शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘विचारै नमिलेपछि राजेन्द्र महतोसँग ‘डिभोर्स’ भयो’

ओलीजत्तिकै दोषी महन्थ ठाकुरहरु पनि हुनुहुन्छ : मनिष सुमन
बिहीबार, १४ साउन २०७८, ११ : ३९
बिहीबार, १४ साउन २०७८

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य मनिष सुमन प्रदेश २ का सांसद पनि हुन् । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी हुँदै महन्थ ठाकुर नेतृत्वको पूर्वराजपा समूहका नेता रहेका मनिष अहिले महन्थ–राजेन्द्रको साथ छाडेर मूल जसपाका आवद्ध भएका छन् । मनिष सुमनले साथ छाडेपछि राजेन्द्र महतोलाई धक्का लागेको छ ।

राजेन्द्र महतो र महन्थ ठाकुरले गल्ती गरेको हुनाले आफूले उहाँहरुको साथ छाडेको सुमन बताउँछन् । उनी भन्छन्, ‘उहाँहरुले गल्ती गर्नुभयो । पुस ५ गते केपी शर्मा ओलीले संसद विघटन गर्दा सिंगो जसपाले त्यसको विरोध गर्यो । उहाँहरुले ओलीको विरुद्धमा चर्को चर्को भाषण गर्नुभयो । (दोस्रोचोटि संसद विघटनपछि) ओलीको त्यस्तो अपराधलाई उहाँकै पार्टी (एमाले) का नेताहरुले स्वीकार गर्नुभएन, तर, हाम्रो पार्टीका महन्थ ठाकुरहरुले ओलीले साथ दिनुभयो । योभन्दा अर्को अपराध के हुनसक्छ ?’   

जसपा नेता सुमन आफूले आकस्मिक रुपमा कित्ता परिवर्तन गरेको नभएर  वृहत छलफल पश्चात निर्णय लिएको बताउँछन् । प्रस्तुत छ, जसपा विवादमा केन्द्रित रहेर मनिष सुमनसँग रातोपाटीले गरेको कुराकानी :

तपाई त राजेन्द्र महतो र महन्थ ठाकुरको एकदमै विश्वासिलो पात्र, तर सोच्नै नसकिने गरी उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्नुभयो । यस्तो आकस्मिक निर्णय किन लिनुभयो ?

यो आकस्मिक निर्णय होइन । यो निर्णय वृहत छलफल पश्चात लिएको हुँ । करिब चार–पाँच महिनादेखि पार्टीमा विवाद चलिरहेको छ । जब महन्थ ठाकुर र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको मागलगायतका विषयमा छलफल गर्न कार्यदल गठन गर्नुभयो, त्यहीबेलादेखि विवाद सुरु भएको हो । विवाद सुरु भएदेखि नै म चुपचाप थिएँ । मौन भए पनि आफ्ना कुरा आन्तरिकरुपमा पार्टीभित्र राखिरहेको थिएँ ।

निर्वाचनमा आयोगमा साउन ११ गते सनाखतमा जानुभन्दा एक दिनअघि बबरमहलमा महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बसेको थियो । सो बैठकमा मैले स्पष्टरुपमा भनेका थिएँ कि सबैजना पक्षमै मतदान गरौं, यसो गरेपछि पार्टी विभाजनबाट जोगिन्छ । आज उपेन्द्रजीसँग बहुमत छ, भोलि तपाईहरु (महन्थ–राजेन्द्र) सँग बहुमत हुन्छ । सधैं एउटै अवस्था रहँदैन । पार्टीमा मिलेर काम गरौं भन्ने मेरो प्रस्ताव थियो ।

मेरो प्रस्तावमा अरु केही नेताहरुले समर्थन जनाउनुभयो । तर, केही शीर्ष नेताहरुलाई मेरो कुराले चित्त बुझेन र उहाँहरुले आत्मसमर्पण नगर्ने, राजनीतिक निर्णय गरेर जानुपर्छ, भोली कानुनीरुपमा जे हुन्छ, देखा जाएगा, हामी त्यहाँ गयौं भने हाम्रो मानमर्दन हुन्छ भन्नुभयो ।

मिटिङबाट उठ्नेबेलामा मित्र केशव झाले भन्नुभयो, विनाशकाले विपरित बुद्धि ! मैले साउन ११ गते विहानै राजेन्द्र महतोलाई फोन गरेर जानकारी गराएको थिएँ कि म उपेन्द्र यादवको पक्षमा सनाखत गर्छु । उहाँले भन्नुभयो, ‘होइन त्यस्तो नगर्नु, सल्लाह गरौं, हामी सँगै काम गरौं । तर, मैले उहाँको कुरा स्वीकार गरिनँ र उपेन्द्र यादवको पक्षमा मतदान गरें ।

त्यही भएर यो निर्णय आकस्मिक थिएन । तर, त्यो पक्ष र विपक्षमा हस्ताक्षर गर्ने समय एकदमै पीडादायी थियो । जसरी आमाबुवाबीच डिभोर्स हुँदा छोराछोरीलाई आमा वा बुवाको पक्ष लिन गाह्रो भइरहेको हुन्छ, त्यसरी नै मलाई पनि गाह्रो भएको थियो । तर, आखिर एउटा रोज्नैपर्ने भएकाले म जुन पार्टीमा थिएँ, त्यो पार्टीलाई नै रोजे ।

तपाईले आमाबुवाको डिभोर्स हुँदा जस्तै गाह्रो भयो भन्नुभयो । तर, जोसँग बढी निकटता हुन्छ, छोरोछारीको झुकाव उसैप्रति बढी हुन्छ हैन र ? तपाईको नकिटता राजेन्द्र महतोसँग थियो, यस हिसाबले पनि उहाँलाई रोज्नुपर्ने हैन ? किन उपेन्द्र यादवलाई रोज्नुभयो ?

राजनीतिमा व्यक्तिप्रति माया राख्नुहुँदैन, विचार र सिद्धान्तप्रति माया राख्नुपर्छ । हामीले एउटा विचार र सिद्धान्त बोकेर राजनीति गरेका थियौं । माया त गजेन्द्रबाबुप्रति बढी थियो, तर उहाँ बितेर जानुभयो । माया राजेन्द्र महतो र उपेन्द्र यादवप्रति पनि रहेको छ र थियो पनि । तर, उहाँहरुले मलाई जसपामा छाडेर जानुभयो । जसपामा थिएँ, जसपामै छु ।

उहाँहरुले कि त जसपाको आधिकारिता देऊ, नभए हामी त्यहाँ बस्न सक्दैनौं भनी आफैं लिखत नै गर्नुभयो । उहाँहरु जसपाको आधिकारिताको विपक्षमा मतदान गरेर जानुभयो । त्यसैले व्यक्तिलाई माया गर्नुभन्दा विचार र सिद्धान्तलाई माया गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

राजेन्द्र महतोसँग तपाईको व्यक्तिगत सम्बन्ध मात्र नभएर सैद्धान्तिक र वैचारिक सम्बन्ध पनि त थियो नि ? सुरुदेखि नै राजेन्द्र महतोलाई साथ दिने एकजना नेता तपाई मात्र हो । राजेन्द्र महतो जस्तोसुकै परस्थितिमा पुग्दा पनि तपाईले उहाँको साथ कहिल्यै छोड्नुभएको थिएन । दुःख–सुखमा साथ दिँदै आउनुभएको थियो । तर, अहिले आएर अचानक महतोको सात छाडेपछि सबैलाई आश्चर्य लागेको छ । किन यस्तो भयो ?

मैले मात्र होइन, राजेन्द्र महतोले पनि मलाई कहिल्यै साथ छोड्नुभएन । मलाई दुःख र सुखमा साथ दिइ नै रहनुभयो । साँच्चै भन्नुहुन्छ भने म गजेन्द्रबाबुले स्थापना गरेको सद्भावना पार्टीको कार्यकर्ता हुँ । त्यो पार्टी पटक–पटक विभाजन हुँदा पनि म सद्भावना पार्टीमै, अर्थात राजेन्द्र महतोकै साथमा रहें । एक दिन त्यही सद्भाना पार्टी राजपा नेपालमा सर्यो, म पनि त्यहाँ सरें । फेरि राजपा नेपाल जसपामा सर्यो, म पनि त्यहाँ सरें । अर्थात म जहाँ थिएँ, त्यहीँ छु र त्यहीँ रहिरहनेछु । म अन्य दलमा सामेल भएको छैन । बरु राजेन्द्र महतो आफ्नो मूलधारको पार्टी छाडेर जानुभयो, म जहाँ थिएँ, त्यहीँ छु ।

जहाँसम्म राजेन्द्र महतोसँगको सामीप्यको कुरा छ । मैले उहाँलाई जानकारी गराएको हुँ । उहाँलाई कन्भिन्स गरें । अन्ततः उहाँले मान्नुभएन । तैपनि मैले यो निर्णय लिएँ । व्यक्तिगत सम्बन्ध रहिरहन्छ र राख्नु पनि पर्छ । विचार र सिद्धान्त मिलेका कारण उहाँसँग सम्बन्ध थियो । जहाँसम्म विचार र सिद्धान्त मिल्यो, हामी सँगै थियौं, अहिले उहाँको र मेरो विचारै फरक खायो । अनि हामी अलग भयौं ।

तपाईको विचारमा महन्थ ठाकुर र राजेन्द्र महतोले गल्ती गर्नुभएको हो त ?

हो । उहाँहरुले गल्ती गर्नुभएको हो । पुस ५ गते केपी शर्मा ओलीले संसद विघटन गर्दा सिंगो जसपाले त्यसको विरोध गर्यो । उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोले ओलीविरुद्ध आन्दोलन गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । उहाँहरुले ओलीको विरुद्धमा चर्को–चर्को भाषण गर्नुभयो । सर्वोच्च अदालतले संसद विघटनलाई पुनस्र्थापना गरे पनि त्यसमा जसपाको पसिना पनि लागेको थियो । त्यतिबेलासम्म ओली धेरै खराब थिए । तर, फागुन ११ गतेसम्म आइपुग्दा आकस्मिकरुपमा ओली कसरी प्यारो भए, त्यो थाहा छैन ।

पार्टीलाई जानकारी नै नगराइकन एउटा कार्यदल बन्यो । त्यो कार्यदलका नाममा ओलीले विस्तारै–विस्तारै सबैलाई आफ्नो चंगुलमा फँसाउँदै सरकारमा समेत सामेल गराए । मलाई लाग्छ, ओलीको त्यो क्रियाकलापसँग कोही सहमत थिएन । महन्थ ठाकुरले पनि एकान्तमा यस्तो म बेकार गर्दैछु भन्ने सोच्नुभएको होला । जुन ओलीको मधेसमा ‘सोसियल भ्यालु’ शून्य छ, त्यही ओलीसँग टाँसिएकोमा कसैको चित्त बुझेको थिएन । पार्टी फुटको कारण त्यही भयो ।

विगतमा अरु प्रधानमन्त्रीहरु मधेसका मागबारे सकारात्मक नभएको तर केपी ओली सकारात्मक देखिएको र त्यसलाई पूरा गर्ने प्रकृया पनि सुरु गरेको भन्ने छ नि उहाँहरुको तर्क ?

ओलीजीले जति गर्नुभयो, त्यसका लागि धन्यवाद । त्यसलाई म सकारात्मकरुपमा नै लिन्छु । तर, त्यो गर्नुको मनसाय उहाँको के थियो ? उहाँले त्यसको आडमा के गर्न चाहनुभएको थियो ? यो कुरालाई पनि मनन गर्नुपर्ने अवस्था छ । उहाँले १६९ जनाको मुद्दा फिर्ता गर्नुभयो । त्यसबाहेक अरु कुनै काममा प्रगति भएको मैले देखेको छैन । संविधान संशोधनका लागि एउटा कार्यदल बनाइयो, तर त्यसको कहिल्यै बैठक नै बसेन । लाल आयोगको प्रतिवेदन आजभोलि सार्वजनिक गर्छु भनेर हालसम्म सार्वजनिक भएको छैन । रेशम चौधरीको मुद्दा अगाडि नै बढेन ।

मैले उहाँहरुलाई भनें, ओलीको एपिसोड सकिइसक्यो, अहिले ओली सत्तामा छैनन्, अब जसपामा सबैजना एकजुट होऔं । शेरबहादुर देउवालाई पनि समर्थन गरिसक्नुभएको छ, जसपामा बस्न कुनै समस्या हुँदैन भन्दा उहाँहरुले हामी धेरै अगाडि बढिसकेका छौं, अब फर्किन गाह्रो छ भन्नुभयो ।

यथार्थमा भन्ने हो भने यो सबै ढिपी थियो । केही गरिएको थिएन । जसपा र महन्थ ठाकुरहरुलाई अल्झाउने काम मात्र भयो । यस्तो जालझेल भयो कि त्यसैको आडमा ओलीले लोकतन्त्रको सबभन्दा पवित्रस्थल प्रतिनिधिसभा पटक–पटक विघटन गर्नुभयो । ओलीको त्यस्तो अपराधलाई उहाँकै पार्टी (एमाले) का नेताहरुले स्वीकार गर्नुभएन । तर, हाम्रो पार्टीका महन्थ ठाकुरहरुले ओलीलाई साथ दिनुभयो । यो भन्दा अर्को अपराध के हुन सक्छ ?

तपाई अघि भन्नुभएको थियो नि व्यक्तिको सामीप्य । महन्थ ठाकुर र राजेन्द्र महतोहरुसँगको सामीप्यका कारण मजस्ता धेरै नेता कार्यकर्ताहरु यसका बारेमा खुलेर बोलिरहनुभएको थिएन । ओली ठीक छ भनेर बोल्न लगाइयो भने कसरी बोल्ने ? ओली गलत हो भनेर बोल्दा शीर्ष नेताहरुको चित्त दुख्ने । यस्तो अवस्था सिर्जना भएको थियो । म अनिर्णित अवस्थामा थिएँ । निर्वाचन आयोगले बाध्य बनायो कि तपाई कसको कित्तामा उभिने, प्रष्ट गर्नुस् । आफ्नो कित्ता स्पष्ट गर्दा पार्टीलाई जानकारी गराएर गरेको हुँ ।

मैले उहाँहरुलाई भनें, ओलीको एपिसोड सकिइसक्यो, अहिले ओली सत्तामा छैनन्, अब जसपामा सबैजना एकजुट होऔं । शेरबहादुर देउवालाई पनि समर्थन गरिसक्नुभएको छ, जसपामा बस्न कुनै समस्या हुँदैन भन्दा उहाँहरुले हामी धेरै अगाडि बढिसकेका छौं, अब फर्किन गाह्रो छ भन्नुभयो ।

जसरी रावणलाई आफ्नो पतनका बारेमा थाहा थियो, त्यसरी नै यस्तो समस्या हुन्छ भन्ने हरेक कुराको जानकार महन्थ ठाकुरहरु हुनुहुन्थ्यो । रावणलाई थाहा थियो कि आफूले गरेको काम गलत छ, सीतालाई अपहरण गरेको काम गलत छ, रामसँग गरेको झगडा गलत छ । तर, युद्धविरामको पटक–पटक सम्भावना हुँदाहुँदै पनि रावणले युद्ध रोकेनन् ।

परिणामस्वरुप रावणले आफ्नो छोरा गुमाए । सुतिरहेको आफ्नो भाइलाई युद्धमा पठाएर मर्न लगाए ।  अन्तिममा रावण आफैं पनि सकिए । यी सबै कुरा रावणलाई थाहा थियो । थाहा पाइपाई आफूलाई समाप्त गरे । वाल्मिकी रामायणमा रावणको चित्रण गर्दा दानवीका रुपमा चित्रण गरिएको छ । तर, रावण पनि पराक्रमी थिए, विद्धान थिए । शक्तिशाली, बलशाली थिए । तर, जानी–जानी गल्ती गर्दै गए र सबै कुरा समाप्त गरे । महन्थ ठाकुरको अवस्था अहिले त्यस्तै भएको छ ।

रेशम चौधरीले त महन्थ ठाकुरलाई भीष्मपितामह भन्नुभएको थियो । तर, तपाई त सिधै रावणसँग जोडिदिनुभयो त ? उहाँ रावण नै हुनुहुन्छ त ?

रेशमजीले के भन्नुभयो, मलाई थाहा छैन । तर, मैले महन्थ ठाकुरलाई रावण भनेको होइन, यसलाई अन्यथा नबुझियोस् । उहाँ मेरो आदरणीय हुनुहुन्छ । उहाँ अलग हुनेवित्तिकै दानव हुनुभयो भनेको होइन । रावणको प्रसंग मात्र यहाँ उल्लेख गर्न खोजिएको हो । जसरी अहिले महन्थ ठाकुरको विद्धता, सहनशीलता र गम्भीरताको चर्चा हुन्छ र अर्कोतिर उहाँले गरेको गल्तीको पनि चर्चा हुन्छ । जसपामा अहिले जे–जे भइरहेको छ, यी सबै कुरा महन्थ ठाकुरलाई थाहा थियो । यस्तो हुन्छ भने कुरा उहाँलाई राम्री थाहा थियो । तर, जानीजानी सबै कार्य गर्नुभयो र सबै समाप्त गर्नुभयो ।

तपाईमाथि पनि प्रश्न उठेको छ, महन्थ ठाकुर पक्षकै कतिपय नेताहरु भन्छन्, मनिष सुमन पद जोगाउनकै लागि उपेन्द्र यादवको पक्षमा लाग्नुभएको हो, अरु कुनै कारण नै छैन । के साँच्चै हो त ?

सांसद पद मेरो मात्र थिएन, सांसद पदको चिन्ता मलाई मात्र थिएन । म एउटा व्यक्ति हुँ । मेरो पद जोगियो वा जोगिएन, त्यो महत्वपूर्ण कुरा होइन । मलाई मेरो निर्वाचन क्षेत्रका जनताको चिन्ता छ । रेशम चौधरी सांसद हो । तर, उहाँले आफ्नो निर्वाचन क्षेत्रमा सांसदको भूमिका निर्वाह गर्न पाइरहनुभएको छैन । प्रतिनिधिविहीन निर्वाचन क्षेत्रको दशा के हुन्छ, त्यहाँ गएर हेर्नुहोस् । हरिनारायण रौनियार, अफताव आलम, विजयकुमार गच्छदार पनि निलम्बनमा पर्नुभएको छ । उहाँहरुको क्षेत्र गएर हेर्नुस् । विकासका सबै कार्य ठप्प छन् । जनता अन्योलमा छन् । कुनै गतिविधि भइरहेको छैन ।

आयोगको साउन ११ गतेको निर्णयमा प्रष्ट भनिएको छ, उपेन्द्र यादवले नेतृत्व गरेको ३४ जना बहुमत सदस्य रहेको जनता समाजवादी पार्टीलाई आधिकारिकता प्रदान गरिएको छ । महन्थ ठाकुरको पक्षमा रहेका १६ जनालाई तपाईहरुले चाहेमा नयाँ दल खोल्न सक्नुहुन्छ भनिएको छ । अझै पनि उहाँहरुले हामी जसपामै छौं भन्नुभएको छ भने मलाई यसमा मलाई केही भन्नु छैन । उपेन्द्र यादवले पनि भन्नुभएको छ, उहाँहरुका लागि ढोका बन्द छैन, आत्मालोचना गरेर आए भने स्वागत छ ।

अर्थात, मैले सांसद पद गुमाउँदा मेरा निर्वाचन क्षेत्रका जनताले पनि त्यसै गरी दुःख पाउँछन् । कुरा मेरो मात्र होइन, महन्थ ठाकुर, राजेन्द्र महतोसँग जोडिएका हजारौं जनताको कुरा यहाँ छ । वडाका अध्यक्ष, पालिकाका अध्यक्ष, गापाका अध्यक्षलगायत प्रदेशका सांसद सबैसँग जनताको चाहना जोडिएको छ । राजनीति दल सम्बन्धी ऐन २०७३ ले के भन्छ भने कुनै दलमा संलग्न हुँदैमा ती पदहरु स्वतः समाप्त हुन्छ । अनि यो अवस्थाको चिन्ता सबैलाई हुनुपर्दथ्यो । कसले के टिप्पणी गर्छन्, त्यो मलाई थाहा भएन । तर, शीर्षतहमा कसैले यस्तो टिप्पणी गर्छन् भने म जवाफ दिन तयार छु ।

निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ता गराउन आउनुस् भनेको छ । यो अवस्थामा महन्थ–राजेन्द्रलाई साथ दिँदा सांसद पद जान्छ र ? कानून व्यवसायीहरुले पनि सांसद पद जाँदैन भनिरहेका छन् । यसमा तपाईको बुझाइ के छ ?

यदि त्यसरी पद जाँदैन भन्नेहरुको मुखमा घिउ सख्खर जाओस् । तर, मैले पढेको ऐन र ती कानुन व्यवसायीले पढेको ऐन पक्कै पनि एउटै होला । मैले पढेको एउटा, कानुन व्यवसायीले पढेको अर्को पक्कै छैन होला । त्यसमा प्रष्ट लेखिएको छ, अर्को दल गठन गर्दा दल त्याग गरिएको मानिन्छ । कुनै नयाँ पार्टी गठनमा संलग्न भएमा संसद पद स्वतः जान्छ । तर, पद जाँदैन भन्ने व्याख्याताको मुखमा घिउ सख्खर जाओस् ।

कतिपयको तर्क के छ भने निर्वाचन आयोगले गरेको निर्णयमा ५१ सदस्यीय कार्यसमिति कायम गरिएको छ, त्यसमा महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरु पनि छन्, अनि उनीहरु जसपामा छैनन् भन्न मिल्छ ?

आयोगको साउन ११ गतेको निर्णयमा प्रष्ट भनिएको छ, उपेन्द्र यादवले नेतृत्व गरेको ३४ जना बहुमत सदस्य रहेको जनता समाजवादी पार्टीलाई आधिकारिकता प्रदान गरिएको छ । महन्थ ठाकुरको पक्षमा रहेका १६ जनालाई तपाईहरुले चाहेमा नयाँ दल खोल्न सक्नुहुन्छ भनिएको छ । अझै पनि उहाँहरुले हामी जसपामै छौं भन्नुभएको छ भने मलाई यसमा मलाई केही भन्नु छैन । उपेन्द्र यादवले पनि भन्नुभएको छ, उहाँहरुका लागि ढोका बन्द छैन, आत्मालोचना गरेर आए भने स्वागत छ ।

उहाँहरुले त जसपामा रहन्न, अलग हुन्छु भनेर हस्ताक्षर गर्नुभएको हो । कि त अलग गर्दिनुस्, या पार्टीको आधिकारिकता दिनुस् भन्ने उहाँहरुको माग थियो । अहिले आएर जसपा विभाजन भएको छैन, हामी पनि जसपामा नै छौं भन्न कसरी मिल्छ ? बरु उहाँहरु आत्मालोचना गरेर आउनुभयो भने अझै ठाउँ छ । यद्यपि उहाँहरु वैधानिकरुपमा जसपामा हुनुहुन्न । आयोगले उहाँहरुलाई नयाँ पार्टी खोल्न भनेको छ, हेरौं के गर्नुहुन्छ ।

हामीले पार्टी विभाजनको माग गरेका थिएनौं, हेरफेर गरिएको नयाँ कार्यसमितिलाई मान्यता दिनका लागि माग गरेका थियौं, तर निर्वाचन आयोगले पुरानै ५१ सदस्यीय कार्यसमितिलाई मान्यता दिएको हुनाले हामी पनि पुरानै समितिका सदस्य हौं भन्ने उहाँहरु तर्क छ नि ?

उहाँहरु पटक–पटक निर्वाचन आयोगमा जानुभयो । हामी अलग हुन्छौं भनेर हस्ताक्षर गर्न नै जानुभएको हो । पछि साउन ११ गते सनाखतमा हस्ताक्षर गर्न पनि जानु भएकै हो । अहिले उहाँहरु कसरी जसपामै छौं भन्नुहुन्छ ? यो मैले बुझ्न सकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप