शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री पौडेल र दुई मन्त्रीबीच कार्यसम्पादन करार

बिहीबार, १४ साउन २०७८, २३ : ०८
बिहीबार, १४ साउन २०७८

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका दुई मन्त्रीसँग आर्थिक वर्ष २०७८/७९ का लागि कार्यसम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री पौडेलले आज आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।

कार्यसम्पादन करार सम्झौता आदानप्रदान गर्दै मुख्यमन्त्री पौडेलले सम्झौताअनुसार कार्य गर्न मन्त्रीलाई अनुरोध गरे । पौडेलले प्रदेश सरकारको अघिल्लो वर्ष कार्यसम्पादनका हिसाबमा सफल रहेको बताउँदै आगामी दिनमा जनताले महसुस गर्नेगरी काम गर्नुपर्ने धारणा राखे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बहुआयामिक क्षेत्रमा काम गर्नुपर्ने उल्लेख गरे । उनले सम्झौतालाई औपचारिकता मात्र नबुझ्न अनुरोध गर्दै हस्ताक्षरको गरिमा र मर्यादा राख्नुपर्ने बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले प्राप्त जिम्मेवारीको पूर्ण पालना गर्दै जनताका पक्षमा परिणाममुखी काम गर्न प्रतिबद्ध रहेको बताए । उनले नागरिकको आशा र भरोसालाई शिरोधार्य गर्दै कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न दृढतापूर्वक लाग्ने धारणा राखे । उनले मुख्यमन्त्री पौडेलसँग गरिएको करारनामाअनुसार नै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री पौडेलले यसअघि गत साउन ८ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री सरस्वती बस्नेतसँग कार्य सम्पादन करार सम्झौता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप