माइला दाइको सम्झनामा

person explore access_timeसाउन १२, २०७८ chat_bubble_outline0

“माइला, मैले प्रजातन्त्रका निम्ति बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् ।” १६ वर्षको उमेरमा आफ्ना २२ वर्षीय दाजु गङ्गालालको आदेश शिरोपर गरी नेपाल र नेपालीको मुक्तिका निम्ति कम्मर कसेका युवा यदि आज हाम्रो सामु भए उनी ९७ वर्षका हुने थिए । ४३ वर्षअघि भौतिक शरीरले नेपाल र नेपालीलाई छाडेर गए पनि उनले दिएको विचार, उनले गरेका योगदान आज हर नेपालीको मुटुको ढुकढुकीका रूपमा जीवन्त छ ।

आफ्ना दाजु गङ्गालाललाई भोलि गोली ठोकेर मारिँदैछ भन्ने थाहा पाएपछि भाइ देवीलाल र बाबुसँग दाजुलाई जेलमा भेट्न गएका पुष्पलाललाई गङ्गालालले उक्त गहन जिम्मेवारी दिएका थिए । सोही गहन जिम्मेवारी नै पुष्पलालका लागि राजनीति गर्ने प्रेरणाको स्रोत बन्यो ।

दाजुको आदेश पाएको एक वर्ष बित्दा नबित्दै विसं १९९८ मा उनले नेपाली प्रजातान्त्रिक सङ्घको गठन गर्छन् । पुष्पलालसँग प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामले हातेमालो गर्छन् । नेपाली प्रजातान्त्रिक सङ्घमार्फत विभिन्न सङ्घर्षहरू अगाडि बढाउँछन् । आन्दोलनका क्रममा पुष्पलालद्वारा नेतृत्व गरिएको “नागरिक अधिकारका लागि आन्दोलन”ले पद्म शमशेरलाई झुकाउँछ र विसं २००४ सालमा केही सुधार गर्न बाध्य गराउँछन् । यतिखेर शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ र सहाना प्रधानले पुष्पलाललाई साथ दिन्छन् ।

यो आन्दोलन नै नेपालको एक ऐतिहासिक खुला जनताद्वारा गरिएको पहिलो आन्दोलन थियो । यतिखेरसम्म पुष्पलाल र सहाना प्रधानबीच विवाह भइसकेको थिएन । यो आन्दोलनपछि उनी कलकत्ता पुग्छन् र २००६ सालमा उनले कम्युनिस्ट पार्टीको घोषणा–पत्र नेपालीमा अनुवाद गर्छन् । त्यतिबेला नै उनी भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादीका) नेता ज्योति वशुसँग सम्पर्कमा आउँछन् । ज्योति वशु सत्तरीको दशकको मध्यदेखि २००० सालसम्म पश्चिम बङ्गालका मुख्यमन्त्री पदमा आसिन रहे ।

पुष्पलाल २००९ सालमा सहाना प्रधानसँग विवाह बन्धनमा बाँधिन्छन् । वैवाहिक बन्धनमा बाँधिएपछि उनीहरूबीचको दूरी कम हुनुपर्ने हो तर दुर्भाग्य दूरी झन् झन् बढ्न थाल्यो । जीवनका दैनिकीको विषयमा मतभेदहरू सुरु भएछन् क्यारे, त्यसैले सहाना प्रधानले २०१७ सालदेखि राजनीति चटक्क छोडेर निष्क्रिय बसिन् । उनी निस्क्रिय तबसम्म बसिन् जबसम्म पुष्पलाल जीवित रहे । पुष्पलाल प्रवासबाट राजनीति गर्ने, सहाना नेपालमा शिक्षण पेसामा लागिन् । उनीहरूबीचको सम्पर्क पातलिँदै गयो ।

दिनहरू बित्दै गए । यता नेपाली कम्युनिस्ट आन्दोलन चिराचिरा हुँदै गए । २०१७ सालमा स्व. राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि कम्युनिस्ट पार्टीमा ठूलो भुइँचालो नै गयो । त्यतिखेरका पार्टी महासचिव डा. केशरजङ्ग रायमाझीले रुसमा गएर रुसी भाषाको दैनिक पत्रिका ‘प्राभ्दा’मार्फत राजाको कदमलाई समर्थन गरे । एकातिर दक्षिणपन्थी धार चोइटिन सुरु ग¥यो भने अर्कोतिर उग्रवामपन्थी धार नेपाली कम्युनिस्ट आन्दोलनमा हाबी हुन थाल्यो । उग्रवामको नेतृत्व मोहनविक्रम सिहंले गर्न थाले । नेपाली कम्युनिस्ट आन्दोलन कुइरोमा हराएको कागजस्तै रुमाल्लिन थाल्यो । २०२९ सालमा मोहनविक्रम सिंहको उग्र वामपन्थको पराकाष्टा नै देखियो, एउटा पुस्तक ‘गद्दार पुष्पलाल’ । हुन त पुस्तक प्रकाशनलगत्तै मोहनविक्रम सिंहले आत्मालोचना गरे र उक्त पुस्तकमा आफ्ना मनगढन्ते कुराहरू खाँदेकोमा दुःख व्यक्त गरे । तर बन्दुकको नालबाट निस्केको गोलीलाई बीचमा रोक्न नसकेजस्तै पुस्तक प्रकाशन भइसकेपछि गरेको आत्माआलोचनाले कति माने राख्ने छ र ?

पुष्पलाल के कुरामा दृढ थिए भने “एउटा ठूलो शक्तिविरुद्ध लडेर उसलाई जित्न थुप्रै साना शक्ति मिल्नुपर्छ ।” त्यस अर्थमा नेपालको वामपन्थी आन्दोलन पनि पञ्चायत ढाल्न नेपाली काँग्रेससँग कार्यगत एकता हुनैपर्छ भन्ने उनको भनाइ थियो । उनको यो विचारलाई मोहनविक्रम लगायतले काँग्रेस परस्तको आरोप लगाए । आखिर उनले भने जस्तै २०४६ सालमा ७–८ पार्टीहरूको संयुक्त आन्दोलनले बहुदल ल्याउन सफल भयो भने पछिल्लो परिवर्तन पनि त आखिर संयुक्त आन्दोलनबाटै सफल भयो । त्यसैले पुष्पलाल सही थिए भन्ने कुरामा दुई मत हुन सक्तैन ।

यस पङ्क्तिकारले पुष्पलालसँग भेट गर्ने पहिलो अवसर २०२८ सालमा प्राप्त गरेको हो । २०२८ सालको असार महिनामा मेरो दाजु २८ वर्षकै उमेरमा स्वर्गे हुनुभयो । मेरो दाजुलाई कमलराज रेग्मीले कम्युनिस्ट पार्टीमा ल्याएका हुन् । त्यसैले पुष्पलाल र मेरो दाजु विमल पौडेलबीच राम्रो चिनजान थियो ।

मलाई मेरो बुवाले २८ सालको मङ्सिर महिनाको स्कुलको जाँच सकिएपछि दुई महिनाका लागि बनारस लगेर संस्कृत पढ्न भनी छोडिदिनुभएको थियो । दुई महिनापछि म बनारसबाट नेपाल फर्केपछि भने मेरो उनीसँग दुई वर्षसम्म भेट भएन । २०३० सालको कुरा हो, म एसएलसीको परीक्षाफल कुरेर बसिरहेको थिएँ । बुबाले यी लगभग ६ महिना मलाई खाली नराख्ने निर्णय गरेर फेरि बनारस लगी पूर्वमध्यमा कक्षामा संस्कृत पढ्न भर्ना गरिदिनुभयो । बनारसको दुग्ध विनायक (जसलाई हामी नेपालीले गल्ली भनेर पनि चिन्थ्यौ) को बसाइ नेताहरूको आउने जाने भइरहन्थ्यो । खासगरी पुष्पलाल कहिलेकाहीँ त्यही मेरो गल्लीको डेरामा आउने गर्थे ।

एक दिन म राम मनोहर लोहियाको प्रकाशन केन्द्रबाट प्रकाशित हुने समाजवादी पत्रिका किनेर काँधमा राखी त्यसमाथि खाना पकाउने कोइलाको बोरा राखेर कोठातर्फ फर्किँदै थिएँ, अचानक पुष्पलालसँग जम्का भेट भयो । पत्रिका मैले दुईवटा उद्देश्यले किनेको थिएँ । प्रथम पढ्नका निम्ति भने दोस्रो पत्रिका काँधमा राखेर त्यसमाथि कोइलाको बोरा बोकेपछि कमिजमा कालो नलागेस् भनेर ।

कोठामा पस्नासाथ पुष्पलालले ठट्यौलो पारामा कुरा गर्न थाले । उमेरले उनको र मेरा तीन दशकभन्दा बढी फरक भए पनि माल्दाइले मलाई आफ्नो साथी जस्तै सम्झिन्थे । तर बोलाउँदा भने शशी भाइ भनेर सम्बोधन गर्ने गर्थे । उनले कुरा यसरी सुरु गरे । यो बोरामा तिमीले कोइला ल्यायौ, त्यसैले आज तिमीले यो बोराका बारेमा एउटा निबन्ध लेख । म तिम्रो निबन्ध हेर्न भोलि आउनेछु ।

त्यो त ठीक छ, म लेखुँला तर अहिले केही नखाने ? मैले सोधेँ । ल ल छिटो छिटो गरेर पकाऊ न त । आलु म ताच्छु, तिमी भात बसालिहाल । उनले आदेश दिए । उनले हरेक पटक आउँदा एउटा न एउटा विषय भेट्टाउँथे मलाई लेख्न लगाउन । कहिले हिन्दीमा त कहिले नेपालीमा लेख्नुपर्ने । म भने उनले जतिसुकै काम लगाए पनि उनलाई देखेपछि किन हो कुन्नि खुसी हुन्थेँ । यदि मैले मेरो जीवनमा उनलाई नभेटेको भए सायद यी पङ्क्तिहरू लेख्न सक्षम बन्ने थिइनँ होला । यस अर्थमा म पुष्पलालसँग व्यक्तिगत रूपमा पनि ऋणी छु ।

एसएलसीको परीक्षाफल प्रकाशित भयो । पास भएँ र म काठमाडौँतर्फ लागेँ । दुई वर्ष काठमाडौँ बिताएपछि बुबाले मलाई फेरि बनारस पठाउने निधो गर्नुभयो । उहाँको निर्णयको अगाडि मेरो केही लाग्दैनथ्यो, हवस् भन्नुबाहेक किनभने मैले उहाँसँग कहिल्यै दोहोरो कुरा गरिनँ ।

जुलाई २२, १९७८ का दिन म बनारसमै थिएँ । पुष्पलाल भने मेडिकल कलेज दिल्लीमा उपचार गराउँदा गराउँदै यो संसार छोडेर बिदा भए । एक सन्नाटा छायो । नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा भुइँचालो गयो । नेपाली मजदुर किसान एवं सर्वहारावर्गले आफ्नो अभिभावक गुमाए । मृत्यु अवस्यंभावी हो । यसलाई कसैले टार्न सक्तैन, भनेर चित्त बुझाउनुबाहेक हामीलाई अर्को विकल्प रहेन ।

यदि दुःख र सुखमा, जेल वा नेलमा, भाग्य वा अभाग्यमा सँगै जीवन बिताउने कसम खाएर बाँधेको वाचा बन्धन कुनै एउटाले तोड्छ र दुई चार पैसाको अहङ्कार, पेसाको अभिमान र शिक्षा र ज्ञानको घमण्ड गर्छ भने अर्कोलाई मनोवैज्ञानिक प्रतिकूल असर पर्छ । यस प्रकारको प्रतिकूल असरले मृत्युलाई २÷४ वर्षअघि निम्त्याउँछ भन्ने कुरा मनोवैज्ञानिकहरूले प्रमाणित गरेका छन् । कतै पुष्पलाललाई उपरोक्त कुराहरूको कारणबाट अलि छिटो यो संसार छोड्नुपरेको त हैन ? यो प्रश्न विगत त्रिचालीस वर्षदेखि मेरा सामु अनुत्तरित भएर घाँटीमा तेर्सिइरहेको छ । यद्यपि सहाना प्रधानले पुष्पलालको मृत्युपश्चात बागमतीको आर्यघाटमा अस्तु सेलाउँदै मैले तिम्रो सपना पूरा गर्न मेरो स्वास रहेसम्म प्रयास गर्नेछु भनी आँसु चुहाइन् । सहाना भाउजूले जुन प्रतिबद्धता गरेकी थिइन्, मृत्युपर्यन्त उनले त्यो निभाइन् । यस अर्थमा नेपाली कम्युनिस्ट आन्दोलन सहाना प्रधानप्रति पनि आभारी हुनैपर्छ । यिनै पङ्क्तिहरूबाट म पुष्पलाल र सहाना दुवैलाई नमन गर्न चाहन्छु ।

हामी कम्युनिस्टहरू द्वन्द्ववादमा अर्थात् द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्दछौँ । यस हिसाबले हरेक वस्तुमा द्वन्द्व भएझैँ हाम्रो पार्टी नेकपा एमाले पनि द्वन्द्वरहित रहने कुरै भएन । चाहे राम्रो चाहनाले होस् चाहे चिन्तन र विचारको भिन्नताले होस्, द्वन्द्व हुनु स्वाभाविक हो तर द्वन्द्व स्वस्थ्यकर र समालोचक हुनु जरुरी हुन्छ ।

हुन पनि हो एउटा राजनीतिक पार्टी भनेको एउटै चिन्तन र एउटै विचार र सिद्धान्त अङ्गीकार गरेर हिँडेको भए पनि फरक फरक अनुभव सँगालेका व्यक्तिहरूको जमघट हो र हरेक व्यक्तिको सबभन्दा असल र इमानदार शिक्षक भनेको उसको आफ्नो अनुभव हो । सोही आफूले विश्वास गरेको र असल ठानेको शिक्षकबाट आर्जन गरेको शिक्षा व्यवहारमा लागू गर्न चाहनु सकारात्मक पक्ष हो तर आफूले आर्जन गरेको शिक्षा व्यवहारमा लागू गर्दा अरूको अनुभवको कदर र आदर गर्न सक्नु र अरूको अनुभवलाई धक्का पर्न नदिने ज्ञान हुनु नितान्त जरुरी हुन्छ ।

आफूले आफ्ना अधिकार र स्वतन्त्रता लागू गर्दा मेरो सर्वप्रथम कर्तव्य के हो र समग्र मुलुकले मबाट के अपेक्षा गरेको छ र मुलुकप्रति मेरो जिम्मेवारी के हो भन्ने ज्ञान हुनु पनि नितान्त आवश्यक हुन्छ । विवाद हुनु र द्वन्द्व हुनु फरक हो । जब द्वन्द्व विवादमा परिणत हुन्छ तब समस्याहरू उत्पन्न हुन थाल्छन् । जब समस्या उत्पन्न हुन्छन् तब दुवै पक्षलाई नोक्सान हुन्छ । यस्तो अवस्थामा समय खेर नफालीकन विवादको जरो पत्ता लगाएर समाधानको बाटो खोजि हाल्नुपर्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।