शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राफिक्समा हेर्नुहोस् काँग्रेसका सदस्य

बुधबार, १३ साउन २०७८, २१ : ११
बुधबार, १३ साउन २०७८

नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको कुल संख्या ८ लाख ५४ हजार ७११ जना किटानी भएको छ । रमेश लेखक अध्यक्ष रहेको क्रियाशील सदस्यता छानविन समितिले बुधबार केन्द्रलाई बुझाएको प्रतिवेदनमा यो संख्या किटानी भएको हो । तर, केही जिल्ला एवं देशभरिका ९५ बढी वडाहरुको विवाद मिलाउन बाँकी रहेकाले यो संख्यामा केही फेरबदल हुने देखिन्छ ।

 क्रियाशील सदस्यता छानविन समितिले तयार पारेको प्रतिवेदनमा नेपाली काँग्रेसका सदस्यहरुको उमेर समूह, लिंग, जातीय समुदाय र प्रदेशगत प्रतिनिधित्वको समेत वर्गीकरण गरिएको छ ।

काँग्रेसका सदस्यहरुको वर्गीकरणलाई हामीले यहाँ ग्राफिक्समा देखाउने प्रयास गरेका छौं :

 

पुरानाभन्दा नयाँ सदस्य बढी

नेपाली काँग्रेसमा पुराना सदस्यहरु भन्दा नयाँ सदस्य बढी देखिएका छन् । कुल ८ लाख सदस्यमध्ये पुराना सदस्यहरु ४७.९७ प्रतिशत कायम छन् भने नयाँ क्रियाशील सदस्यहरु ५२.३ प्रतिशत थपिएका छन् ।

संख्याको हिसाबले काँग्रेसका पुराना क्रियाशील सदस्यको संख्या ४ लाख ९ हजार ३३ छ भने नयाँको संख्या ४ लाख ४३ हजार ६७८ पुगेको छ ।

 

महिला न्यून, तेस्रो लिंगी १७६ जना

देशको आधा हिस्सा ओगट्ने महिलाहरुको प्रतिनिधित्व नेपाली काँग्रेसमा अपेक्षाकृत न्यून देखिएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको अवस्थामा काँग्रेसका कुल साढे ८ लाख सदस्यमध्ये महिलाको संख्या २२.६२ प्रतिशत मात्र छ । पुरुषको संख्या ७४.२६ प्रतिशत छ भने अन्य लिंगका ०.०२ अर्थात १७६ जनाले काँग्रेसको क्रियाशील सदस्यता लिएका छन् ।​ संख्याको हिसाबले काँग्रेसको सदस्यता लिने पुरुषहरु ६ लाख ५३ हजार ४३८ जना छन् भने महिला १ लाख ९९ हजार ९७ जना छन् ।​

४० हजार युवा, ११ हजार वयोवृद्ध

उमेरगत हिसाबले हेर्दा नेपाली काँग्रेसका १६ देखि २५ वर्ष उमेर समूहका युवाहरुको संख्या ४० हजार ४२७ जना अर्थात ४.५९ प्रतिशत छ । त्यस्तै ७५ वर्ष माथिका ११७८२ जनाले काँग्रेसको सदस्यता पाएका छन् । यो १.३३ प्रतिशत हो ।

त्यसैगरी २६ देखि ४० वर्ष उमेर समूहका काँग्रेसका सदस्यहरुको संख्या २ लाख ४९ हजार ७७४ अर्थात २७.३८ प्रतिशत छ । ४१ देखि ६० वर्ष उमेर समूहका सदस्यहरु सबैभन्दा बढी अर्थात ३ लाख २८ हजार २३४ जना छ । यो भनेको ३७.३० प्रतिशत हो । अर्थात नेपाली काँग्रेसमा प्रौढहरुको सबैभन्दा ठूलो संख्या देखिएको छ । ६१ देखि ७५ वर्ष उमेर समूहको संख्या ८३ हजार १० अर्थात ९.४३ प्रतिशत छ ।

 

खस आर्यको बाहुल्य

जातीय समावेशीताका आधारमा हेर्दा नेपाली काँग्रेसका खस आर्य समुदाय बाहुल्य देखिएको छ । साढे ८ लाख सदस्यमध्ये नेपाली काँग्रेसका खस आर्यको संख्या ३ लाख ६७ हजार ६११ अर्थात ४१.७८ प्रतिशत छ । दोस्रोमा आदिवासी जनजाति २३.६५ प्रतिशत अर्थात २ लाख ८ हजार १५९ जना छन् । मधेसी १०.८१ प्रतिशत, थारु ३.१३ प्रतिशत र दलित ५.१८ प्रतिशत छन् ।

 

बागमती पहिलो, कर्णाली अन्तिम

प्रदेशगत हिसाबले हेर्दा नेपाली काँग्रेसका सदस्यहरु वागमती प्रदेशमा सबैभन्दा धेरै, अर्थात १ लाख ८६ हजार १४३ जना छन् । दोस्रो संख्या प्रदेश १ मा छ । त्यहाँ १ लाख ७४ हजार ७८२ जना सदस्य छन् । तेस्रो स्थानमा रहेको गण्डकीमा १ लाख १८ हजार ६३३ जना सदस्य छन् भने ८ वटा जिल्ला मात्र रहेको प्रदेश २ मा १ ला १२ हजार ९४६ जना सदस्य छन् ।

थोरै जनसंख्या रहेको कर्णाली प्रदेशमा ५४ हजार ५६६ जनाले काँग्रेसको सदस्यता लिएका छन् । सुदुरपश्चिम प्रदेशमा काँग्रेसका क्रियाशील सदस्यहरुको संख्या ७४ हजार ७५६ रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप