बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

बुधबार, १३ साउन २०७८, २३ : ०१
बुधबार, १३ साउन २०७८

जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।  सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

टोकियो महानगर सरकारले एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको अहिले पहिलोपटक भएको जनाएको छ । विश्वको ध्यान खिचेको ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएको केही दिनपछि टोकियोमा सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको हो ।

यसअघि मङ्गलबार दुई हजार ८४८ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । देशभरी भने झण्डै सात हजार सङ्क्रमित भएको देखिएको छ ।  गतवर्ष सन् २०२० मा हुनुपर्ने ओलम्पिक खेलकुद प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले भइरहेको हो ।  महामारीका बीचमा भइरहेको खेलकुद प्रतियोगिताका कारण टोकियोमा महामारी थप फैलिने खतरा देखिँदै गएको छ । 

महामारी थप फैलिन नदिने उद्देश्यले टोकियोमा उच्च सतर्कता र उच्च सुरक्षा व्यवस्था गरिए पनि महामारी भने फैलिँदै गएको देखिएको छ ।  जापानको केन्द्रीय सरकारले यही जुलाई १२ देखि अगस्ट २२ सम्मका लागि टोकियोमा चौथो चरणको सङ्कटकाल लागू गरेको छ ।  टोकियोका बार तथा रेस्टुरेन्टहरुमा मादक पदार्थ विक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ भने बेलुका सबेरै बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । 

ओलम्पिक खेलकुद प्रतियोगिताका लागि लाखौँ खेलाडी, खेल पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमीहरू टोकियोमा भेला भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप