शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आयोगको 'अस्पष्ट निर्णय' ले ठाकुर पक्ष अन्योलमा, तत्काल पार्टी नछाड्ने

ठाकुर पक्षलाई कार्यकारिणीबाट निष्कासन गर्ने उपेन्द्रको तयारी
मङ्गलबार, १२ साउन २०७८, २३ : १४
मङ्गलबार, १२ साउन २०७८

महन्थ ठाकुर पक्षको कार्यकारिणी सदस्यको बैठकले तत्काल पार्टी गठन नगर्ने र जनता समाजवादी पार्टीमै सङ्घर्ष गर्ने निष्कर्ष निकालेको छ । बबरमहलमा आज दिउँसो बसेको कार्यकारिणी समितिको बैठकले जसपा नेपाल विभाजन नभएको उपेन्द्र यादवलाई आधिकारिकता मात्र दिएको हुनाले कानुनीरुपमा आफूहरू पनि सोही पार्टीमा रहेको कारण तत्काल नयाँ पार्टी गठन नगर्ने र कानुनी उपचार खोज्ने निष्कर्ष निकालेको हो । 

महन्थ ठाकुरको अनुपस्थितिमा आज भएको छलफलमा कानुन व्यवसायीलाई पनि बोलाइएको थियो । सो छलफलमा निर्वाचन आयोगले दिएको आदेशको बारेमा छलफल गरेको थियो । छलफलमा निर्वाचन आयोगले पुरानो कार्यकारिणी समितिलाई मान्यता दिइ उपेन्द्र यादवलाई आधिकारिकता दिएको तर सो आदेशमा जसपामा महन्थ ठाकुरलगायत १६ जना (विपक्षमा हस्ताक्षर गरेका) कार्यकारिणी सदस्य नरहेको कुरा कतै उल्लेख नगरेको कारण पार्टीमै रहने निष्कर्ष निकालिएको बैठकमा सहभागी एक जना कार्यकारिणी सदस्यले बताए ।

निर्वाचन आयोगले ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई नै मान्यता दिएको कारणले महन्थ ठाकुरलगायतको नेताहरू सोही पार्टीमा रहेको पुष्टि हुने सो पक्षको ठहर छ । ‘आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई प्रदान गरेको हो । यदि त्यसमा चित्त नबुझे, सो पार्टीमा बस्न मन नलागे छुट्टै पार्टी गठन गर्न सकिने अर्थात् ५१ सदस्यीय कमिटीमा १६ जना सदस्यले नयाँ पार्टी गर्न चाहे उनीहरूले पार्टी दर्ता गराउन सक्ने’ आयोगको आदेशको सार रहेको विश्लेषण बैठकमा भएको थियो । ती कार्यकारिणी सदस्यले भने, ‘अधिवक्ताहरूसँग यस बारेमा अझै छलफल भइरहेको छ । विभिन्न विकल्पबारे कुराकानी भएको छ ।’

निर्वाचन आयोगको आदेश स्पष्ट नभएको कुराले महन्थ ठाकुर पक्ष अन्योलमा देखिएको छ । दल त्यागसम्बन्धी कुनै कानुन यहाँ लागु हुने देखिएको छैन । राजीनामा दिएपछि वा दोस्रो दलमा प्रवेश गरेपछि अथवा आफ्नो कुनै दल खोलेपछि मात्र दल त्यागेको मानिन्छ । तर यहाँ तीनवटा कारणमध्ये कुनै पनि ठाकुर पक्षमा लागु हुँदैन । 

यता, जसपा नेपालको कार्यकारिणी समितिको बैठकले १७ जनालाई सो समितिबाट निष्कासन गर्ने भएको छ । महन्थ ठाकुरसहित १६ जनाले विपक्षमा हस्ताक्षर गरेको तथा रेशम चौधरी तटस्थ बसेको कारण देखाउँदै १७ जनालाई नै कार्यकारिणी समितिबाट निष्कासन गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।

उनले भने, ‘भोलि बस्ने बैठकले उहाँहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय हुनेछ । आजको बैठकमा यसबारे छलफल भएको छ । औपचारिक निर्णय भोलि हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप