मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बझाङमा एमाले एकताको छलफल अन्तिम चरणमा

बुधबार, १३ साउन २०७८, १४ : १७
बुधबार, १३ साउन २०७८

नेकपा (एमाले) भित्रको आन्तिरिक किचलो बढ्दै गएका बेला बझाङमा भने एमाले एकै ठाउँमा हुने भएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई आत्मासात गर्दै  एकताका लागि छलफल भइरहेको पार्टीका जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताए ।

उनले भने, “पार्टी एकताका लागि भइरहेको अनौपचारिक छलफल अन्तिम चरणमा पुगेको छ । समन्वय तथा छलफल प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र र जिल्लाबाहिर रहेका नेताहरुसँग फोन तथा भेटेरै पनि छलफल भइरहेको छ ।” जिल्लाका शीर्ष नेताहरूबाट केही दिनभित्रै औपचारिक रुपमा पार्टी एकताको सन्देश आउने उनको भनाइ थियो । 

पूर्व वनमन्त्री तथा एमाले नेता भानुभक्त जोशीले कार्यदलको सुझावअनुसार आफूहरु २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किने भएपछि सोही कमिटीलाई आधार मानेर एकताको पक्षमा उभिएको जानकारी दिए । उनले भने, “एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कार्यदलको सुझावअनुसार अगाडि बढ्न सहमत भएकाले हामीहरू पनि  एकताको पक्षमा उभिएका हौं । जिल्लामा पार्टी एकताका लागि छलफल भइरहेको छ । सम्भव भएसम्म हामी चाँडै नै निष्कर्षमा पुग्नेछौँ ।’ 

जिल्लास्थित अन्य नेता तथा कार्यकर्ताहरूसँग पनि छलफल भइरहेकाले बझाङबाट चाँडै एकताको सन्देश आउने उनले बताए । जिल्लामा एमालेलाई एकताबद्ध बनाएर लैजान युवा नेताहरु पनि लागिपरेका छन् । हालसम्म एकताका पक्षमा सबै नेताहरु सकरात्मक भएकाले  एकताको छलफल करीब अन्तिम चरणमा पुगेको  अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आशाकुमारी विकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप