बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

बुधबार, १३ साउन २०७८, १२ : २४
बुधबार, १३ साउन २०७८

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए ।
 
गए राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए ।

राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप