सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

बाघ संरक्षण: क्षेत्रीय पर्यटनको आधार

बाघको जीवनशैलीबारे केही रोचक जानकारी
बिहीबार, १४ साउन २०७८, ०८ : २६
बिहीबार, १४ साउन २०७८

धेरैजसो मानिस भ्रमवश समान्य चितुवालाई पनि बाघ भन्ने गर्छन् तर त्यो सही होइन । बाघ प्रजाति एउटा निश्चित आधारक्षेत्र बनाएर विचरण गर्ने एकान्तप्रेमी तथा निजी जीवन रुचाउने चामत्कारिक बिरालो प्रजातिको जन्तु हो । यसको जैविक नाम पान्थोरा टिग्रिस हो । विकिपेडियाका अनुसार यसको लम्बाइ २७० देखि ३१० सेमि र तौल १८० देखि २५८ केजीसम्म भएको पाइएको छ । तर उत्तरी भारत तथा नेपालमा पाइने बाघ प्रजातिको औसत तौल भने २३५ केजीसम्म भएको मानिन्छ । अहिलेसम्म बाघका नौ प्रकारका प्रजाति पत्ता लागेको छ ।

हाम्रो देशमा पाइने बाघ बङ्गाल टाइगर हो । यसको शरीरमा बाहिरी भाग सेतो र गाढा पहँेलो रङ्ग मिसिएका धर्काहरू देखिने भएकाले यसलाई पाटेबाघ पनि भन्ने चलन छ । अहिले बाली, जाभान र क्यास्पियन जस्ता बाघ प्रजाति संसारबाट लोप भइसकेका छन् । बाघ पाइने मुलुकमा भारत, नेपाल, भुटान, म्यानमार, लाओस, भियतनाम, चीन, मलेसिया, इन्डोनेसिया, उत्तरकोरिया र रसिया हुन् । हालैका वर्षमा कम्बोडिया र बाङ्गलादेशमा पनि यो प्रजातिको अस्तित्व शून्य भइसकेको छ ।

बीसौँ शताब्दिको प्रारम्भमा एक लाखको हाराहारीमा रहेको बाघ प्रजाति अहिले  ३८९० को सङ्ख्यामा सीमित हुन पुगेको छ । अहिले भारतमा सबैभन्दा धेरै बाघ २२२६ वटा छन् । नेपालमा राष्ट्रिय वन्यजन्तु तथा निकुञ्ज विभागले गरेको गणनाअनुसार सन् २०१८ मा यसको सङ्ख्या २३५ पुगिसकेको छ । भुटानमा यसको सङ्ख्या १०३, मलेसियामा २५०, चीनमा ६, रसियामा १८९, इन्डोनेसियामा ३७१, भियतनाममा ५ र लाओसमा २ वटा छ । बाघलाई  भारत, मलेसिया, दक्षिण कोरिया र बाङ्गलादेशले राष्ट्रिय जनावरका रूपमा पहिचान दिएका छन् । 

बाघको प्रजाति घट्नुका पछाडि तीनवटा मुख्य कारणहरू मानिएका छन् । पहिलो बासस्थान क्षेत्र घट्नु, दोस्रो भएका वासस्थानहरू खण्डीकरण तथा बस्नयोग्य नहुनु, तेस्रो चोरी सिकार तथा अवैध व्यापार हुन् । सन् १९९७ देखि २००७ को अवधिमा मात्रै बाघको कुल बासस्थान क्षेत्रको करिब ४१ प्रतिशत क्षेत्र नष्ट भएको थियो । अन्तर्राष्ट्रिय बजारमा एउटा बाघको छालाको मूल्य करिब ४२५० यूएस डलर बरावर छ ।

आईयूसीनको रेडलिस्टमा सङ्कट उन्मुख प्राणीका रूपमा उल्लेख गरिएको यो प्रजाति पानी, जलासय, तालतलैया, घोल, नदी किनारमा बस्न, नुहाउन, पौडीखेल्न रुचाउने गर्छ । एउटा वयस्क पोथी बाघलाई सन्तानोत्पादन गर्न हुर्काउन, विचरण गर्न कम्तीमा पनि २० वर्ग किमि बराबरको वासस्थान क्षेत्र आवश्यक पर्ने नेसनल जोग्राफिक च्यानलले बताएको छ । एकै दिनमा २९ किमि दूरीसम्म पौडी खेल्न र आफूभन्दा ६ गुना ठूलो तौल भएका जनावरहरूलाई सजिलै मार्न सक्ने यो प्रजातिले ३३ फिट उचाइसम्म छलाङ हान्न सक्छ ।

किशोरावस्थाका डमरुहरूले प्रायः माउको छेउछाउमा आफ्नो आधार क्षेत्र बनाउने गर्छन् जहाँ उनीहरूले माउबाट शिकार खेल्ने सीपहरू सिक्छन् । आआफ्नो आधार क्षेत्र बनाउने र ओगट्ने क्रममा बाघहरू एकआपसमा जुधेर, घाइते भई मर्ने गर्छन् । यिनीहरूले ठूला रुखका फेदमा पिसाब छर्केर, गुदद्वार रगडेर र नङ्ग्राले कोतरेर आफ्नो आधारक्षेत्र र उपस्थितिको जानकारी दिने गर्छन् ।

सामान्य अवस्थामा बाघले मान्छे मार्ने वा खाने गर्दैन । तर बाघ बुढो, अशक्त वा घाइते भएको र दात जवडाहरू भाँचिएको अवस्थामा छ भने वरिपरि डमरुहरू भएको अवस्था र सहवासको सिजन छ भने मानिसलाई आक्रमण गर्छ । धेरैजसो अवस्थामा डमरुको सुरक्षाका लागि आक्रमण गर्ने गर्छ भने बुढो अशक्त अवस्थामा आहाराका लागि गर्छ । प्राय साँझपख, अँध्यारो गोधुली समयमा आफ्नो शिकार खेल्ने गर्छ । एकदमै शीघ्र दौडन सक्ने तर धेरै समय नदौडने स्वभाव भएकाले यसले सकेसम्म शिकारको नजिक पुगेर आक्रमण गर्ने प्रयास गर्छ । यो दुई हप्तासम्म नखाईकन पनि बस्न सक्छ । यसले एकै पटकमा ३४ केजीसम्म ताजा मासु खान सक्छ ।  यसले नोभेम्बर र अप्रिल महिनामा सहवासका लागि जोडी खोज्छ ।

भाले बाघले डमरुहरू हुर्काउन खासै चासो दिँदैन तर आफूले गरेको सिकार कहिलेकाहीँ डमरुसँग मिलेर खाने गर्छ । यसले सहवासको समयमा बघिनीलाई विशेष ध्यान दिन्छ, गर्जिन्छ र पोथीले पनि गर्जिएर स्वीकृति दिन्छिन् । बघिनीले आफू सहवासका लागि तयार भएको ३ देखि ६ दिनभित्रमा भाले बाघको सहवास अफर स्वीकार्छिन् ।

भाले बाघ सहवासका लागि कतिसम्म उग्र हुन्छ भने बघिनीसँग सहवास गर्न अवरोध भएमा त्यसका डमरुलाई समेत मार्न पछि पर्दैन । तसर्थ सहवासको सिजनमा यो बढी आक्रामक हुन्छ । बघिनीले डमरुहरू एकान्त ओढार, गुफा तथा घनाजङ्गलमा हुर्काउँछिन् र सकेसम्म नजिकैको सिकार गर्ने गर्छिन । शान्त वातावरण, जलविहार, पोखरी तथा जलाशय युक्त नदी कुण्डहरूले यिनीहरूको सहवास तथा प्रजनन् कार्यलाई उत्साहित गराउँछ । यो उष्णप्रदेशीय हावापानी रुचाउने अन्तर्मुखी स्वभाव भएको, आफ्नो वर्गबाहेक अरूलाई खासै नरुचाउने अद्वितीय दुर्लभ प्रजातिमा पर्छ । बघिनीले आँखा नउघ्रिएका डमरु जन्माउँछिन्, जुन पछि ६ देखि १४ दिनका बीचमा खुल्छन् ।

धेरैजसो डमरु जन्मिएको पहिलो २ वर्षभित्र मर्ने हुनाले डमरुको २ वर्ष भित्रको मृत्युदर झण्डै ५० प्रतिशत रहेको छ । डमरुहरू अत्यधिक चिसो छल्न, कुपोषण, खाना नपुगेर मर्ने गर्छन् भने केही भाले बाघले बघिनीसँग बदला लिने कारणले मारिन्छन् । डमरुहरू ३ देखि ६ महिनासम्म आमाको निगरानीमा रहन्छन् भने ११ महिनासम्म आमासँग सिकार गर्ने प्रशिक्षण लिन्छन् । करिब १८ महिनाको उमेर पुग्दासम्म डमरुहरू सिकार गर्न सक्ने हुन्छन् । यिनीहरू साढे दुई वर्ष नपुग्दासम्म आमासँग पूर्णरूपमा छुट्टिदैनन् । बाघको औसत आयु २६ वर्ष मानिएको छ ।

बाघ संरक्षणका प्रयास: नेपालमा बाघ संरक्षणको व्यवस्थित थालनी १९७३ मा चितवन राष्ट्रिय निकुञ्ज घोषणासँगै थालिएको हो । २००९ मा नेपालमा गरिएको अन्तर्राष्ट्रिय बाघ संरक्षण कार्यशाला गोष्ठीले विश्वमा रहेको बाघको सङ्ख्यालाई दुई गुना बनाउने प्रतिबद्धता गरेको थियो । नेपालले पनि त्यसबेलाको बाघको १२१ सङ्ख्यालाई सन् २०२२ सम्म दुईगुना पुर्याउने लक्ष्यका साथ बाघ संरक्षण रणनीतिक योजना बनाएको थियो । खुसीको कुरा के छ भने, विगत आठ वर्षको दौरानमा नेपालले जस्तोसुकै राजनीतिक अस्थिरता, आन्दोलन, नाकाबन्द, भुकम्प जस्ता विपद एवं विषम परिस्थिति भोगे पनि  बाघको सङ्ख्या दुई गुना पुर्याउने लक्ष्य परिणाम उन्मुख बनाउँदै गएको देखिन्छ । यसको ज्वलन्त परिणाम सन् २०१४ मा १९८ वटा भएका बाघ सन् २०१८ मा आउँदा २३५ को सङ्ख्या पुगेको कुराले पुष्टि गर्छ । यसका लागि नेपाल सरकार, नेपाली सेना, अन्य सुरक्षाकर्मी, राष्ट्रिय वन्यजन्तु संरक्षण विभाग, मध्यवर्तीक्षेत्र उपभोक्ता समिति, प्रभावित समुदाय लगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय, सङ्घसंस्थाहरूको प्रयासलाई  धन्यवाद दिनुपर्छ । यो उपलब्धिले भारत, नेपाल र भुटानमा एकीकृत बाघ पर्यटनका लागि क्षेत्रीय पर्यटन सञ्जालको ढोका खोलिदिएको छ ।

अहिले नेपाल सरकारले यसको संरक्षणलाई अत्यधिक प्राथमिकतामा राखेको छ । बाके राष्ट्रिय निकुञ्ज तथा अन्य विस्तारित महत्त्वपूर्ण जैविकमार्ग, वनक्षेत्रहरूलाई संरक्षित क्षेत्र घोषणा गरिएको कार्यलाई बाघसंरक्षणमा कोसेढुङ्गा सावित हुने मान्न सकिन्छ । प्रधानमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय बाघ संरक्षण समिति, केही वर्षअघि सम्पन्न नेपाल र चीन सरकारबीचको अवैध निकासी तथा ओसारपसार, व्यपारविरुद्धको द्विपक्षीय सम्झौता तथा भारतसँग गरिएको सीमापार समझदारीले पनि बाघलगायत अरू दुर्लभ जीवको अवैधव्यपार तथा चोरी सिकारी नियन्त्रणमा कोसेढुङ्गा सावित हुने ठानिएको छ । 

बाघ संरक्षणसम्बन्धी प्रतिबद्धता, बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय सेलिब्रेटी लियोनार्डो डिकेप्रियोको अनौपचारिक नेपाल भ्रमण, बाघ कोषको स्थापना, बेलायती अधिराजकुमार ह्यारीको बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन भ्रमण र प्रतिबद्धता आदिलाई सकारात्मक पहल मान्न सकिन्छ । भारतले पनि विभिन्न टाइगर रिर्जभ घोषणा गरेर यसको अस्तित्व जोगाउने प्रयास गरिरहेको छ ।

स्थानीय आयस्रोतको माध्यम: बाघ संरक्षण तथा क्षेत्रीय वाघ पर्यटन संजाल फगत राष्ट्र र पर्यटन व्यवसायीहरूका लागी मात्रै नभइ बाघको वासस्थान क्षेत्रसँग जोडिएका करिव १५६ वटा स्थानिय निकायहरूको आयश्रोत बन्न सक्छ । चितवनको एउटै मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले  आफ्नो पर्यटकीय कमाइ करिब ३ करोडसम्म गरेको उदाहरण छ । तसर्थ स्थानीय निकायहरूले पनि बाघ संरक्षणका लागि आवश्यक पारिस्थितिकीय प्रणाली, आहार, विहार तथा सुरक्षा सँगसँगै मानव वन्यजन्तु द्वन्द्वको व्यवस्थापन जस्ता कुरालाई आफ्ना योजना कार्यक्रममा समावेश गर्नुपर्ने कुरामा जोड दिनुहुन्छ बाघ संरक्षणमा अनुभव संगालेका वरिष्ठ संरक्षणविद श्री शिवराज भट्ट । बाघ संरक्षणको मुख्य सवाल भनेको नवसंरचित स्थानीय निकाय तथा समुदायहरूले यसको उपस्थितिलाई कसरी वातावरणीय तथा पर्यटकीय महत्त्वका रूपमा लिन्छन् ।

स्थानीय निकायको योजना कार्यक्रममा बाघको संरक्षण तथा संवद्र्धनलाई कसरी सम्बोधन गर्छन् भन्ने हो । बाघ भनेको गैँडा, हात्ती जस्तो सजिलै हेर्न पाउन कठिन छ । बाघ हेर्नका लागि पर्यटकहरू लामो समय बस्ने हुँदा यसले स्थानीय पर्यटनलाई योगदान पुगेको छ । यसले पर्यटकको बसाइ लम्ब्याउने हुँदा पर्यटन व्यवसाय लगायत स्थानीय रोजगारी, वस्तु तथा सेवाको अवसरहरू पनि स्थानीय तहमा नै पुग्ने कुरामा जोड दिनुहुन्छ भट्ट । त्यसैगरी वरिष्ठ चरा विशेषज्ञ डा. हेमसागर बरालका भनाइमा बाघको उपस्थिति अन्य वन्यजन्तु र जङ्गलका लागि मात्रै नभई मानव अस्तित्वको दिगोपनका लागि पनि आवश्यक स्वस्थ पर्यावरण, खानेपानीका स्रोतसंरक्षण, पर्यावरणीय सन्तुलनका लागि, उत्पादकत्व, उर्वरता र प्राकृतिक सन्तुलनका हिसाबले आवश्यक छ ।

बाघ हेर्न चाहने विश्वका पर्यटकहरूमध्ये सबैभन्दा धेरै नेपालमा नै आउने गरेका छन् । पर्यटकहरू नेपाल गएपछि बाघलाई हेर्न अवश्य पाइन्छ भन्ने विश्वास राख्छन् । बाघको सङ्ख्या वृद्धि गर्नमा अन्तर्राष्ट्रिय चर्चा पाएको मुलुक नेपाल मात्रै भएकाले पनि यसको दीर्घकालीन पर्यटकीय लाभ तथा समग्र पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने कुरामा डा. बराल जोड दिनुहुन्छ । स्थानीय निकायहरूले बाघको सङ्ख्या दोब्बर गर्ने राष्ट्रिय प्रतिबद्धतालाई पूरा गर्ने भूमिका खेल्न सक्नुपर्छ । जसबाट दुर्लभ बाघको संरक्षणमा टेवा पुग्ने छ भने बाघको संरक्षणमा स्थानीय निकायको योगदानको पहिचान अन्तर्राष्ट्रिय समुदायमाझ पुग्नेछ ।

क्षेत्रीय बाघ पर्यटनका आधार: बाघ पाइने तराईका विभिन्न राष्ट्रिय निकुञ्ज तथा जैविकमार्गहरू भारततर्फका वन्यजन्तु सेन्कचुरी तथा रिजर्भहरूसँग सिमाना जोडिएका छन्, जसले क्षेत्रीय बाघ पर्यटन प्रवद्र्धन गर्न सहज र कम खर्चिलो हुने बनाएको छ । पटनाबाट पोखरा, नेपालगञ्जबाट दिल्ली, लखनउबाट भैरहवा, पारोबाट भैरहवा लुम्बिनीसम्मका सीधा हवाई तथा स्थलमार्ग सञ्जाल बनाउन पनि बाघ पर्यटन माध्यम हुन सक्ने देखिन्छ । तर यसका लागि बाघ पर्यटनको लाभ अवसर स्थानीय आम्दानी रोजगारसँग जोडेर हेरिनु आवश्यक छ । पर्यटकीय लाभ अवसरकोे अनुभव कुनै न कुनै रूपमा बाघबाट प्रभावित समुदाय, स्थानीय निकाय, निजी तथा सामुदायिक व्यवसायहरूले गर्न पाएनन् भने बाघको संरक्षण तथा बाघ पर्यटन व्यवसाय चुनौतीपूर्ण रहिरहने छ ।

राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय पर्यटकहरू नै संरक्षण क्षेत्र र निकुञ्जको मुख्य आयस्रोतका माध्यम भएकाले प्रवर्द्धनात्मक कार्यका लागि पनि क्षेत्रीय बाघपर्यटन सञ्जाल उपयुक्त हुने देखिन्छ । वास्तवमा बाघ संरक्षण गरिनु भनेको यसको उपयुक्त वासस्थान, प्राकृतिक स्रोतसँग गाँसिएको एउटा पर्यटकीय तथा व्यावसायिक अवसर पनि हो । नेपालका अधिकांश बाघको वासस्थान क्षेत्र सीमावर्ती भारतका बासस्थान क्षेत्रसँग जोडिएकाले उता आएका पर्यटकहरू स्थलमार्गबाट सहजरूपमा यतातर्फ आउन सक्छन् । तर यसका लागि यातायात सञ्जाल तथा पर्यटनको गुणस्तर सुरक्षा पनि आवश्यक छ ।

बुद्धएअरले घोषणा गरेको नेपालगञ्ज दिल्ली सीधा हवाई सम्पर्कले मानसरोवर जाने यात्रुलाई बर्दिया राष्ट्रिय निकुञ्जमा आकर्षित गर्न सक्ने आशा गरिएको छ । आन्तरिक हवाई यातायातको सम्पर्कका रूपमा पोखरा नेपालगञ्ज, पोखरा, भैरहवा नेपालगञ्ज सञ्जाल बनाई हवाई प्याकेज गर्न सकेमा बाघ पर्यटललाई टेवा पुग्नेछ । यी नयाँ सञ्जालहरुले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी र बाघ संरक्षणविद्हरूलाई रणनीतिक रूपमा एउटै मैदानमा ल्याउन अनुकूल वातावरण मिलाउने छ । बाघ संरक्षण कार्य भनेको निकुञ्ज प्रशासन, प्रदेश वा देशको मात्रै सरोकारको विषय रहेन ।

खासगरी नेपाल भारतको सिमानामा एकापट्टिका बाघहरू लगायतका वन्यजन्तु अर्कोपट्टि ओहोर–दोहोर गर्ने हुनाले यसको प्रजनन् क्षमता, तथा सङ्ख्या वृद्धिका साथै यसले ल्याउने अवसरहरू निजी पर्यटन व्यवसायी तथा सेवा प्रदायकका लागि पर्यटन प्रवद्र्धन गर्न यो क्षेत्र उत्कृष्ट गन्तव्य स्थल बन्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ताराप्रसाद ज्ञवाली
ताराप्रसाद ज्ञवाली
लेखकबाट थप