शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महन्थ पक्षका सांसद भन्छन्– हामी जसपामै छौँ

मङ्गलबार, १२ साउन २०७८, २१ : ००
मङ्गलबार, १२ साउन २०७८

जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले पाएपछि महन्थ ठाकुरको पक्षमा रहेका सांसदको अवस्था के हुने हो भन्ने चर्चा सुरु भएको छ । महन्थ ठाकुरको पक्षमा हालसम्म १२ जना सांसदमात्र देखिएका छन् । त्यसमा चार जना समानुपातिकका छन् । 

महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, एकवाल मियाँ, लक्ष्मणलाल कर्ण, उमाशङ्कर अरगरिया, विमल श्रीवास्तव प्रतिनिधि सभामा ठाकुर पक्षका प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

त्यसैगरी निर्जला राउत, चन्दा चौधरी, कल्लुदेवी विश्वकर्मा र दुलारी देवी खत्वेनी प्रतिनिधिसभाअन्तर्गत ठाकुर पक्षका समानुपातिक सांसद हुन् । कतिपयले ठाकुर पक्षमा रहेका समानुपातिक सांसदहरू संस्थापन पक्षको कारबाहीको भागिदार हुन सक्ने र समानुपातिक सूचीबाट नयाँ सदस्य चयन गरिने आङ्कलन गरिरहेका बेला जसपाले भने तत्काल कसैमाथि कारबाही नगर्ने प्रस्ट पारेको छ ।

राजनीतिक दल गठन ऐनअनुसार कुनै सांसद नयाँ पार्टी गठन प्रक्रियामा संलग्न भएमा उसको पद स्वतः जानेछ । त्यसैले ठाकुर पक्षका केही सांसदहरू कारबाहीको डरले वा सांसद पद जाने डरले उपेन्द्र यादवको पक्षमा जाने सम्भावना रहेको पनि जानकारहरू बताउँछन् ।

निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गर्न आदेश दिएको छ । नयाँ पार्टी दर्ता गराएपछि त्यसमा संलग्न हुने सांसदहरूको पद स्वतः जानेछ । नयाँ पार्टीमा संलग्न नहुनेहरू भने पार्टीले कारबाही नगरेसम्म जसपाकै सांसद मानिने छन् ।

महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, एकवाल मियाँ, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउतले कार्यकारिणी सदस्यको हैसियतबाट निर्वाचन आयोगमा उपेन्द्र यादवको विपक्षमा हस्ताक्षर गरेका छन् । त्यसैले पनि उनीहरू उपेन्द्र यादवले आधिकारिता पाएको जसपा पार्टीमा छैनन् ।

उमाशङ्कर अरगरिया, विमल श्रीवास्तव, कल्लुदेवी विश्वकर्मा र दुलारी देवी खत्वेनीे कार्यकारिणी सदस्य होइनन् । त्यसैले नयाँ पार्टी गठन कार्यमा उनीहरू संलग्न नभएसम्म जसपाकै सांसदको रूपमा रहन पाउनेछन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव तत्काल महन्थ पक्षका सांसदलाई कारबाही नगर्ने मनस्थितिमा छन् ।  उनीहरू नयाँ पार्टीमा सामेल भएको अवस्थामा सांसद पद स्वतः जाने भएकाले अहिले कारबाही गरिरहन नपर्ने अध्यक्ष यादवको बुझाइ छ । जसपाको हित विपरीत कार्य गरेमा मात्र त्यस्ता सांसदमाथि कारबाही गर्ने अन्यथा कसैलाई कारबाही नगरिने जसपाका कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादवले बताए ।

रातोपाटीसँग उनले भने, ‘कानुन अनुसार उहाँहरूको पद आफै गयो भने भने ठिकै छ, नत्र हामीले कारबाही गर्दैनौँ तर कुनै सांसदले पार्टी हित विपरीत कुनै कार्य गरेमा भने कारबाही गर्न बाध्य हुन्छौँ ।’

महन्थ ठाकुर पक्षमा रहेका उमाशङ्कर अरगरियाले अहिले आफूहरू जसपामै रहेको बताए । उनले भने, ‘निर्वाचन आयोगले जसपाका सांसदको बारेमा केही नबोलेका कारण कसैमाथि कारबाही गर्न मिल्दैन, कोही नयाँ पार्टी गठन गर्नतिर लाग्यो भने मात्र सांसद पद जान्छ ।’ अहिले नयाँ पार्टी गठन गर्ने कुनै सोच नरहेको उनले बताए ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिता दिए पनि ५१ सदस्यीय कार्यकारिणी समितिलाई कायमै राखिएका कारण महन्थ ठाकुरसहितका नेताहरू पार्टीभित्र अझै पनि कार्यकारिणी सदस्यका रूपमा जसपाभित्रै रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप