शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा एमाले र माओवादी मिल्ने सम्भावना छ : ज्ञवाली

‘एक वर्षभित्र महाधिवेशन गरौं, नयाँ लिडरसिप आउँछ’
बिहीबार, १४ साउन २०७८, १९ : ४३
बिहीबार, १४ साउन २०७८


नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमाले एकतावद्ध भइसकेपछि अरु वामपन्थी पार्टीसँग एकता हुने बताएका छन् । एमाले मिलिसकेपछि आगामी चुनावसम्म एमाले र माओवादीका बीचमा एकता हुन सक्ने ज्ञवालीको विश्वास छ । रातोपाटीसँगको भिडियो अन्तरवार्तामा हामीले ज्ञवालीलाई सोध्यौं –एमालेसँग विगतमा एक भएको माओवादी अहिले काँग्रेससँग गएको छ । आगामी चुनावसम्म फेरि माओवादीसँग एकताको सम्भावना कति छ ?
जवाफमा एमाले उपाध्यक्ष ज्ञवालीले भने, ‘संसारमा असम्भव भन्ने कुनै चिज छैन । बाटो एउटै, उद्देश्य एउटै भएपछि तपाई अलग पार्टी र चुलाचौका गरेर किन बस्नुहुन्छ ? परिस्थितिले मिलाउनेतिर लान्छ । चुनावमा प्रतिस्पर्धा हुन्छ भने फेरि वामपन्थीहरु किन मिलेर जान सकिँदैन ? त्यो सम्भावना देख्छु ।’    

एमाले एक हुँदा अरु पार्टीले डराउन आवश्यक नरहेको ज्ञवालीले बताए । उनले भने, ‘नेकपा एमाले एकतावद्ध भयो भने अरु पार्टीहरू डराउनुपर्ने आवश्यकता छैन । नेपाली काँग्रेसलाई म के भन्छु भने वामपन्थी पार्टीहरू आफ्नै कमजोरीले फुटिरहेका छन्, अनि योभन्दा बढी एमाले पनि फुट्नैपर्छ भनेर तपाईहरु नठान्नोस् ।’

माधव नेपाल समूहका नेता ज्ञवालीसँग हामीले एमाले विवादको अन्तर्यमा प्रवेश गरेर लामो कुराकानी गरेका छौं । एमाले विवादको मिलनबिन्दु के हो र आगामी महाधिवेशनमा को अध्यक्ष बन्ला भन्ने प्रश्नमा समेत हामीले ज्ञवालीको विश्लेषण सुन्यौं । आगामी महाधिवेशनमा केपी ओली र माधव नेपालकै बीचमा पनि प्रतिस्पर्धा हुने सम्भावनालाई ज्ञवालीले अस्वीकार गरेनन् । प्रस्तुत छ, एमाले नेता ज्ञवालीसँग रातोपाटीले गरेको भिडियो वार्ताको सम्पादित अंश : 

 नेकपा एमालेभित्र जुन अन्तरविरोध देखियो, यसको मूल कारण के हो ?
यो संविधानको रक्षाका लागि गरेको हो । यो लडाइँ, केपी ओलीजीले संविधानमाथि आक्रमण गरेर संसद विघटन गरेको हुनाले यो अन्तरविरोध बढेको हो । होइन भने हामीले एमालेलाई निषेध गर्न खोजेको होइनौं । एमाले हामीले बनाएको पार्टी हो । यो घरमा हाम्रो धेरै रगत–पसिना बगेको छ । यसको हामीलाई माया छ । अब हामी फेरि पनि एकतावद्ध भएर जानुपर्छ । जब उहाँले ढोका बन्द गरिदिनुभयो, त्यसले गर्दा अन्तरविरोध बढेको हो ।

माधव नेपाल समूहमा रहनुभएका तपाईहरु शुरुमा बेग्लै पार्टी खोल्ने तयारीमा लाग्नुभएको थियो, अहिले पछाडि हट्नुभएको हो ?
हामी एमाले नै हुन चाहन्थ्यौं । तर, उहाँ (केपी ओली) ले ढोका बन्द गरिदिनुभयो । आउन मन लागे आऊ, नभए जहाँ जान मन छ, जाऊ भनेर उहाँले भनिसकेपछि, महाधिवेशन आयोजक कमिटी बनाएर महाधिवेशनको तयारी गरेर अगाडि बढिसकेपछि हामी के निश्कर्षमा पुग्यौं भने वास्तवमा उहाँले अब हामीलाई इन्ट्री दिनुहुन्न । हाम्रा पदाधिकारकारीका पद पनि सबै गए । उहाँले महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिव राखेर अरु सबै पदाधिकारी क्यान्सिल गर्नुभो । पार्टीको विधान च्यातचुत पार्नु भो र आफूलाई जे मन लाग्छ, त्यही गर्नुभो । 

यस्तो स्थिति भइसकेपछि हामी कस्तो स्थितिमा पुग्यौं भने, अब हामीले अर्को पार्टी बनाउनुपर्ने भयो । र, हामीले निश्कर्ष निकाल्यौं– अर्को पार्टी गठन गर्नु हाम्रो बाध्यता हो, पार्टी एकता हाम्रो इच्छा हो । र, देशको आवश्यकता पनि हो । अर्को कम्युनिष्ट पार्टी निर्माण गर्नु भनेको हाम्रो बाध्यता हो । हामीले त्यसो गर्न खोजेको त होइन, तर एमालेभित्र हामीलाई प्रवेश हुने सम्भावना छैन भन्ने देखेपछि अब अर्को कम्युनिस्ट पार्टी बनाएर वामपन्थी मोर्चा बनाउँदै अरु सबै कम्युनिस्टहरूलाई मिलाएर नयाँ उचाइमा जानुपर्छ कि भनेर हामीले सोचेकै हो । 

तर, अहिले नयाँ पार्टी बनाउनुको साटो एमालेमै रहने परिस्थिति बनेको हो त ?
यतातिर आइसकेपछि ओलीजी महाधिवेशन आयोजक कमिटी विघटन गर्ने ठाउँमा पुग्नुभयो । आयोजक कमिटी विघटन गर्ने, जेठ २ मा फर्कने, पार्टी एकता गर्ने भन्ने ठाउँमा पुग्यो परिस्थिति । उहाँले राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउनुभएको थियो, ती सबैलाई अदालतले अवैधानिक भनिदियो । त्यसपछि हामीभित्र विश्लेषण फरक आउन थाल्यो ।

अर्को पार्टी बनाउनु त हाम्रो बाध्यता हो । तर, हाम्रो ईच्छा भनेको त एमालेलाई नै जोगाउने हो । एमालेलाई नै एकतावद्ध बनाउने त पहिलेदेखि नै हाम्रो विचार थियो । अहिलेको परिस्थितिले हामीलाई अलिकति बाटो खोलिदियो ।
अब केपी ओलीजीको सरकार गइसकेपछि त अझ बढ्ता यो सबै धक्का र असफलताबाट अब हामीले शिक्षा लिनुपर्छ र जसरी भए पनि, लचिलो भएर पनि एकतावद्ध हुनुपर्छ, पार्टी जोगाऔँ भन्ने कुरा केपी ओली समूह भित्रैबाट आउन थाल्यो । तल–तलका कार्यकर्ताहरूबाट एकताको भावना आउन थाल्यो ।

तपाईलाई एउटा घटना सम्झाइदिऔं, केपी ओलीजी अन्तरगतकै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा उहाँको बढ्तै पकड भएको ठाउँका जिल्ला अध्यक्षहरुले हदैसम्म लचिलो भएर पनि पार्टी एकता जोगाउनुपर्छ भनेर स्टेटमेन्ट जारी गरेका छन् । यसरी देशभरि पार्टीलाई एकतावद्ध बनाउनुपर्छ, अब परिस्थिति बदलियो भन्ने विचारहरु आए । जेठ २ तिर जाने अवस्था भयो । संसद पुनःस्थापना हुनु थियो, त्यो पनि भइसक्यो । संविधानलाई लिकमा ल्याउनु थियो, त्यो त भइ नै सक्यो । 

माधव नेपाललाई पनि आफ्नै समूहभित्रबाट एकताका लागि ‘प्रेसर’ भयो हैन ?

प्रेसर आयो । हाम्रो भित्र पनि विचार बन्यो । उता पनि प्रेसर आउँदै गयो । यसले गर्दा हामीमा अहिले अलि नजिक हुने र एकतावद्ध भएर जानुपर्छ भन्ने भावना दुबैतिर प्रवल बन्दै गइरहेको छ । एकतावद्ध हुनुपर्छ, हदैसम्म लचिलो भएर पनि मिलेर जानुपर्छ भन्ने भावना दुबै समूहभित्र बढिरहेको छ ।

भविश्यमा के हुन्छ, त्यो भन्न सकिन्न । यो मुख्यरुपमा केपीजीमा भर पर्छ है फेरि । माधव नेपाल, अरु कसैमा होइन, मुख्यरुपमा यो एकता जोगाउने कि नजोगाउने कमरेड केपी ओलीमा भर पर्छ । किनभने, उहाँ पार्टीको अध्यक्ष हो ।
दुवैतर्फबाट तमाम नेता र कार्यकर्ताहरूको विशाल पंक्ति पार्टीलाई एकतावद्ध बनाउनुपर्छ, एमालेलाई जोगाउनुपर्छ, एमालेभित्रका खराबीहरूलाई हामी सबै मिलेर हटाउनुपर्छ भन्नेमा छन् । एमाले नामको भवनभित्र जुन फोहोर जम्मा भएको छ, यसलाई हामी सबै मिलेर सफा गरौं न ।

तपाईको विश्लेषण सुन्दाखेरि एमालेका दुबै समूहमा एकताको भावना बढेको हो ? अब तत्कालै एमालेले कस्तो बाटो लिन्छ ?
एकताको भावना बढेको छ । तर, अहिलेसम्म फाइनल, टुंगो केही पनि छैन । तपाईलाई क्लियर कट भन्दिउँ, एकता कहाँ पुग्छ वा एकता कसरी हुन्छ ? साँच्चिकै सतप्रतिशत एकता हुन्छ त ? परिस्थितिले के भन्छ त भन्दा अब एकता हुने सम्भावना बढेको छ । तर, यो नै त फाइनल होइन ।

किनकि, एकता हुन नदिने प्रयत्नहरु विभिन्न ढंगले सक्रिय भइरहेका छन् । माधव नेपालको पुत्ला जलाउने, उहाँलाई ढोका बन्द गर्ने प्रयत्न भइरहेको छ । अनि, अरुलाई मात्र प्रवेश छ भनेर हाम्रो समूहलाई विभाजन गर्ने प्रयत्न भइरहेको छ । बहुत सचेत ढंगले यो प्रयत्न भइरहेको छ । अहिले यो एमाले नमिलोस् भनेर देशी र विदेशी शक्तिहरु विभिन्न ढंगले लागिराखेका छन् । यो कुरा हामीले हेरिराखेका छौं । स्वयं केपी ओलीभित्रबाट पनि यसलाई मिल्न नदिनका लागि एउटा पंक्ति ज्यान छोडेर लागिराखेको छ । एमालेलाई मिल्न नदिनुको तात्पर्य के हो ? नेपालको कम्युनिष्ट आन्दोलनलाई छिन्न भिन्न पार्ने । यो कुरामा सबैले सतर्क हुन जरुरी छ ।

तर, माधव नेपाल आउँदैनन्, एमालेमा अब माधव नेपाल बाहेकको एकता हुन्छ भन्ने विश्लेषण पनि सुनिन्छ नि ?
के माधव समूहलाई विभाजित बनाएर नेकपा एमाले एकतावद्ध भएको सन्देश जान्छ ? यस्तो बुझ्छन् जनताले ? माधव नेपाल र झलनाथ खनालविनाको एकता कसैले कल्पना गर्नुभएको छ भने त्यसबाट एकताको म्यासेज जनतामा जान सक्छ ? हामीले त जनतालाई भन्नुपर्छ, हामीले हिजो झगडा गरेको भए पनि आज मिलेर आएका छौं । हामीले हिजो गल्ती गर्यौं, आज सुध्रिएका छौं भन्नुपर्यो । यो भन्नका लागि यो लिडरसिपको पङ्क्तिलाई एकतावद्ध गर्नुपर्यो नि । लिडरसिपलाई बाहिर राखेर केही दुई–चारजना मान्छेलाई मिलाउन खोज्दाखेरि यो एकता हुन्छ ?

उसोभए माधव नेपाललाई बाहिर राखेर एकता गर्ने कुरा नसोचे भयो ?
नसोचे भयो हैन कि, कल्पनै नगरे हुन्छ । उहाँलाई बाहिर राखेर यो एकता गर्छु भनेर सोच्नुभएको छ भने त्यो कल्पना नगर्नोस् । दुई–चारजना यता आउलान्, उता जालान् । देख्नुभएन ? हिजो केपीजीसँग भएका केही सांसदहरु यता आइराखेका छन् । पछिसम्म पनि यसरी आउने–जाने त होला । तर, मूलभूतरुपमा दुबैतर्फको लिडरसिप एक ठाउँमा नबसी एकताको सन्देश जाँदैन ।

एमाले एकताको मिलनबिन्दु के त ?
यसमा आग्रह–पूर्वाग्रहबाट मुक्त हुनुपर्छ । हिजो शारीरिक रुपमा भिडन्त भएका, मर्ने र मार्ने तहमा पुगेका माओवादी र एमालेहरू हामी आपसमा मिलेर पार्टी एउटै बनायौं । मिलेर चुनाव लड्यौँ । दुई तिहाईको सरकार बनायौं । चलाउन सकेनौँ, त्यो हाम्रो अयोग्यता हो । अब लिडरसिपको एकता विना एकताको सन्देश जाँदैन, त्यसैले दुबैतिरको लिडरसिपले खासगरी कमरेड केपी ओलीले यसलाई गम्भीर रुपमा आत्मसमीक्षा गर्नुपर्छ र आफूले गरेका गल्तीहरूलाई रियलाइज गर्नुपर्छ । 

अब महाधिवेशनमा त जानु नै छ आखिर । हामीले एक वर्षभित्र महाधिवेशन गर्नुपर्छ । स्वाभाविक रुपमा नयाँ लिडरसिप आउनेछ । नयाँ अध्यक्ष चुनिएर आउनेछ । तबसम्मका लागि जुन अन्तरिम पिरियड छ, यस्तो बेलामा कसरी यसलाई व्यवस्थित गर्ने ? के होला त त्यो मिलनविन्दु ? यो मिलनविन्दु निकाल्न सकिन्छ ।

हिजो शान्ति प्रक्रियाका बेलामा १२ बुँदे सहमति निकाल्यौँ हामीले ।  त्यो त हामीले गरेर देखायौँ । माओवादीसँग पनि हामीले एकता गरेर देखायौँ । भनेपछि अहिले हामीले एक अर्कालाई गाली गर्ने घृणाको संस्कार घटाउनुपर्छ ।
म के भन्छु भने अब एकता गरिछाड्नुपर्छ । त्यो एकता सम्मानजनक एकता हुन्छ । त्यो सम्मानजनक भनेको के हो भन्नेरबारेका टेबलमा बसेर राम्रो बहस, छलफल गर्नुपर्छ ।

अहिले हाम्रो कार्यदल विघटन भए पनि अनौपचारिकरुपमा उहाँहरुले काम गरिराख्नुभएको छ । हामीले उहाँहरुलाई काम गर्नोस् भन्या छौं । माधव कमरेड र केपी कमरेडसँग उहाँहरुको निरन्तर छलफल भइराखेको छ । र, एकता हुन्छ । एकता गर्न सकिन्छ । यो देशको आवश्यकता हो । यो हाम्रो इच्छा पनि हो ।

नेकपा एमाले एकतावद्ध भयो भने अरु पार्टीहरू डराउनुपर्ने आवश्यकता छैन । वामपन्थी पार्टी त झन डराउनुहुँदैन । एकतावद्ध एमालेसित फेरि तपाईंहरुको एकता हुन्छ नि, किन डराउनुहुन्छ तपाईहरु ? नेपाली काँग्रेसलाई म के भन्छु भने वामपन्थी पार्टीहरू आफ्नै कमजोरीले फुटिरहेका छन्, अनि योभन्दा बढी एमाले पनि फुट्नैपर्छ भनेर तपाईहरु नठान्नोस् । एकजुट भएको एमालेले राष्ट्र र लोकतन्त्र जोगाउन लाग्यो भने त्यो त काँग्रेसका लागि पनि त फाइदा हो नि ।

मिलनबिन्दुकै कुरा गर्दा महाधिवेशनअघि अन्तरिम कालका लागि दुईजना अध्यक्ष बनाउने एउटा उपाय हुन सक्छ ? बाहिर त यही चर्चा छ नि ?

बाहिर चर्चा चलिरहेको छ । यो छलफलमा पनि आइरहेको छ । यो पनि एउटा उपाय हुनसक्छ । अरु पनि उपाय हुनसक्छ । विभिन्न उपाय हुन सक्छन् । 

अरु उपाय भनेको के ? माधव र केपी दुबैले छाडेर तेस्रो मान्छेलाई अन्तरिम अध्यक्ष बनाएर महाधिवेशनमा जान सकिन्छ ?
एउटा कुरा, दोस्रो अध्यक्ष भन्ने हल्ला आइरहेको छ, अध्यक्ष पहिलो र दोस्रो भन्ने हुँदैन । यदि अध्यक्ष बनाउने हो भने पहिलो र दोस्रो हुँदैन । अध्यक्ष भनेको अध्यक्ष नै हुन्छ । सामान्यतया दुईटा अध्यक्ष भए भने पनि अध्यक्ष नै हो । समान हैसियत भनेर लेख्नै पर्दैन । अध्यक्ष भनेको चाहिँ दुइटै बराबर हो ।  

महाधिवेशनमा हारेका माधव नेपालले यही कार्यकालभित्रै अध्यक्षको दाबी गर्न मिल्छ ?
हारजितको कुरा छोडदिनु । अब त बागमतीमा धेरै पानी बगिसक्यो । महाधिवेशन भएको मेरो उपाध्यक्षको समय पनि गइसक्यो । बीचमा नेकपा भएको थियो र मात्रै कानुनी रुपमा यो समय बाँकी रहेको हो । तर, साँच्चै भन्ने हो भने समयका हिसाबले त हामी सबैको पद त गइसकेको छ । हामी सबैले यो बुझिराख्नुपर्छ, वास्तवमा समयका हिसाबले हाम्रो कार्यकाल सकियो । केपीजीको कार्यकाल सकियो । बीचमा नेकपा भएको हुनाले र अर्कै परिस्थिति भएको हुनाले हामीलाई अब एक वर्ष बाँकी छ । होइन भने यो एक वर्ष समय हामीसित थिएन । यसको तात्पर्य, हामी रेगुलर महाधिवेशनमा छैनौँ । त्यसरी हामीले अन्तरिम व्यवस्था गर्दाखेरि अहिले मैले ठ्याक्कै यही गर्न सकिन्छ भनेर भन्न सक्दिनँ । किनकि यो हाम्रो सामूहिक विचारको कुरा हुन्छ ।

आगामी महाधिवेशनमा ओली र माधव नेपाल दुबैले छाड्ने सहमति गरेर उपाध्यक्षमध्येबाट तपाई वा अष्टलक्ष्मी शाक्य अध्यक्ष बन्दा के होला ? तपाईंलाई एउटा कुरा भनौँ, रियालिस्टिक कुरा गर्नुपर्छ क्या ! यथार्थ कुरा के हो भने, अब महाधिवेशनले के गर्छ, त्यो महाधिवेशनले निर्णय गर्छ । साँचो कुरा हो, त्यो सबैले मान्नुपर्छ । सबै नेता कार्यकर्ताहरूले के मान्नुपर्छ भने अध्यक्ष कसलाई बनाउनुपर्छ भन्ने कुरा त्यो महाधिवेशनले गर्ने कुरा हो । महाधिवेशनमा पनि प्रतिनिधिहरुको अधिकारको कुरा हो । त्यो ढङ्गले बुझ्नुपर्छ । त्यसरी बुझेनौँ भने त्यो महाधिवेशनको अपमान हुन्छ, महाधिवेशनमा आउने डेलिगेसनहरूको अपमान हुन्छ । 

महाधिवेशनसम्म लग्नका लागि अहिले केपी ओली त अध्यक्ष हुनुहुन्छ नि । केपी ओलीसँग एउटा व्यवस्थापन गरेर महाधिवेशनसम्म जाने हो । चाहे जे गरेर होस्, केपी ओलीलाई अध्यक्ष मानेर अथवा अरु केही व्यवस्था गरेर वा दुईटा अध्यक्ष बनाएर वा अरु व्यवस्था गरेर महाधिवेशनको अन्तरिम तयारीका लागि एउटा उपयुक्त  व्यवस्थापन गरौँ । उपयुक्त भनेकै के हो भनेदेखि हामी दुई समूहको बीचमा जे सहमति हुन्छ, त्यही नै उपयुक्त हो । त्यही नै ठीक हो । दुईथरीबीच छलफल गरेर जे साझा निश्कर्ष निस्कन्छ, त्यही साझा निष्कर्ष नै ठीक हो । त्यही नै उपयुक्त चिज हो । 

भनेपछि अबको उपाय भनेको महाधिवेशनलाई केन्द्रित गरेर अगाडि बढ्ने ?

अहिले यो व्यवस्थापन गरिसकेपछि महाधिवेशनको कुरा आउँछ । हाम्रो विधानमा ७० वर्षको व्यवस्था पनि छ । हामीले निकै लामो छलफल, बहसपछि यो गरेका हो । भरतमोहन र सिद्धिलालजीले त्यही ७० वर्षको व्यवस्थाले काम गर्ने चाहना हुँदाहुँदै छोड्नुभएको हो । अब महाधिवेशनमा कसरी जान्छौँ .... ।

तर, ७० वर्षे उमेर हद त केपी ओलीले सच्याइसक्नुभयो हैन ?

त्यो त सबै क्यान्सिल भइसक्यो । आयोजक कमिटीले गरेका निर्णय सबै क्यान्सिल भइसके । हाम्रो विधानमा ७० वर्षको प्रावधान कायम छ । सर्वोच्चको फैसलाअनुसार उहाँले आयोजक कमिटी विघटन नै गरिसक्नुभयो । आयोजक कमिटीले गरेका निर्णय वैधानिक हुँदैनन् भनिसकेपछि स्वाभाविक रुपमा आयोजक कमिटीले विधान संशोधन गरिदिएको थियो, जो त्यसो गर्न पाइँदैन । विधान संशोधन गर्न विधान महाधिवेशन गर्नुपर्छ । त्यसैले, त्यो सच्चिइसक्यो अब ।

हामी महाधिवेशनमा कसरी जान्छौँ भन्ने कुरा त पहिले पार्टी एकता त गरौँ न । भविष्यमा के गर्ने भन्ने कुरा आजै प्लान बन्न सक्दैन, त्यो एउटा मनोगत सोचाइ हुन्छ । अहिले नै त्यो ठोस समाधान खोज्नुहुन्छ भने अहिलै फेल हुन्छ । असफल हुन्छ । त्यसो भएर त्यतिबेला उपाय खोजौँला । तर आज हामी अहिलेको व्यवस्थापन ठीक तरिकाले कसरी गर्ने ? त्यो भनेको सहमति नै हो । सहमतिबाट एउटा व्यवस्था गरौँ । के–के बुँदा तयार गरेर, कस्तो–कस्तो ढाँचा तयार गरेर जानुपर्ने हो, त्यो निक्लन्छ । एक्सरसाइज भई पनि रहेको छ, कार्यदलले गरिरहेको छ । 

अबको महाधिवेशनपछि एमालेको मूल नेतृत्व केपी ओली वा माधव नेपालमै रहन्छ कि उपाध्यक्षहरूमा सर्छ ? अथवा, नयाँ पुस्तामा जान्छ कि ?
यसमा पहिला त हाम्रो पार्टीको विधानमा जे छ, त्यो संशोधन गर्ने कि यथावत राख्ने भन्ने छलफल गर्नुपर्छ । त्यो टुंगो लगाउनुपर्छ । हाम्रो विधानमा उमेर हद ७० बर्ष राखेको छ । त्यो विधानको व्यवस्था हटाउँछौँ कि राख्छौँ ? त्यसमा भर पर्छ ।
यसमा म धेरै नेता–कार्यकर्ताहरुलाई विनम्र अनुरोध गर्छु कि यसमा अनावश्यक लम्बा–चौडा कुरा नगर्नुस् । धेरै टाउको नदुखाउनुस् । त्यो विधानको व्यवस्था राख्नुहुन्छ कि हटाउनुहुन्छ नम्बर एक । नम्बर दुई– लिडरसिप भनेको अरुले स्वीकार गरेर हुने कुरा हो । लिडरसिप भनेको म हुन्छु  भनेर हुने कुरा होइन । म नेता हुनुपर्छ, म अध्यक्ष हुनुपर्छ भनेर जोडबल गरेर हुँदैन । अर्कोले तपाई भैदिनुस् भन्नुपर्छ ।

महाधिवेशन प्रतिनिधिहरुले तपाई अध्यक्ष भैदिनुस्, तपाईंलाई हामी मान्छौ भनेर स्वीकार गरेपछि मात्रै कोही व्यक्ति नेता हुन सक्छ । चाहे त्यो ५० बर्षको होस्, चाहे ७० बर्षको । उमेर विधानले तय गरिसकेको छ, यस्तो अवस्थामा विधान संशोधन गर्नुहुन्छ भने उमेरको सीमा हुने भएन । तर, तपाईलाई स्वीकारचाँहि गर्नुपर्यो देशभरका प्रतिनिधिहरुले, बहुमत संख्याले । हामी फलानो अमूक व्यक्तिलाई अध्यक्ष बनाउन चाहान्छौँ भन्नुपर्यो । जबरजस्ती म हुनुपर्छ भन्ने कुराको कुनै अर्थ हुँदैन ।

अहिले नै विवाद समाधानका क्रममा केपी ओली र माधव नेपाल दुबैले आगामी महाधिवेशनमा अध्यक्ष नहुने र तेस्रो अध्यक्षको विकल्प खोज्ने भनेर सहमति खोज्न सकिँदैन ?
अनि महाधिवेशनका प्रतिनिधिले के भन्छन् ? फलानो हुनुपर्छ, फलानो हुनुपर्दैन भनेर अहिल्यै कसरी भन्न सक्नुहुन्छ ? महाधिवेशनसम्मका लागि एउटा व्यवस्था हामीले गर्नुपर्ने भयो, यो गरौं । किनभने, हाम्रो बाध्यता भयो अहिलेको स्थितिमा । किनकि, नियमित समय हामी सबैको सकिएको छ । अबको एक बर्षका लागि एउटा व्यवस्थापन गर्नैपर्ने छ । यसमा स्वभाविक रुपमा पुरानै नेताहरूबाट म्यानेज गर्ने कुरा हुन्छ ।

भनेपछि, कार्यदल बसेर भावी नेतृत्वको विषयमा निर्णय गर्न मिल्दैन त ?
मिल्दै मिल्दैन । त्यो गर्यो भने त हामी महाधिवेशनका प्रतिनिधिहरुको अधिकार नै हनन गरेको र खोसेको हुन्छ । भोलि प्रतिनिधिहरुले मान्दैनौँ भन्दिए भने के हुन्छ हालत ? त्यसैले यसमा बोल्नै सकिँदैन । भविष्यको महाधिवेशनको फलानो अध्यक्ष भनेर बोल्न मिल्ने र सक्ने कुरै भएन । त्यो अधिकार नै छैन । त्यो गर्न थाल्नुभयो भने त महाधिवशेन प्रतिनिधिहरुहरुले तपाईले भनेको मान्दैनौं भनेमा बेइज्जत हुन्छ । त्यसो भएकाले त्यस्तो कामतिर लाग्नै हुँदैन ।

बरु सबैले राम्रो काम गरौं । सबैले आ–आफ्नो क्षमता प्रदर्शन गरौं । आफ्नो आचरण देखाऔँ । छवि सुधारौँ । विचार, व्यवहार, सिद्धान्त, नीति र कौशलता जे–जति छन्, देखाऔँ । यो एक बर्षमा यो पार्टीलाई एकतावद्ध बनाउने कुरामा, राम्रो बनाउने कुरामा क्षमता देखाएपछि त हेर्छन् र उनीहरुले नै सोच्छन्, निर्णय गर्छन् ।

त्यसोभए त आगामी महाधिवेशनमा केपी ओली र माधव नेपालकै बीचमा प्रतिष्पर्धा हुने सम्भावना देखियो हैन ?
क–कसको हुन्छ, त्यो महाधिवेशनलाई नै छोड्नुपर्छ । अहिले म भन्न सक्दिनँ ।

अरूका बारेमा भन्न नसकिएला, तपाईको त उमेर पनि छ, आगामी महाधिवेशनमा तपाई अध्यक्षको दाबेदार हो कि होइन ?
मैले अहिले दाबी गर्न मिल्छ ? मिल्दैन । मलाई मान्छेले पत्याउनु त पर्यो नि ! पत्याउनेले पत्याएका छैनन् भने ल म भएँ भनेर हिँड्न मिल्छ ? अहिले त्यसरी गर्नु अपरिपक्वता हुन्छ । अध्यक्ष हुन पाए हुन्थ्यो भन्ने त सबैलाई हुन्छ नि पार्टीमा लागेकाहरूलाई । तर, चाहेर मात्रै हुँदैन । पाँच–सात लाख कार्यकर्ता छन्, तिनीहरुले चाहनुपर्छ ।

तपाई एउटा कुरा भन्दिन सक्नुहुन्छ ? अब एमालेको नेतृत्व युवा पुस्तामा किन हस्तान्तरण नगर्ने ?
युवा अगाडि आउनैपर्छ । नयाँ पुस्ता अगाडि नआई कुनै पनि पार्टीमा गतिशीलता आउँदैन । हाम्रो नीति र सिद्धान्तअनुसार पनि हाम्रो पार्टीमा धेरै नयाँ पुस्ताको आएको छ । आठौं, नवौं महाधिवेशनबाट एक से एक युवा निर्वाचित भएर आएका छन् । यसको तात्पर्य के हो भने एमालेले युवाहरुलाई नेतृत्वमा ल्याउन भुमिका खेलिरहेको छ । युवाहरु निरन्तर रुपमा आइरहेका छन् । अध्यक्षमा पुग्नचाहिँ बाँकी छ । आइरहेकाले त्यहाँ पनि पुग्छन् उनीहरु । हामी रोक्न सक्दैनौं ।

कुनै पनि चिजको विकासका लागि नवीनता आवश्यक छ । नवीनता भएन भने त्यसको विकास हुँदैन । मुख्य कुरा विचार हो, उसँग मार्क्सवादी, क्रान्तिकारी, लोकतान्त्रिक विचार हुनुपर्यो । परिपक्वता सबैलाई प्रभावित र कन्भिन्स गर्न सक्ने योजना दिन सक्ने, व्यवस्थापन गर्न सक्ने क्षमता भएको मान्छे मुख्य हुन्छ । ऊ एउटा सिद्धान्तकार, अलिअलि लेखक पनि हुनुपर्छ, भाषण दिन सक्ने, संगठक पनि हुनुपर्यो । सबैलाई काम दिएर सक्रिय बनाउन सक्ने हुनुपर्छ । त्यो क्षमता भएको हामीभित्रका मान्छेबाट आउँछ, जन्मिन्छ ।

त्यो को हो त ?
त्यो हेरिरहेका छन् मानिसहरुले । मैले त्यो क्षमताको आफूलाई ठानुँला, अर्कोले पनि आफैंलाई ठानिरहेको होला । तर, अरुले पनि स्वीकार गर्नुपर्छ ।

एमालेको महाधिवेशन कहिले हुन्छ ? आगामी मंसिर, पुसमा हुन्छ ??
निश्चित समयमा गर्नैपर्छ । त्यसका लागि हामी समय तय गर्छौं । तर, पहिला त पार्टी एकतावद्ध हुनुपर्यो नि ।

एमाले विवाद कचल्टिएको छ । यो विवाद कहिलेसम्म पार लाग्ला ?
जतिसक्दो छिटो गर्नुपर्छ । म त आजभोलि नै हुनुपर्छ भन्छु । स्वभाविक रुपमा केही समय लाग्ला । किनभने, छलफल गनुपर्यो । त्यसपछि मुख्यगरी केपी कमरेड र माधव कमरेडकै बीचमा फाइनल हुन्छ ।

उहाँहरूबीच नै भनाभन भइरहेको छ । जस्तो कि– ओलीले माफी दिन्छु भन्नुभयो, नेपालले महाराजाधिराज भन्नुभयो, यसले के संकेत गर्छ ?
यस्ता टीकाटिप्पणीको दुनियाँले मुल्यांकन गरिरहेका छन् । मुख छ भन्दैमा जे पायो त्यही बोल्नुहुँदैन । सम्हालिएर बोल्नुपर्छ । संवेदनशील बेला छ । पार्टीलाई एकतावद्ध भएर लैजाने सारा पार्टी पंक्तिको माग हो । यो देशको आवश्यकता पनि हो । सोहीअनुसार हाम्रा बोलीवचन, व्यवहार र कर्महरु गर्नुपर्छ । कसैले आफ्नो बोली, व्यवहार र कर्म बदलिँदैन र यो फुटे फुटोस्, मेरो बानी व्यहोरा म छोड्दिन भन्छे भने त्यो दुर्भाग्य हुन्छ । त्यो भनेको अझ ओरालो लाग्नु र सिद्धिनु बाहेक केही हात लाग्‍नेवाला छैन । यो कुरा सबैले समयमा बुझ्नुपर्छ ।

पार्टीमा एकताको भावना जब्बर छ । उस्तै पर्यो भने तलैदेखिका सारा कार्यकर्ता उठेर नेताहरुलाई दबाव दिने स्थिति पनि आउन सक्छ । तर, त्यतातिर किन जाने बेकारमा ? त्यतातिर नजाऔैं र हामी नेताहरुले नै संयमित र धैर्य भएर चिसो दिमागले सोचौं । तातिने काम नगरौं । मात्तिने कुरै छैन । परिस्थितिले हामीलाई पछारिदिएको छ, यसबाट शिक्षा लिनुपर्छ । आत्मआलोचित भएर जनतालाई हामीले भन्नुपर्छ– हामीले गल्ती गरेका छौं । तर, अब गल्ती दोहोर्याउँदैनांै । जनताले यो ठान्नुपर्यो कि आउने चुनावसम्म यिनीहरुले गल्ति गरे पनि सुध्रेका छन्, सच्चिएका छन्, गल्तिबाट यिनीहरुले पाठ सिकेका छन् । फेरि एकपटक हेरौं न त भनेर जनताले भन्न सक्छन् ।

तपाईले अघि एमाले एकतावद्ध भइसकेपछि वाम एकता हुन सक्छ भन्नुभयो । तपाईहरुसँग विगतमा एकता भएको माओवादी अहिले काँग्रेससँग गएको छ । आगामी चुनावसम्म फेरि माओवादीसँग एकताको सम्भावना कति छ ?
संसारमा असम्भव भन्ने कुनै चिज छैन । एमाले एकतावद्ध भैसकेपछि अघि नै पनि भनें कि हिँड्ने बाटो एउटै, उद्देश्य एउटै भएपछि तपाई अलग पार्टी र चुलाचौका गरेर किन बस्नुहुन्छ ? के अर्थ छ त्यसको ? निरर्थक कुरा हो त्यो ।

त्यसोभए प्रचण्ड एमालेसँगै आउन सक्नुहुन्छ ?
परिस्थितिले मिलाउनेतिरनै लान्छ । परिस्थिति यसरी बनेर आउँछ कि तपाईलाई बाध्य गराउँछ । त्यो परिस्थितिलाई ठीकसँग विश्लेषण गर्नुभयो र परिस्थिति सापेक्ष हिँड्नुभयो भने तपाईले विकास गर्नसक्नुहुन्छ । तर, परिस्थितिलाई राम्रोसँग बुझ्न सक्नुभएन भने सकिनुहुन्छ । चुनावमा त प्रतिस्पर्धा हुन्छ भने फेरि वामपन्थीहरु किन मिलेर जान सकिँदैन ? त्यो सम्भावना छ, म देख्छु । 

पूरा अन्तरवार्ताका लागि भिडियो हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप