी भाग ४ र भाग ५ समेत ल्याउँदैछन् ।

यी त उदाहरण मात्र हुन् । यति बेला थुप्रै गायक गायिका आफ्नो चलेको अघिल्लो गीतको सिक्वेलमा लागेको देख्न सकिन्छ ।

ब्रान्ड प्रयोग गर्न सिक्वेल ल्याउनेहरू बढेको गायक बद्री पङ्गेनी बताउँछन् । ‘नयाँ सिर्जना क्षमता नभएर उनीहरू सिक्वेलमा लागेका भने होइनन्’ पङ्गेनीले भने ‘सिक्वेलका गीत र सङ्गीत सबै फरक हुन्छन् ।’

गत वर्षहरूमा चलेका गीतहरूलाई ब्रान्डका रूपले प्रयोग गर्दा चल्न सक्ने मानसिकताले पनि सिक्वेल बनाएको हुन सक्ने पङ्गेनीले अनुमान लगाए । ‘दर्शकलाई खोज्न र बुझाउनसमेत सजिलो हुने हिसाबले पनि सिक्वेल बनेको हुनुपर्छ,’ पङ्गेनीले अगाडि थपे ‘मैले भने सिक्वेल बनाएको छैन । म फ्रेस गीतमा विश्वास गर्छु ।’

गायिका सुनिता दुलाल पनि आफू सिक्वेलको पछि नलागेको बताउँछिन् । ‘सिक्वेल ल्याउनु एक किसिमले राम्रो र सजिलो पनि होला,’ गायिका दुलालले भनिन्, ‘दर्शकका लागि फ्रेस गीत दिनुपर्छ भन्ने मेरो सोच छ ।’

पहिलेको गीत अरूको च्यानलमा दिएकाले अहिले आफ्नै च्यानलका लागि सिक्वेल बनाउने गरेको गायिका दुलालको भनाइ छ । उनले भनिन्, ‘युट्युबको पुरानो भ्युज पाउन पनि सजिलो हुन्छ भनेर सिक्वेल गर्छन् ।’ आफूले अहिले ल्याउन लागेको गीत ‘परदेशी छोरी’ सिक्वेल नभएर फ्रेस भएको गायिका दुलालले सुनाइन् ।

दर्शकले जस्तो गीत रुचाएका छन्, त्यस्तै गीत बनाउँदा सिक्वेल बन्ने गायक दुर्गेश थापा बताउँछन् । दर्शकले रुचाएको गीत बनाउन सजिलो र उनीहरूको मन जित्न पनि सहज हुने थापाको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप