शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसपाको मन्त्रीबारे निर्णय लिने अधिकार बाबुराम, उपेन्द्र र अशोकलाई

बुधबार, १३ साउन २०७८, १९ : ४१
बुधबार, १३ साउन २०७८

जनता समाजवादी पार्टी नेपालबाट सरकारमा मन्त्री पठाउन बारेमा निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको छ । जसपा नेपालले सरकारमा सहभागी हुने यसअघि नै निर्णय गरिसकेको छ ।

मन्त्री चयनको मापदण्डका बारे आज कार्यकारिणी समितिको बैठकमा छलफल भएको थियो । छलफलमा समानुपातिक समावेशी, नयाँ अनुहारलाई ग्राहयता, विषयवस्तुका अनुभवी, पार्टी तथा आन्दोलनमा योगदान दिएका जस्ता विषयवस्तुका आधारमा मन्त्री चयन गर्नुपर्ने सुझाव सदस्यहरुले दिएको बताइएको छ ।

जसपाबाट मन्त्री बन्ने आकांक्षी धेरै भएका हुनाले त्यसका बारेमा निर्णय गर्ने अधिकार संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको बैठकमा सहभागी एका कार्यकारिणी सदस्यले रातोपाटीलाई बताए । उनीहरुले मापदण्ड पुरा गरेर मन्त्रीको नाम चयन गरी सरकारलाई पठाउने बताइएको छ ।

प्रचार विभागका प्रमुख एवं कार्यकारिणी सदस्य डम्बर खतिवडाले मन्त्री कसलाई पठाउने विषयमा छलफल भएपनि कुनै व्यक्तिको विषयमा छलफल नभएको बताए । ‘मन्त्री पठाउने विषयमा सैद्धान्तिक छलफल भएको हो । तर व्यक्तिका विषयमा कुनै छलफल भएन,’ उनले भने ।

आजको बैठकले पार्टीको नियमावली पारित गरेको उनले बताए । यसैगरी, जसपाको केन्द्रीय समितिलाई अध्यावधिक गर्ने अधिकार मृगेन्द्रकुमार सिंह यादव, गज्जाधर यादव, रमेश यादवलगायतलाई जिम्मेवारी दिएको छ । केन्द्रीय सदस्यहरु चयन भएपनि पार्टी कार्यालयमा सबैको नागरिकतालगायत अन्य कागजात प्राप्त नभएको कारणले त्यसलाई चाँडै अध्यावधिक गर्ने निर्णय भएको छ ।

बैठक भोलि ११ बजे पुनः बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप