बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रवीन्द्रजीको प्रस्तावले हामीजस्ता युवालाई कुठाराघात भएको छ : रञ्जु दर्शना

'कुरा चाँडै प्रस्ट गरिदिनुभयो, उहाँलाई बाटो पहिल्याउन सहज हुन्छ'
मङ्गलबार, १२ साउन २०७८, १५ : २९
मङ्गलबार, १२ साउन २०७८

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सङ्घीयता खारेजीको प्रस्ताव गरेका छन् । उनले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत सङ्ग्रहको प्रस्ताव गरेका छन् । विप्लव समूहले संसदीय व्यवस्था कि समाजवाद रोज्ने भन्नेबारे जनमत सङ्ग्रहको प्रस्ताव अगाडि सारेका बेला विवेकशील साझा पार्टीका संयोजक समेत रहेका मिश्रले सङ्घीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउँदै जनमत सङ्ग्रहको माग अगाडि सारेका हुन् ।

मिश्रको प्रस्तावले नेपाली राजनीतिको चियाको कपमा नयाँ तुफान सिर्जना गरेको छ । यसले उनकै पार्टीमा पनि नयाँ बहस सिर्जना भएको छ । यसबारे युवा नेतृ रञ्जु दर्शनासँग रातोपाटीले गरेको संक्षिप्त कुराकानी :

 तपाईंहरुको पार्टी एकीकरणपछि रवीन्द्र मिश्रले दस्तावेजका रूपमा प्रस्ताव ल्याउनु भएको छ । जसमा सङ्घीयता खारेजी र धर्म निरपेक्षतालाई जनमत सङ्ग्रहमा लैजानुपर्ने विषय उल्लेख छ । यसलाई कसरी हेर्नु भएको छ ?

पार्टीको संयोजक भए पनि रवीन्द्र जीले स्वतन्त्ररुपमा लोकतन्त्रमा बोल्न पाउनुहुन्छ । उहाँ पार्टीको संयोजक भएकाले यस्ता महत्त्वपूर्ण विषयहरू चाहिँ महाधिवेशन वा पार्टीको अन्य निकायबाट छलफल भएर आउनुपर्ने हो । जहाँसम्म सङ्घीयता र धर्म निरपेक्षता रहनुहुन्न भन्ने खालको उहाँको विचारको कुरा छ,   म त्यसो विरुद्धमा छु । हामीले धेरै दुःख गरेर सङ्घीयता आएको हो । यसमा कमी कमजोरी होलान्, तर कमी कमजोरी छन् भन्दैमा यसलाई पूर्ण रूपमा हटाउने होइन । यसको अध्ययन गरेर सुदृढ बनाउनुपर्छ भन्ने लाग्छ ।

धर्म निरपेक्षता हुनुपर्छ । राज्यको धर्म हुनुहुँदैन । कुनै धर्मलाई बढी गरेको र कुनै धर्मको अवहेलना गरेको होइन । संविधानवाद मान्छौँ भन्ने कुरा पहिलेदेखि नै क्लियर छ । संयोजकजस्तो व्यक्तिले यो प्रस्ताव ल्याउनुभयो, तर यो व्यक्तिले ल्याउनुभयो, पार्टीको लाइन चैँ होइन ।  संयोजकको प्रस्तावले कन्फ्युजन सिर्जना गरेको छ । यो प्रस्तावले हामीजस्ता युवाहरूलाई कुठाराघात पनि भएको छ । किनकि, हामी युवाहरू आफ्नो उर्वर समय राजनीतिमा लगाएका छौँ ।

 अब, रवीन्द्र जीले प्रस्ताव ल्याइ हाल्नुभयो । यसबारे पार्टीमा पनि छलफल हुन्छ र त्यसपछि निर्क्योल हुन्छ । अहिले पनि हाम्रो पार्टीको लाइन उहाँले लेखेजस्तो होइन । हाम्रो पार्टी एकीकरणको समय संवाद समितिमा पनि यस्ता कुराहरू आउलान् कि भन्ने कुराहरू भएको थियो । संवाद समितिमा म पनि थिएँ । त्यति बेला संविधान मान्छौँ, पार्टीको एकीकरण ठूलो हो, अरू कुराहरू मिलाउँदै गरौँला भनेर उहाँले भन्नुभएको थियो । पार्टीको लाइन चैँ यो होइन ।

यसमा तपाईंहरुको रणनीति के हो ?

 यो कुरालाई पार्टीको तल्लो तहसम्म लैजाने र छलफल गर्ने र यो कुरा अहिले देशलाई खाँचो होइन । चित्र धेरै बदलियो, चरित्र बदलिएन । चरित्र राम्रो भएको नेतृत्व नै देशका लागि खाँचो हो भनेर हामी कुरा लैजान्छौँ । हामी यो उहाँको प्रस्तावलाई पार्टीको सिस्टममा ल्याएर के गर्ने भन्ने पनि छौँ ।

एकता गलत त लागेको छैन ?

हामी छुट्टिएर जानुभन्दा एउटै शक्ति भएर जानु नै ठिक हुन्छ भनेर एकता गरेका हौँ । एकता गरेकोमा दुखेसो छैन । यो पार्टी सबैको हो । फरक विचार आउँदैमा यो पार्टी फुट्ने भन्ने होइन ।

साथीहरूले संयुक्त रूपमा यो गलत छ भनेर कुरा लग्दैछौ । विवेकशील साझा पार्टीले चुनाव जितेर कुनै पोजिसनमा पुगेपछि यो कुरा रवीन्द्रजीले बोल्नु भएको भए, हामीमाथि घात हुन्थ्यो । उहाँले यो कुरा चाडै प्रस्ट गरिदिनु भयो, यसमा मलाई खुसी छ । उहाँलाई अब बाटो पहिल्याउन सहज हुने भयो ।

तपाईंको पार्टी अहिले के गर्दैछ ?

पार्टी एकीकरण भइसकेपछि विधान बनाउनेदेखि जिल्ला समायोजन गर्नेसम्मको काममा म व्यस्त छु । मैले पार्टीको बागमती प्रदेशलाई लिड गरिरहेको छु र बागमती प्रदेशका १३ जिल्लामा काम गर्ने हाम्रो कोसिस जारी छ । कोरोनाकालमा हामीले राहत, खाद्यान्न वितरण तथा समाजसेवाका कार्यक्रमहरूमा धेरै सहभागिता जनाएका छौँ । हामी वैकल्पिक राजनीतिक शक्ति र शिक्षित व्यक्तिहरू पनि भएकाले कोरोनाकलामा गोष्ठी र भेलामा भने रोक लगाइरहेका छौँ । म राजनीतिमै छु । दायाँ–बायाँ भएको छैन ।

ओलीको बहिर्गमन र देउवाको उदयलाई कसरी हेर्नु भएको छ ?

ओली जी हट्नु भनेको लोकतन्त्रका लागि सुखद घटना हो । संविधानभन्दा म माथि छु, देशका सबै अङ्गलाई कठपुतली जसरी चलाउन सक्नु भन्ने अहम् उहाँमा विकास भएको थियो े। त्यसले हामी सम्पूर्णलाई खाडलमा पु¥याउन लागेको थियो । सर्वोच्चको निर्णयको स्वागत गर्छौ । तर विडम्बना शेरबहादुर जी पटक–पटक प्रधानमन्त्री बन्नु हुँदा पनि राम्रो काम के गर्नुभयो ? हामीले त देखेका छैनौँ । मलाई लाग्छ, शेरबहादुर जीको नेतृत्वलाई सफल बनाउनका लागि उहाँकै पार्टीका नेताहरूले मेहनत गर्नुपर्छ होला ।

भ्रष्टाचार बढेकाले नेपालले सङ्घीयता धान्न सक्दैन कि भन्ने मानिसहरूलाई लागिरहेको छ । रवीन्द्र जीले देश–विदेशबाट केही राम्रो टिप्पणी पनि पाइरहनु भएको छ ? यसलाई कसरी हेर्नु भएको छ ?

भ्रष्टाचार  र सङ्घीयताको सम्बन्ध कत्तिको छ । यो किन बढिरहेको छ भन्नेबारे राम्ररी अध्ययन भएको छ भन्ने लाग्दैन । सङ्घीयता नहुँदा भ्रष्टाचार थियो कि थिएन भन्नेबारे पनि बहस गरौँ न । के सङ्घीयताले नै ल्याएको हो भ्रष्टाचार । यो प्रश्न पनि गरौँ । पहिले काठमाडौँ मात्रै केन्द्रमा मात्रै सरकार थियो भने सङ्घीयता आएपछि सबैले सरकार महसुस गर्न पाए, यद्यपि प्रदेश सरकारको भूमिकालाई अझै बलियो बनाउनका लागि संसदबाट पास हुनुपर्ने कानुनहरू चाडै पास हुनुपर्यो । जस–जसले पनि सङ्घीयता विरोधी कुराहरू गर्नु भएको छ, उहाँहरू निराश भएर केही पनि भएन भनेर यसको विरोधमा लाग्नु भएको हो । राम्रो तर्क प्रस्तुत गरेर गरिरहनु भएको होइन । जसरी यस्तो कुराहरू आइरहेको छ, यो चैँ सबै ठाउँ समान रूपमा विकास हुनुपर्छ भन्ने मान्यताको विरुद्धमा जस्तो भयो । त्यहीकारण, सङ्घीयतालाई कसरी सुदृढ बनाउने भन्नेमा चाहिँ केन्द्रित हुनुपर्छ भन्ने लाग्छ ।

 धर्मको सवालमा म हिन्दु धर्म नै मान्छु र विश्वास गर्छु । तर, सह अस्तित्वको सिद्धान्तमा विश्वास गर्छु । एउटा धर्म राम्रो र अर्को नराम्रो भन्नेमा विश्वास गर्दिनँ । मलाई लाग्छ, अधिकांश युवाहरूले गर्दैनन् । युवाहरूको सवाल भनेको हाम्रो विश्वविद्यालय कहिले राम्रो हुन्छन् ? हाम्रो पहिचानलाई बलियो बनाएर कहिले जान पाइन्छ भन्ने विषयहरूमा युवाहरूको सरोकार छ भन्ने लाग्छ । सबै धर्मलाई समान अधिकार दिनुपर्छ भन्नेमा कसैको विमति नहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर पाठक
कुवेर पाठक
लेखकबाट थप