शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारमा जानेबारे माधव नेपालको लाइन– एक साता हेरौँ

‘दोस्रो अध्यक्ष खान्न, समान हैसियतबिना एकता हुन्न’
बिहीबार, १४ साउन २०७८, ०९ : ०५
बिहीबार, १४ साउन २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समान हैसियतविना केपी ओलीसँग एकता असम्भव रहेको प्रष्ट पारेका छन् । त्यसैगरी सरकारमा जानेबारे एक सातासम्म कुर्न नेता नेपालले आफ्नो समूहका नेताहरुलाई आश्वासन दिएका छन् ।

आफू पक्षीय २२ सांसदहरुसँगको छलफलमा बुधबार नेता नेपालले खासगरी सरकारमा सहभागिताको विषय र पार्टी एकताबारे २ वटा कुरामा प्रष्ट पारे । नेता नेपालकोे पहिलो प्राथमिकता थियो – पार्टी एकताको प्रसंग र दोस्रो सरकार बारेको चर्चा ।

प्रतिनिधि सभा पुर्नस्थापना र देउवा नेतृत्वको सरकार निर्माणमा निर्णायक भुमिका खेलेको माधव समूह पछिल्लो समय आफ्नो भुमिका के हुने भन्नेमा स्पष्ट हुन सकेको छैन । सत्तारुढ गठबन्धनले सरकारमा सहभागी हुन गरेको आग्रहलाई माधव समूहले तत्काल सरकारमा सहभागी नहुने जवाफ दिइसकेको छ । तर, आफ्नै समूहभित्र भने नेता नेपाललाई सरकारमा जानुपर्ने चर्को दबाव छ ।

बुधबारको छलफलमा सहभागी एक नेताका अनुसार सुरुमा नेता नेपालले पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका बारेमा आफूलाई साथ दिने सांसदहरुको धारणा माग गरेका थिए ।

त्यसक्रममा बोल्ने अधिकांश सांसदहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आफूहरुले विश्वासको मत दिएकाले देउवा सरकार सफल पार्नुपर्ने र त्यसका लागि माधव समूह सरकारमा जानुपर्ने धारणा राखेका थिए ।

त्यसक्रममा कतिपयले पार्टीगत हैसियतमा सरकारमा सहभागी हुन समस्या हुने भए स्वतन्त्र ढंगले समेत सरकारमा जानुपर्ने धारणा सुनाएका थिए ।

‘हामीले प्रतिगमन रोक्न देउवालाई मत दिएका हौं, प्रतिगमन सच्चिएको छ । अब हामी आफैंले मत दिएर बनाएको सरकार पूरा अवधि टिकाउनुपर्छ । त्यसका लागि सरकारमा सहभागी बन्नुपर्छ’, २२ मध्येका एक सांसदले छलफलमा राखेको भनाइ उधृत गर्दै रातोपाटीसँग भने, ‘यदि पार्टीगत रुपमा सरकारमा सहभागी हुन मिल्दैन भने, स्वतन्त्ररुपमा पनि सरकारमा जान पाउनुपर्छ ।’

जवाफमा नेता नेपालले केही दिन धैर्य गर्न सुझाव दिएका थिए । अधिकांश सांसदहरुले सरकारमा जानुपर्छ भने पनि नेता नेपालले यसबारे अहिले नै निर्णय हुन नसक्ने संकेत गरेका थिए । ‘पार्टी एकताको प्रयास भइरहेको छ, कमसेकम एक साता हेरौं । त्यसपछि निर्णय गर्नुपरे गरौँला’, नेता नेपालको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘यो सरकार हामी सबैको प्रयासले बनेको हो, यसलाई सफल बनाउनु हाम्रो पनि दायित्व पनि हो । तर, पहिलो प्राथमिकता पार्टी एकता हो ।’

सरकारको चर्चा गरिसकेपछि नेता नेपालले पार्टी एकताको प्रशंगबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा नेता नेपालले अध्यक्ष ओली पक्षबाट दोस्रो अध्यक्षका लागि आएको प्रस्ताव र प्रचारबारे आफ्नो धारणा सुनाएका थिए । त्यसमा उनले भनेका थिए, ‘बाहिर प्रचार धेरै किसिमका भएका छन्, कतिले दोस्रो अध्यक्ष खान माधव नेपाल तयार भयो भनेर समेत प्रचार भएको सुनिन्छ । तर, वास्तविकता त्यो होइन । ओली अझै पनि विभिन्न भ्रम छरिरहेका छन् । उनी भ्रम र जालझेलबाट बाहिर निस्केका छैनन् । त्यसैले म तपाईहरुसामु प्रष्ट भन्छु, दोस्रो अध्यक्ष खान्नँ ।’

नेता नेपालले बुधबारको बैठकमा भने, ‘यदि ओली एकताका लागि तयार छन् भने जेएन कमरेड, वामदेव कमरेड र अष्ट कमरेडलाई दोस्रो अध्यक्ष बनाएर एकता गर्न सकिन्छ ।’

तर, नेता नेपालले आफूले स–सम्मान एकता हुनुपर्ने र त्यसका लागि आगामी महाधिवेशनसम्म ओलीको बराबर अधिकार हुने निश्चितता भएमात्रै वास्तविक एकता ठहरिने र त्यसको अर्थ रहने बताएका थिए ।

नेता नेपालले दोस्रो तहका नेताहरुले एकताको प्रयास गरिरहेको भन्दै त्यो प्रयास सकारात्मक भए पनि उनीहरु ओलीको चास्नीमा फसिसकेकोबारे आफू जानकार रहेको बताएका थिए ।

‘हाम्रा दोस्रो तहका केही नेताहरु लागिरहनुभएको छ । मैले एकसातामा निर्णय चाहिन्छ भनेको छु । उहाँहरुले एक साता भनेको धेरै साता बितिसकेको छ । उहाँहरु पुरानै कुरामात्रै गरिरहनुभएको छ, त्यसबाट पार लाग्ने गरी स–सम्मान एकता हुन सक्दैन’, नेता नेपालको सन्देश थियो ।

छलफलमा कतिपय सांसदहरुले अवको १५ दिनभित्र बहुमत सांसद जुटाएर केपी ओलीलाई संसदीय दलको नेताबाट समेत हटाउन सकिने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप