बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको महाधिवेशन सर्ला ? पाँच दिनभित्र टुंगो लाग्ने

सदस्यता विवाद : घुमीफिरी रुम्जाटार
बिहीबार, १४ साउन २०७८, २० : ०५
बिहीबार, १४ साउन २०७८

नेपाली काँग्रेसको सदस्यतासम्बन्धी विवाद टुंगो लाग्न नसकेपछि आगामी भदौ १६ मा हुने भनिएको महाधिवेशन सर्छ कि तोकिएको समयमै हुन्छ भन्ने संशय उत्पन्न भएको छ । विहीबार बूढानीलकण्ठमा बसेको पूर्व पदाधिकारीसहितको बैठकको निर्णय हेर्दा महाधिवेशन सर्ने, नसर्नेबारे अबको पाँच दिनमा टुंगो लाग्ने देखिएको छ ।

क्रियाशील सदस्यता छानविनका लागि रमेश लेखकको संयोजकत्वमा गठित समितिले केही विवादहरु समाधान गर्न नसकी मंगलबार केन्द्रीय कार्यसमितिलाई अधुरो प्रतिवेदन बुझाएको थियो । तर, केन्द्रले एक दिनको म्याद दिएर बुधबार उक्त प्रतिवेदन समितिमै फिर्ता पठाएको थियो ।

विहीबार पुनः छानविन समितिले हामी विवाद समाधान गर्न सक्दैनौं भन्दै सो प्रतिवेदन केन्द्रलाई फिर्ता गरिदिएको छ ।  अब केन्द्रीय नेताहरुले पाँच दिनमा विवाद समाधान गर्ने बताएको समितिका सभापति रमेश लेखकको भनाइ छ ।

अबको पाँच दिनमा केन्द्रीय नेताहरुले सदस्यता सम्बन्धी विवाद टुंगो लगाएको खण्डमा तोकिएको समयमा महाधिवेशन गर्न समस्या नहुने नेता लेखकले सञ्चारमाध्यमलाई बताए । बिहीबार बूढानीलकण्ठको बैठकपछि लेखकले भने, ‘पाँच दिनमा नेताहरुले गर्ने भन्नुभयो । अब पाँच दिनभित्रै यी सबै विषयहरु टुङ्ग्याउनुभयो भने त अरु धेरै समस्याहरु रहँदैनन् ।’

तर, केन्द्रीय नेताहरुले पाँच दिनमा पनि विवाद समाधान नगरे भदौ १६ मा गर्ने भनिएको महाधिवेशन सर्ने खतरा रहेको नेताहरु बताउँछन् ।

काँग्रेसको सदस्यता विवाद के हो ? र, विहीबार बूढानीलकण्ठ बैठकले के गर्यो ? छानविन समितिका संयोजक रमेश लेखकको भनाइ जस्ताको त्यस्तै –

‘हामीले सकेनौँ, नेताहरुले पाँच दिनमा गर्छौं भन्नुभएको छ’

आज नेपाली काँग्रेसका पूर्व पदाधिकारी र वर्तमान पदाधिकारी नेताहरु र नेपाली काँग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका साथीहरु समेत बसेर छलफल भएको छ ।

हामी क्रियाशील सदस्यता छानविन समितिले नेताहरुलाई हाम्रो प्रतिवेदन साउन १२ गते नै प्रतिवेदन बुझाइसकेका छौं । हामी क्रियाशील सदस्यता छानविन समितिले नेताहरुकै परामर्शबाट मापदण्ड बनाएका थियौं । त्यो मापदण्डले हाम्रो समितिमा सहमतिले निर्णय हुन नसकेका विषयलाई केन्द्रीय नेताहरुको तहमा निर्णय गर्ने भनेर हाम्रो मापदण्डमा उल्लेख थियो ।

हामीले क्रियाशील सदस्यताको छानविनको अधिकांश काम सकिसकेका छौं । केही विषयहरु केन्द्रीय नेताहरुको केन्द्रीय नेतृत्व तहमा नै निर्णय गर्नुपर्ने भनेर हामीले पहिचान पनि गरिसकेका छौं । ती पहिचान गरेका विषयहरु प्रतिवेदनमा उल्लेख गरेर केन्द्रीय नेताहरुको तहमा हामीले प्रस्तुत गरेका छौं ।

आजको छलफल परामर्शपछि केन्द्रीय नेताहरुको तहमा निर्णयका लागि प्रस्तुत गरिएका विषयहरुमा केन्द्रीय नेताहरुको तहबाटै छलफल गरेर निर्णय गर्ने भन्ने निर्णय भएको छ । उहाँहरुले त्यो निर्णय गर्नुहुन्छ र त्यसपछि अरु प्रक्रियाहरु पनि अगाडि बढ्छन् ।

महाधिवेशन भनेकै बेलामा गर्ने भनेर नै हामी यो सबै काम गरिराखेका छौं । जति पनि विषयहरु, जस्तो– अरु पार्टीबाट आएका मानिसहरुको समायोजनको विषय छ । एक–दुईवटा निर्वाचन क्षेत्रहरुमा निर्णय गर्नुपर्ने विषय छ ।

केन्द्रीय नेताहरुको तहमा निर्णय गर्नुपर्ने भनेर पहिचान गरेका विषयहरुलाई पाँच दिनभित्र नेताहरुले निर्णय गरिसक्ने भन्नुभएको छ र नेताहरुले निर्णय गरिसकेपछि त्यसपछि निर्वाचन समितिका लगायतका अरु कामहरु अगाडि बढ्छन् ।

अरु पार्टीबाट काँग्रेसमा आएका नेता तथा कार्यकर्ताहरूलाई नेपाली काँग्रेसको सदस्यता दिनेबारेमा समायोजन समितिले निर्णय गरेको छ । र, हाम्रो समितिमा समायोजनका बारेमा मतैक्य हुन सकेन । याने कि सहमति हुन सकेन । त्यसका बारेमा के गर्ने भन्ने एउटा विषय छ । अर्को विषय धनुषाको ४ नम्बर र सर्लाहीको २ नम्बर क्षेत्रका बारेमा के गर्ने भन्ने अर्को विषय छ । र, तेस्रो विषय भनेको बारा र सप्तरीको नयाँ तर्फको क्रियाशील सदस्यका बारेमा के गर्ने भन्ने विषय छ । मूलतः यिनै तीनवटा विषय छन् ।

यी तीनवटा विषयमा केन्द्रीय नेतृत्व तहमा निर्णय भइसकेपछि अनि निर्वाचनको कुरा निर्वाचन समितिले अगाडि बढाउँछ र महाधिवेशनतिर हामी अगाडि बढ्छौँ । यसका लागि समय पुग्ने गरेरै हामीले छलफल गरेका छौं ।

पाँच दिनमा नेताहरुले गर्ने भन्नुभयो । अब पाँच दिनभित्रै यी सबै विषयहरु टुङ्ग्याउनुभयो भने त अरु धेरै समस्याहरु रहँदैनन् ।         

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप