बालकथा : यसरी बाल्यकालमै चिरञ्जीवी बने प्रह्लाद

person explore access_timeसाउन १४, २०७८ chat_bubble_outline0

परापूर्व कालमा हिरण्यकशिपु नामका सम्राट थिए । उनको स्वर्ग, मत्र्य, पाताल तीनै लोकमा उनको एकछत्र साम्राज्य थियो । हालको इराक भन्ने स्थानमा राजधानी बनाएर तीनै लोकको शासनसत्ता सञ्चालन गरेका थिए । आफ्ना दाजु हिरण्याक्ष विष्णुका हाताबाट मारिएपछि विष्णुका कट्टर दुष्मन बन्न पुगेका भए पनि उनकै छोरा प्रह्लाद भने विष्णुका परम भक्त थिए ।


एक दिन हिरण्यकशिपुले गुरु शुक्राचार्यलाई बोलाएर छोरा प्रह्लादलाई राम्ररी पढाउनु भन्ने आदेश दिए, जो त्यतिबेला पाँच वर्षका थिए तर गुरुले आफू तपस्या गर्न जान लागेको हुँदा आफ्नो गुरुकुलमा पठाइदिन आग्रह गरे । उनको गुरुकुल हालको अफगानिस्तानमा पर्ने दक्षशिला भन्ने स्थानमा थियो ।



बाबुको आज्ञाले प्रह्लाद गुरुकुल आश्रममा बसेर पढ्न लागे तर उनको ध्यान पढाइमा भन्दा विष्णुको भक्तिमा बढी थियो । गुरुहरू दानवी शिक्षा दिन्थे, जहाँ धुत्याईँ र छलकपट बढी हुन्थ्यो ।  शिक्षाको पाठ्यक्रम नै यसरी बनाएको थियो कि  कसरी अरुलाई जितेर आफ्नो वशमा राख्न सकिन्छ भन्ने सोचिन्थ्यो । यस्तो शिक्षाले ठूलो मानिस बनाउने प्रयास त गथ्र्यो राम्रो बनाउन भने सक्दैन थियो तर प्रह्लादजी थिए त्यसको ठीक विपरीत । त्यसैले गुरुकुलको शिक्षामा खासै ध्यान दिएका थिएनन् ।



उनी हमेशा भन्ने गर्थे– ‘सही शिक्षा त्यही हो, जसले शान्ति, सद्भाव, दया, माया, मैत्री र करुणा जगाउँछ । संसार जित्न सकिन्छ भने प्रेम र सद्भावले नै सकिन्छ न  कि बल, घमण्ड, अहङ्कार र धुत्र्याईँले ।’



ठूलो भन्ने कुरा आफूले भनेर हुने होइन, अरुले भनिदिनुपर्छ तर अरुले त्यतिबेला भनिदिन्छन्, जतिबेला आफू राम्रो बन्न सकिएको छ भन्ने उनको मान्यता थियो । त्यसैले उनी पनि त्यस्तै व्यवहार गर्थे र साथीहरूलाई पनि त्यस्तै गर्न सिकाउँथे, लगाउँथे ।



‘राजकुमार ! यस्तो ज्ञान कहाँबाट पाउनुभयो ?’ एकदिन खेल्न गएका बेला साथीहरूले सोधे–

‘एकै स्थानमा बस्छौँ, एउटै स्थानमा खान्छौँ, एउटै पुस्तक पढ्छौँ । गुरु त हमेशा ठूलो मानिस बन्नुपर्छ भन्नुहुन्छ तर तपाईँ भने ठूलो होइन राम्रो बन्ने प्रयास गर्नुपर्छ भनिरहनुभएको छ । परोपकारको कुरा गर्नुहुन्छ, मित्रताको कुरा गर्नुहुन्छ, सहयोग, सद्भाव र सहकार्यको कुरा गर्नुहुन्छ । यस्तो ज्ञान कहाँबाट सिक्नुभयो ? कसरी सिक्नुभयो ?’

‘कारण अर्कै छ ।’ दानवकुमारहरूलाई सम्बोधन गर्दै प्रह्लादले भने–

‘साथी हो ! मैले यो ज्ञान गुरुहरूबाट पाएको होइन । गुरुले दिएका ज्ञान त्यही हो, जुन तिमीहरू भनिरहेका छौ तर त्यस्ता ज्ञान आफैँमा ज्ञान होइनन् । सही ज्ञान त्यही हो, जसले अरुलाई बचाएको छ, बचाउन सकेको छ । अरुलाई ठगेर, ढाँटेर मारेर पाइने ज्ञान, ज्ञान होइन । यो त ज्ञानको नाममा अज्ञान हो । त्यसैले मैले उनीहरूले दिएका ज्ञानमा ध्यानै दिएको छैन । मैले पाएको ज्ञान आमाको गर्भबाटै पाएको ज्ञान हो ।’

‘गर्भबाटै पाएको ज्ञान ?’ आश्चर्य मान्दै दानव कुमारहरूले भने–

‘त्यस्तो कसरी सम्भव हुन्छ ? गर्भभित्रबाट कसरी ज्ञान पाउनुभयो ? कसले सिकायो, कसरी सिक्नुभयो ? मिल्छ भने यसैबारेमा पनि जान्न चाहन्छौँ ।’

‘मिल्छ मित्र ! मिल्छ ।’ लामो सास फेर्दै प्रह्लादले भने–

‘मेरा ठूलो बाबालाई यिनै गुरुहरूका दानवी शिक्षाले साह्रै दुष्ट बनाएको थियो । वरदानी शक्तिलाई दुरुपयोग गरी जो भेटिन्छ उसैलाई ढाँट्दै, छल्दै, मार्दै, काट्दै हिँडन्ुहुन्थ्यो । यसबाट दुनियाँमा हाहाकार मच्चियो । भगवान् विष्णुले सम्झाउने कोशिस गर्नुभयो तर उहाँले मान्नुभएन । उल्टैलाई विष्णुलाई नै मार्छु, काट्छु भन्दै जाइलाग्नुभयो, जसले गर्दा विष्णु उहाँलाई समाप्त पार्न वाध्य हुनुभयो । यो कुरा मेरा बाबाले पचाउन सक्नुभएन र विष्णुसित बदला लिन्छु भन्दै तपस्या गर्न जानुभयो । त्यतिबेला म आमाको गर्भमा थिएँ रे । यही मौकापारी स्वर्गका राजा इन्द्रले मेरी आमालाई मार्ने उद्देश्यले अपहरण गरेका रहेछन् । यो कुरा देवर्षि नारदले थाहा पाउनुभएछ र आमालाई आफ्नो आश्रममा राखेर भगवान् विष्णुको भक्ति लगायत ज्ञानगुनको शिक्षा दिन थाल्नुभएछ ।

नारदजी परोपकार र परहितकारी कुरा गरेर आमाको मन बहलाउने प्रयास गर्नुहुन्थ्यो तर व्यावहारिक चिन्ताका कारण आमाले सबै सुन्न र बुझ्न सक्नुभएन । म भने गर्भभित्रबाट सबै सुन्थेँ, चिन्तन, मनन गर्थेँ । त्यसैको फल अहिले पाइरहेको छु । एकचित्त भएर सुन्ने र मनन गर्ने गरेकाले अहिलेसम्म पनि बिर्सन सकेको छैन ।’

प्रह्लादको कुराबाट दानव कुमारहरू निकै प्रभावित भई उनकै अनुयायी बन्न पुगे । दानवकुलमा एकसेएक विष्णुका भक्त निस्कन थाले । यो कुरा गुरुहरूले थाहा पाए र लौ बित्यास पर्न आँट्यो भन्दै हिरण्यकशिपु समक्ष गएर सबै कुरा बताए ।

गुरुहरूको कुरा सुनेर हिरण्यकशिपु नराम्रोसित झस्के । उनले प्रह्लादलाई बोलाएर त्यसो नगर्न सक्दो दवाव दिए तर केही लागेन । उल्टै बाबुलाई नै आफ्नो कल्याण चाहने भए तपाईँ पनि यही बाटोमा आउनुस् भन्न लागे । त्यसपछि क्रुद्ध हुँदै उनले प्रह्लादलाई मार्न खोजे तर केही लागेन । आफ्ना हरेक प्रयास विफल भएपछि रातो आँखा पार्दै हिरण्यकशिपुले भने–

‘तेरो भगवान् कहाँ छ तुरुन्त देखा ।’

प्रह्लादले विनम्रतापूर्वक उत्तर दिए–

‘जहाँ पनि हुनुहुन्छ ।’

हिरण्यकशिपुले अगाडि खम्बा देखाउँदै सोधे–

‘यहाँ पनि छ त ?’

प्रह्लादले बिना हिचकिचाहट उत्तर दिए–

‘हो, हुनुहुन्छ ।’

त्यसपछि उनले तरबारले खम्बामा के हानेका थिए त्यहीँबाट गुरुङ्गऽऽ आवाज निकाल्दै भगवान् नरसिंह प्रकट भई हिरण्यकशिपुको पेट चिरेर मारे । 

हिरण्यकशिपुको मृत्युपछि नरसिंह भगवान्ले प्रह्लादलाई वरदान माग्न भने । उनले आफ्ना बाबाले अन्जानमा गरेका गल्तीलाई माफ गरी मुक्ति दिनुहोस् भने ।  भगवान्ले जसको कुलमा तिमी जस्ता सन्तान भएका छन् उनीहरूले पहिले नै मुक्ति पाइसकेका हुन्छन् भन्दै चिरञ्जीवी बनेर लोकको हित गर्न सक्नेछौ भन्ने आसिर्वाद दिए ।

यसैका कारण उनी अहिलेसम्म पनि जीवित रहेर कुनै न कुनै रूपमा परहित र परोपकारको काम गर्दैै आएका छन् भन्ने धार्मिक विश्वास छ । पाँचै वर्षका उमेरमा भगवान्लाई खुसी पारी जिरञ्जीवी बन्न सफल भएका प्रह्लादजीलाई हामीले देखेका त छैनौँ तर उनको कीर्ति गाथा सुनेर आफ्नो जन्म दिनमा उनको पूजा गरी सम्झना गर्ने चलन भने अहिले पनि कायमै छ ।    

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।