बाघ संरक्षणमा हातेमालो गरौँ

person explore access_timeसाउन १४, २०७८ chat_bubble_outline0

 

 

 

-नवोदित ढकाल

बाघ स्तनधारी प्रजातिहरूको शीर्ष स्थानमा रही सिकार गरेर खाने एक मांसाहारी जङ्गली जनावर हो । बाघ बिरालो प्रजातिको सबैभन्दा ठूलो जनावर हो । यसको वैज्ञानिक नाम Panthera tigris​ हो । करिब ३ मिटर लामो शरीर, ३०० किलोग्राम तौल र ३, ४ इन्च लामा, तीखा कुकुरदाँत हुने यो जनावर शक्तिशाली हुन्छ । बाघको शरीर सुन्तला रङ्गका रौँले ढाकिएको हुन्छ जसमा कालो रङ्गका ठाडा मोटा धर्साहरूले अलगअलग पाटा पारेका हुन्छन् । बाघको प्राकृतिक अवस्थामा औसत आयु १०, १५ वर्ष रहेको र खोरमा पालिएका बाघहरू २० वर्षसम्म जीवित रहने अनुमान गरिएको छ । पहिले प्रायः एसियाका सबै किसिमका वनजङ्गलमा बाघ पाइन्थ्यो भने अहिले नेपाल, भुटान, बङ्गलादेश, चीन, क्याम्बोडिया, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, नेपाल, रसिया, थाइल्यान्ड र भियतनाम गरी जम्मा १३ वटा देशमा मात्र बाघ सीमित छन् । अहिले विश्वमा बङ्गाली बाघसबैभन्दा धेरै सङख्यामा पाइन्छन् भने दक्षिण चिनियाँ बाघ  सबैभन्दा थोरै सङ्ख्यामा पाइन्छन् ।

आधुनिककालमा बाघका ९ उपप्रजातिमध्ये बाली बाघ, जाभा बाघ र क्यास्पियन बाघ गरी तीनवटा बाघका उपप्रजाति लोप भइसकेका छन् । अहिले पाटे बाघ, इन्डोचिनियाँ बाघ, मलेसियन बाघ, सुमात्रा बाघ, साइबेरियन बाघ र साउथ चाइना बाघ गरी ६ वटा उपप्रजातिको अस्तित्व बाँकी रहेको छ ।

एकान्त मन पराउने यो जीवको प्रमुख बासस्थान वनजङ्गल, घाँसेमैदान र सिमसार क्षेत्र हुन् । सिमसार क्षेत्रमा बाघको आहारा प्रजातिहरू पनि बढी पाइने भएकाले बाघ सिमसार क्षेत्रमा बस्न बढी रुचाउँछ । बाघले दिउँसो आराम गरी बिहान बेलुका सिकार गर्छ । चितल, जरायो, बारसिङ्गे यसका प्रमुख आहारा हुन् । बाघले आफ्नो बासस्थानका लागि जङ्गलमा एउटा छुट्टै क्षेत्र निर्धारण गरेर जङ्गलको राजाको रूपमा बस्छ । दुई बाघ कुनै एक क्षेत्र हासिल गर्न लड्न पनि सक्छन् । परास्त भएका बाघ त्यस ठाउँ छोडेर अरू ठाउँ जान्छन् । २ वर्ष भएपछि नै दुवै भाले र पोथी बाघ प्रजननका लागि तयार हुन्छन् । पोथी बाघले गर्भाधान भएको मितिबाट ४ महिनाभित्र सामान्यता २ देखि ६ वटा डमरुहरू (बाघका बच्चाहरू) पाउने गर्छ । भाले बाघले साना डमरुलाई आहाराका रूपमा खान सक्ने भएकाले पोथी बाघले डमरुहरूलाई झाडीमा लुकाएर हुर्काउँछ ।

अहिले अस्तित्वमा रहेका ६ उपप्रजातिमध्ये नेपालमा पाटेबाघ पाइन्छ । पाटेबाघ नेपालको तराई क्षेत्रका चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गरी ५ वटा निकुञ्जहरूमा पाइन्छ । प्राकृतिक सन्तुलनका लागि बाघ संरक्षणको आवाज पहिलेदेखि नै उठेको भए पनि सन् २०१० नोभेम्बेरमा रुसमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनबाट यसको संरक्षणमा सङ्गठित प्रयासको  थालनी भएको हो । उक्त सम्मेलनमार्फत सन् २०२२ विश्वमा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धतामा बाघ पाइने १३ राष्ट्रहरूले हस्ताक्षर गरेका थिए । त्यतिबेला ३२०० को सङ्ख्यामा  रहेका बाघ सन् २०२२ सम्म ६४०० पुर्याउने लक्ष्यका साथ विश्व बाघ पुनः स्थापना कार्यक्रम कार्यन्वयनमा ल्याउने घोषणा सम्मेलनले गरेको थियो । नेपालमा पनि बाघको सङ्ख्या दोब्बर बनाएर २५० पुर्याउने लक्ष्यका साथ नेपाल सरकार अगाडि बढेको छ ।

पारिस्थितिकीय प्रणालीलाई प्राकृतिक सन्तुलनमा राख्न बाघको महत्त्वपूर्ण योगदान रहेको हुन्छ । अहिले बाघ नभएको भए आहारा चक्रमा खलबली भएर जरायो, बारसिङ्गे जस्ता प्राणीहरूको अनियन्त्रित वृद्धि हुन गई मानव जातिलाई नै चुनौती थपिन्थ्यो । बाघ पाइने देशहरूमा बाघ हेर्नका लागि पर्यटकहरूको घुइँचो  हुन्छ । जसले गर्दा त्यस क्षेत्रमा पर्यटन फस्टाउनुका साथै त्यहाँका बासिन्दालाई जीविकोपार्जनमा सहयोग पुर्याउँछ ।

बाघ संरक्षण कार्य नेपालले औपचारिक रूपमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लागू भइसकेपछि सुरुवात भएको हो । हाल नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष र ६ वटा संरक्षण क्षेत्र रहेका छन् । सबै क्षेत्रहरूलाई समष्ठीमा संरक्षित क्षेत्र भनिन्छ ।

बाघ संरक्षणको मुख्य क्षेत्र संरक्षित क्षेत्रबाहेक मध्यवर्ती क्षेत्र, सामुदायिक वन तथा राष्ट्रिय वन आदि महत्त्वपूर्ण मानिन्छ । बाघ एक संरक्षित क्षेत्रदेखि अर्काे संरक्षित क्षेत्रमा आवतजावत गर्न विभिन्न जैविक मार्ग प्रयोग गर्ने हुँदा त्यस्ता जैविक मार्गलाई संरक्षित वनका रूपमा नेपाल सरकारले घोषणा गरेको छ । तराई भूपरिधि कार्यक्रमअन्तर्गत जैविक मार्गहरूको संरक्षणमा थप प्रयास भएका छन् । बाघको अनुसन्धान, अध्ययन र संरक्षणमा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू क्रियाशील छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लूडब्लूएफ नेपाल, जेडएसएल नेपाल, आईयूसीएन जस्ता संस्था मुख्य रूपमा रहेका छन् । यी संस्थाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा तथा भूसंरक्षण विभागसँग समन्वय गरी बाघ संरक्षणका कार्यक्रम अगाडि बढाइरहेका छन् । 

बाघ संरक्षणमा प्रमुख चुनौती भनेको नै चोरी शिकारी हो । बाघको बासस्थानको विनाश, आहारा प्रजातिहरूको सिकार, जनचेतनाको कमी, जलवायु परिवर्तन आदि थप चुनौती हुन् । जलवायु परिवर्तनको प्रभावले बाघका आहारा प्रजातिका आनीबानी र सङ्ख्यामा परिवर्तन आउन सक्ने बाघ विज्ञहरूको भनाइ छ । तराईबाट गर्मी छल्न आहारा प्रजातिहरू पनि पहाडतिर जान सक्छन् । बाघ मान्छेका बस्तीमा देखिन थाल्छन् । यसले मानव–बाघ द्वन्द्व बढेर बाघको चोरीसिकार बढी हुनुका साथै मानव जाति सङ्कटमा पर्न सक्छ ।

तस्करहरूले भारत लगायतका विभिन्न मुलुकबाट बाघका अङ्गहरूको तस्करी गरी नेपाल हुँदै चीन, जापान, लगायतका मुलुकमा कालोबजारमा बेच्ने गरेको पाइन्छ । यो चोरी शिकारीको विश्वव्यापी सञ्जाल तोड्न निकै कठिन हुन्छ । यसका लागि विभिन्न प्रयास भइरहेका छन् । राष्ट्रिय निकुञ्ज कार्यालय, संरक्षणमा खटिएका सेना, मध्यवर्ती क्षेत्र र आसपासका बासिन्दा, वन कार्यालय, नेपाल प्रहरी, सामुदायिक वन, उपभोक्ता समूह आदिबाट चोरी सिकारी नियन्त्रणमा उल्लेखनीय काम हुँदै आएका छन् । बाघको सिकार गर्ने, अवैध व्यापार गर्ने, आखेटोपहार ओसारपसार गर्ने व्यक्तिलाई नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन (२०२९) ले ५ देखि १० लाखसम्म जरिवाना र ५ देखि १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेको छ । विश्वलाई बाघ संरक्षणप्रति ध्यानाकर्षण गराउन हरेक साल जुलाई २९ मा अन्तर्राष्ट्रिय बाघ दिवस मनाइन्छ ।

बाघले हामी मानव जातिलाई हतपत आक्रमण गर्दैन । बाघ हामीले सोचे जति हिंस्रक पनि हुँदैन । यसलाई हामीले दुस्मन हैन, भगवानले दिएको अमूल्य उपहार ठान्नुपर्छ । बाघप्रतिको हाम्रो गलत अवधारणा बदल्नुपर्छ । मानव–बाघ द्वन्द्व घटाउनुपर्छ । हामी पनि संरक्षणमा लागेका संस्थाहरूलाई सक्दो मद्दत गर्नुपर्छ र आफैँ पनि बाघ संरक्षणमा जुट्नुपर्छ ।

विश्वमा विविध कारणले वातावरण विनाश भइरहेका वर्तमान अवस्थामा बाघको संरक्षणमार्फत हामीले वन क्षेत्रको संरक्षण गर्न सक्छौँ । बाघ जोगिनु भनेको सो क्षेत्रको वन जङ्गल, घाँसे मैदान, तालतलैया, हरिणलगायत बाघका आहार प्रजातिहरू पनि जोगिनु भनेको समग्र उक्त क्षेत्रको भूपरिधि जोगिनु भएकाले बाघ संरक्षणमार्फत प्रकृति जोगाउन सक्छौँ । तराई, चुरे तथा शिवालिक क्षेत्रमा रहेका निकुञ्ज क्षेत्रको जलाधार संरक्षणमार्फत तराई क्षेत्रमा खानेपानीको रिचार्ज गर्न, बाढी नियन्त्रण लगायत थुपै फाइदाहरू हामीले पाएका छौँ । संरक्षित क्षेत्रभित्रको चुरे र अन्य क्षेत्रको चुरेलाई तुलना गर्दा जोकोहीले पनि संरक्षणको फाइदा सजिलै देख्न सक्छन् । आउनुहोस् हामी सबै हातेमालो गरी बाघ दिवस मनाऔँ ।

(सन्दर्भ सामग्रीः बाघको कार्ययोजना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, डा. हेम सागर बराल, पाटे बाघ र विभिन्न वेबसाइटमार्फत ।)

 

कक्षा–१०

बूढानीलकण्ठ स्कुल, काठमाडौँ

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।