शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय परिचयपत्र : तनहुँमा नौ हजार बढीको विवरण दर्ता

बुधबार, १३ साउन २०७८, १८ : ०९
बुधबार, १३ साउन २०७८

राष्ट्रिय परिचयपत्रका लागि तनहुँमा नौ हजारभन्दा बढीले विवरण दर्ता गराएका छन् । विसं २०७६ साउन ६ गतेदेखि शुरु भएको दर्ता अभियानअन्तर्गत गत असार मसान्तसम्म जिल्लामा नौ हजार १०८ ले विवरण दर्ता गराएका हुन् । 

गत असार महिनामा मात्रै एक हजार ६३ को विवरण दर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा स्टेशन स्थापना गरिएको छ । प्रशासन कार्यालयबाट नागरिकता बनाएलगत्तै सर्वसाधारणको विवरण दर्ताको व्यवस्था मिलाइएको छ । “नागरिकता बनाउन आउने सबैलाई राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सहजीकरण गरिएको छ”, सहायक प्रजिअ बरालले भने ।

परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँठाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ । 

पहिलो चरणमा गण्डकी प्रदेशका तनहुँ र स्याङ्जामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलन शुरु भएको थियो । नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ । 

राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ । 

एक वर्षमा आठ हजारले लिए नागरिकता

तनहुँमा एक वर्षको अवधिमा आठ हजार नागरिकले नागरिकता प्राप्त गरेका छन् । वंशजका आधारमा आठ हजार २८९ र वैवाहिक अङ्गीकृतका आधारमा आठले नागरिकता लिएका हुन् । त्यस्तै सोही अवधिमा चार हजार ८६५ ले प्रतिलिपि बनाएका छन् । सोही अवधिमा दुई जनाले नागरिकता परित्याग गरेको प्रशासनले जनाएको छ । 

यसैगरी चार हजार ४०९ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस, ८८९ जनाको द्रुत सेवा सिफारिस गरिएको छ भने तीन हजार ११२ जनाको जिल्लाबाट राहदानी वितरण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप