शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तेस्रो लहरको जोखिममा बालबालिका, तयारी शून्य !

बिहीबार, १४ साउन २०७८, १० : ५४
बिहीबार, १४ साउन २०७८

विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताइरहे पनि प्रदेश १ मा रहेका ठूला सरकारी अस्पतालमै बालबालिकाका लागि एनआइसियु र पिआईसीयूलगायतको पूर्वाधार व्यवस्थापनको तयारी भने शून्य देखिएको छ ।

सरकारी अस्पतालहरूले भर्खरमात्र बालबालिकाका लागि पिआईसीयू लगायतको पूर्वाधार व्यवस्थापनका लागि सूचना आह्वान बल्ल अघि बढाएका छन् । यो बीचमा सरकारी अस्पतालमा अक्सिजन प्लान्ट लगाउने र आईसीयू सेवा सुरु गर्ने लगायतका गतिविधि भएका छन् तर कोरोना सङ्क्रमण दर उच्च गतिमा बढ्दै गए पनि अस्पतालमा सो अनुसार बालबालिकाको उपचारका लागि आवश्यक आइसीयु निर्माणको तयारी भने फितलो देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले २१ जेठमा विज्ञप्ति जारी गर्दै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन भनेको थियो ।

प्रदेश १ मा अहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र कोरोना पोजेटिभ भएका बालबालिकाको उपचार हुने गरेको छ ।

प्रतिष्ठानमा पनि दुई शय्याको मात्र पीआईसीयू छ । यसबाहेक सरकारी ठूला अस्पतालहरू विराटनगरमा रहेको कोशी, झापा रहेको मेची प्रादेशिक अस्पतालमा समेत कोरोना संक्रमित बालबालिकाको उपचार गर्न छुट्टै भेन्टिलेटर र आईसीयूको व्यवस्था छैन ।

सरकारीका अलावा प्रदेशमा रहेका दुई शिक्षण अस्पताल नोबेल र विराटसहित झापाको बिएण्डसीमा पनि कोरोना पोजेटिभ भएका बालबालिकाको उपचारका लागि पिआइसियुको सेवा अभाव छ ।

कोरोना संक्रमित बालबालिकाका लागि हालसम्म पिआईसीयूलगायतको पूर्वाधार व्यवस्थापन नगरेकाले कडा लक्षण भएका कोरोना संक्रमित बालबालिकालाई उपचारका लागि काठमाडौंका अस्पतालमा लानुपर्ने बाध्यता छ ।

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पीआईसीयू सधैँ बिरामी बालबालिकाले भरिने गरेको थियो । तर पछिल्ला दुई दिन यता बालबालिकाका लागि छुट्याइएका पीआईसीसी बेड खाली रहेको प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले बताए ।

पोखरेलका अनुसार सरकारले भनेअनुसार प्रतिष्ठानमा पनि थप १५ शय्याको पिआईसियु थप्ने कामका लागि टेण्डर आह्वान गरिएको छ ।

त्यसैगरी कोरोना संक्रमित बालबालिकाको उपचारमा लक्षित गरी विराटनगरमा रहेको कोशी अस्पतालमा पनि १० बेडको पिआइसियु बनाउने तयारी भइरहेको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले १० शय्याको पिआईसियु सञ्चालनका लागि आवश्यक उपकरण खरिदका लागि टेन्डर आह्वान गरिएको बताए ।

मेसु दासले भने, ‘निकट भविष्यमै कोरोना संक्रमित बालबालिकाको उपचारलाई लक्षित गरी कोशीमा पीआईसीयू सञ्चालनको तयारीमा जुटेका छौं ।’ विशेष गरी कोरोना संक्रमणको तेश्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञहरुको चेतावनीलाई ध्यानमा राख्दै आफूहरु आवश्यक तयारीमा जुटेको उनको भनाइ थियो ।

प्रादेशिक अस्पताल मेचीले पनि कोरोना संक्रमित बालबालिकाको उपचारका लागि पहिलो चरणमा पाँच शय्याको पीआईसीयू सञ्चालनको तयारी थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टंकप्रसाद बाह्रकोटीले बताए । त्यसका लागि टेन्डर आह्वान गरी आवश्यक उपकरण खरिदको प्रकृयासमेत अगाडि बढिसकेको उनले बताए ।

उनले पीआईसीयू संचालनका लागि अस्पतालमा जनशक्तिको समेत अभाव रहेको जानकारी दिए । पीआईसीयू सञ्चालनका लागि थप २ जना बाल रोग विशेषज्ञसहित ८ जना मेडिकल अफिसर अस्पतालमा आवश्यक पर्ने उनको भनाइ छ । हाल अस्पतालमा मेसु बाह्रकोटीसहित तीनजना बाल रोग विशेषज्ञ छन् । बाह्रकोटीले अस्पतालको प्रशासनमा पनि समय दिनुपर्ने भएपछि दुई डाक्टरले मात्र बालबालिकाको वार्डमा समय दिनुपर्ने अवस्था छ ।

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले सरकारले अस्पतालको क्षमताअनुरूप यही प्रयोजनका लागि छुट्याएको बजेट अनुसार प्रदेश १ को अस्पतालहरूमा सरकारले तोकेअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि अस्पतालहरुमा छुट्टै पीआईसीयू सञ्चालनका लागि तयारी भइरहेको बताए ।

उनका अनुसार कोरोना संक्रमित बालबालिकाको उपचारका लागि कम्तीमा एक बालरोग विशेषज्ञ वा फिजिसियन राख्नैपर्ने व्यवस्था अनुसार तयारी भइरहेको छ ।

‘भदौदेखि सबै अस्पतालहरूमा कोरोना वार्ड सञ्चालन हुनेछन्,’ उनले भने, ‘त्यो अनुरूप अस्पतालहरूको तयारीको अनुगमन गरिरहेका छौं ।’

प्रदेशभर १२ साउनसम्म ८२ हजार ६ सय ४६ संक्रमित भइसकेका छन् । तीमध्ये १० वर्ष उमेर समूहका २ हजार १७४ र ११ देखि २० वर्ष उमेर समूहका ६ हजार ७ सय ९३ रहेको मन्त्रालयले जनाएको छ । यो संख्या कुल संक्रमितको १० प्रतिशतभन्दा बढी हो । हालसम्म २० वर्ष मुनि उमेर समूहका २१ संक्रमितको मृत्यु भएको छ । 

प्रदेशभर ७ हजार १४ सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमणले १२ साउनसम्म १ हजार ५ सय ४९ को मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप