सङ्कटमा एमालेको भविष्य

person explore access_timeसाउन १५, २०७८ chat_bubble_outline0

भनिन्छ, सर्पले छेपारो समात्यो भने निल्न पनि सक्दैन, छाड्न पनि सक्दैन । निल्यो भने मर्छ । छाड्यो भने आँखा फुट्छ । हाल नेपाल कम्युनिष्ट पार्टी एमालेको अवस्था पनि त्यस्तै छ । उसले अध्यक्ष ओलीको निरङ्कुश शैलीप्रति विद्रोह गर्दै आएको माधव समूहलाई निकाल्न पनि सकेको छैन र समेट्न सकेको पनि छैन । समेटौँ अध्यक्ष नै अफ्ठ्यारोमा पर्ने अवस्था छ । उनका निम्ति यो आफैँ पर्ने खाल्टो खन्नुसरह हो । निकालौँ आगामी चुनावसम्म पार्टीमा कल्पना बाहिरको धाँजा फाट्ने सम्भावना छ ।

मुलुक भनेको मै हुँ भन्दै तीनवटै अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई दवावमा राख्न खोज्ने ओली त्यतिबेला छर्लङ्ग भए जतिबेला सर्वोच्च न्यायालयको संवैधानिक इजलासले उनको स्थान देखाइदियो । सम्भवतः इजलासले फैसला सुनाउनु एकैछिन अघिसम्म पनि उनी प्रतिनिधिसभा पुनःस्थापित भए पनि प्रधानमन्त्री तोकिने छैनन् भन्नेमा ढुक्क थिए । र, त्यसपछि पनि कुनै न कुनै तिकडम गरेर शासनसत्ताको बागडोर आफ्नै हातमा लिने जाल बुन्दै थिए ।

जब न्यायालयले संविधानको धारा ७६(५) को व्याख्या गर्दै सरकार प्रमुख र राष्ट्रपतिको नाममा परमादेश जारी ग¥यो तब उनी आगो भए र न्यायालयप्रति नै विष वमन गर्न थाले । आफू र आफ्ना मात्र ठीक अरु सबै बेठीकको राग अलाप्दै बालुवाटारबाट बार्दलीसम्म पुगेका ओलीले सायद बार्दलीबाट ओर्लने बेलासम्म उनकै कारण एमाले नामको पार्टी उठ्नै नसक्ने गरी धराशायी हुने अवस्थामा पुग्दैछ भन्ने हेक्का पाइसकेका थिए । लगत्तै जसोदेखि बोली र व्यवहारमा देखिएको परिवर्तनले यही देखाउँछ । 

हाल अध्यक्ष ओली केन्द्रदेखि प्रदेशसम्म रक्षात्मक अवस्थामा पुगेका छन् । त्यसैले माधव समूहलाई फकाएर थकाउने रणनीति अख्तियार गर्दैछन् । २४ घन्टाभित्र चित्त बुझ्दो जबाफ न दिए जे पनि हुन सक्छ भन्ने खालको कडा स्पष्टीकरण सोधिएको यतिका दिन बितिसक्दा पनि तत्सम्बन्धी कारवाहीलाई अघि बढाउन सकिरहेका छैनन् । यही नै उनको मनोविज्ञान बुझाउने मजबूत आधार हो ।

उता माधव समूह ओलीको यही मनोविज्ञानमा टेकेर थर्काएर थकाउने प्रयास गरिरहेको छ । यसको अर्थ हो एमाले घर झगडाको भूतभूतेले दुवै पक्षको टाउको रन्काइरहेको छ । समयमै यसको व्यवस्थापन गर्न नसके आगामी चुनावसम्म एमाले नामको पार्टी जलेर खरानी हुन बेर छैन ।

भागवतमा एउटा श्लोक छ– ‘हिंस स्वपापेन विहिंसित खलु । साधु समत्वेन भयाद्विमुच्यते ।’​ व्यासजीले यो एउटै श्लोक मार्फत् सज्जन र दुर्जनको अवस्था दिग्दर्शन गरेका छन् । उनी भन्छन्– हिंस्रक स्वभाव भएका मानिस आफ्नै कर्मले हिंसित भइरहेका हुन्छन् भने सज्जनहरू जस्तोसुकै विपत्तिबाट मुक्त भइरहेका हुन्छन् ।

नेकपा एमाले खासगरी अध्यक्ष ओलीको अवस्था पनि कदाचित यो भन्दा भिन्न छैन । झण्डै दुई तिहाइ जनमत जुटाएर सत्तारोहण गरेका ओली तीन वर्ष पूरा हुँदानहुँदै आफ्नै दम्भ र अहङ्कारका कारण बहुमत गुमाउँदै लज्जास्पद अल्पमतमा झरेर बहिर्गमित भए । 

भलै उनलाई कमजोरी स्वीकार्न गाह्रो परेको होस् तर अहिलेको अवस्था यही हो । नपाउनेले के पायो बोक्रैसित खायो भनेको यही हो । ओलीले दुई तिहाइको बहुमत त पाए, तर धान्न भने सकेनन् । फलतः ‘दुःख पाइस मङ्गले आफ्नै ढङ्गले’ को नियति भोग्दैछन् । उता राष्ट्रपति विद्यादेवी भण्डारीको अवस्था पनि त्यस्तै छ । सायद उनलाई लागेको थियो सर्वसत्तावादी अध्यक्षसँग कुम जोडिएपछि सात खत माफ हुन्छ । कालोलाई सेतो भने पनि हुन्छ, सेतोलाई कालो भने पनि हुन्छ । दिउँसै रातप¥यो भने पनि सबैले पत्याउँछन्, पत्यार कर लाग्छ । ओलीको बोलीमा लोली मिलाउँदै ‘हिहि’ गर्न नहिचकिचाउनु यसैको उदाहरण हो ।

जहाँ ओलीको विश्वास पात्र हुनुलाई नै राष्ट्रपति पदको लाइसेन्स बनेको छ, बनाइको छ त्यहाँ हुने भनेको यस्तै हो । हो, यसमा जननेता मदन भण्डारीको असामयिक निधनले मलजल भने पक्कै गरेको छ । मदन भण्डारी बाँचेका भए उनी अहिले पनि चुलोचौकोमै सीमित हुने थिइन् सायद । मदन भण्डारीको असामयिक निधनले दिएको सेतो सारी उनका निम्ति यति ठूलो वरदान बन्न पुग्यो कि जीवनमा कहिल्यै पछाडि फर्केर हेर्न परेन । यहाँ दोष उनको मात्र हो भन्ने होइनन् । दोष त्यस्तो प्रवृत्तिको हो, जहाँ कसैको निधनलाई जनताको भावनासित विनियम गर्ने प्रवृत्ति कायम रहन्छ । कम्तीमा भण्डारी प्रकरणबाट दलहरूले यसको पाठ सिक्नै पर्ने देखिन्छ । 

तर, हरेक समय आफैँले सोचे जस्तो हुने कहाँ हुँदो रहेछ र । जब परमादेशले उनको समेत लक्ष्मण रेखा कोरिदियो तब यति बढी दिग्भ्रमित हुन पुगिन् कि आफ्नै पद र कर्तव्यको समेत हेक्का राख्न सकिनन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहणमा देखिएको उनको बेहोसीपन यसैको ज्वलन्त प्रमाण हो । 

हाल उनलाई ओली भक्तिको मूल्य निकै महङ्गो पर्ने सङ्केत देखिँदै छ । झिनो स्वरमा सही महाभियोगको आवाज उठिसकेको छ । सरकारले पूर्णता पाउन बाँकी रहेकाले हुनुपर्छ गठबन्धन नेताहरू यसबारे बोल्न भ्याएका छैनन् । यसको अर्थ बोल्दै बोल्दैनन् भन्ने होइन ।  त्यस्तै खण्डखातिर परे बाहेक एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने निश्चित जस्तै छ । काङ्ग्रेस, एमाओवादी केन्द्र र जसपाबीच मन्त्रिमण्डलको भागबन्डा टुङ्गो लागिसकेको समाचार छ ।

सत्तागठबन्धनको मुख्य धार माधव समूहको अलमलको असर सरकार गठनमा परेको बुझिन्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले माधव समूह पनि सरकारमा सहभागी हुने सङ्केत गरिसकेका छन् । माधव समूहका नेताहरू पनि सत्तामा सहभागी भएर सरकार टिकाउनुपर्छ भनिरहेका छन् तर माधव नेपाल आफैँ भने यो पंक्ति तयार पार्दासम्म खुलेका छैनन् । तर, कांग्रेस, माओवादी अब माधव समूहलाई पर्खेर बस्न नहुने पक्षमा पुगेका छन् । माधव समूहलाई संवैधानिक निकाय लगायतका सरकारी पदहरूमा समेटेर भए पनि अघि बढ्नुपर्ने उनीहरूको बुझाइ छ । सायद जसपा संसदीय दलको नेता छनिने बित्तिकै यसको छिनोफानो हुनेछ ।

त्यसपछि नेताहरूको ध्यान महाभियोग तर्फ जाने अनुमान गर्न सकिन्छ । सायद यसको छनक राजनीतिका कुटिल खेलाडी ओलीले पाइसकेका छन् । उनले माधव समूहलाई चलाउन नसक्नुको एउटा कारण यो पनि हुन सक्छ । यस बाहेक उनले एमसीसी बखेडाको अर्को तुरूप पनि प्रयोग गर्न सक्छन् । एमसीसी पास गराउन मरिहत्ते गर्दैै आएका ओलीका हनुमानहरूको बोली फेरिँदै गएको पाइनुलाई यसैभित्र राखेर हेर्नुपर्ने हुन्छ ।

सरकारको एउटा काम एमसीसीको निर्णय प्रक्रिया पनि हो । नेपाली काङ्ग्रेस सुरुदेखि नै यसैको पक्षमा उभिँदै आएको छ । यसको हस्ताक्षर कर्ता आफैँ भएकाले पनि उसमाथि नैतिक दवाव बढी नै छ । यसबारे एमाओवादी केन्द्रले सुरुदेखि नै फरक मत राख्दै आएको छ । एमएमसीसी जस्ताको तस्तै पास गर्नु हुन्न भन्ने उसको ठम्याइ हो ।

अहिलेसम्म पनि माओवादी नेताहरू यसै भन्दै आएका छन् । यस्तो अवस्था मुद्दा पेचिलो बन्दै जानु स्वाभाविक हो तर माओवादीलाई पनि कुनै न कुनै रूपमा यसैको पक्षमा उभिन करै लाग्ने अवस्था छ । पक्कै उनीहरू यसैका कारण दुःखले निर्माण गरेको गठबन्धन सरकार कमजोर होस् भन्ने चाहने छैनन् ।

यहीँनेर यसलाई पास हुन नदिएर सत्तागठबन्धनमा दरार पार्न ओलीले आफ्नो तुरुप प्रयोग गर्न सक्छन् । उनको चिन्ता एमसीसीले राष्ट्रहित गर्छ कि गर्दैन भन्ने होइन । कसरी सत्तागठनबन्धनलाई कमजोर पार्न सकिन्छ भन्ने हो । सके ‘घिउ पाइएला नभए खट्टे सेलाउला’ भने जस्तो सके यसैको भ-याङ चडेर पुनः सत्तारोहण गरी हालीमुहाली गर्न पाइएला न भए पनि महाभियोग प्रकरणबाट ध्यान अन्यत्र मोड्न सकिन्छ भन्ने निष्कर्षमा एमाले (ओली) पुगेको देखिन्छ । तर, जे गरे पनि एमालेका निम्ति भावी दिन सुखद भने देखिन्न । भावी निर्वाचनसम्ममा एमाले कहाँबाट कहाँ पुग्छ त्यो त निर्वाचनपछि नै थाहा होला तर अहिलेको परिप्रेक्षमा भन्नुपर्दा एमालेको भविष्य सङ्कटतर्फ उन्मुख हुँदै गएको पक्कै हो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।